+
+

किम्फमा यार्सागुम्बा र बाबुको सपनाको कथा अन्तर्राष्ट्रिय खण्डतर्फ उत्कृष्ट

नेपाली पानोरमातर्फ ‘ह्विल्स अन द बस’ र ‘आइरन डिगर’ उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते २०:२२

काठमाडौं । काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (किम्फ)मा क्यानडा र अमेरिकाका दुई फिल्म सर्वोत्कृष्ट भएका छन् । अन्तर्राष्ट्रिय खण्डतर्फ क्यानडाको ‘फार बियोन्ड द पास्चरल्यान्ड्स’ र अमेरिकाको ‘कुमारी : अ फादर्स ड्रिम’ले स्पेसल मेन्सन अवार्ड प्राप्त गरे ।

मौले प्लान्टी हुसारुक र म्याक्सिम लाकोस्टे लेबियस निर्देशित ‘बियोन्ड र पास्चरल्यान्ड’ले ललिता नामक पात्रको माध्यमबाट मालिकोट गाउँका बासिन्दा यार्सागुम्बा टिप्न अग्ला पहाडमा उक्लने कथालाई पूर्वाग्रहरहित ढंगले पेस गर्छ ।

‘सुदूर भूगोलका बासिन्दाको जीवन बाँच्ने सपनाको यो प्रयत्नले हामीलाई यो परिस्थिती नेपालमा मात्र नभएर अन्यत्र पनि हुनसक्छ भन्ने कुराको बोध गराउँछ, ’ उक्त फिल्मलाई अवार्ड दिंदै जुरीले भनेका छन् ।

अमेरिकी निर्देशक सीन ओ’कनर निर्देशित ‘कुमारीः अ फादर्स ड्रिम’ले पथप्रदर्शक जगत लामा र अन्यले भूकम्पले भत्काएको बस्तीलाई अझै सशक्त र बलियो बनाउन गरेको प्रयत्नको कथा भन्छ । ‘यसको कथावस्तु निकै प्रेरक ढंगले भनिएको छ’ अवार्ड दिंदै जुरीले भनेका छन् ।

अन्तर्राष्ट्रिय खण्डतर्फ बेलायती निर्देशित ह्युगो साउन्डर्स निर्देशित ‘द सेकेण्ड समिट’ फस्ट च्वाइस, स्वीट्जरल्याण्डका निर्देशकद्वय लिजा रोसिल र क्यारेलिन फ्ल्ङ्कि निर्देशित ‘सोफी लाभौड : लेडी ८०००’ सेकेन्ड च्वाइस र फ्रान्सेली निर्देशक म्याथ्यु लेले निर्देशित ‘अ ह्वाइट ड्रिम’ थर्ड च्वाइस घोषित भए ।

नेपाल पानोरमा खण्डतर्फ सूर्य शाही निर्देशित ‘ह्विल्स अन द बस’ सर्वोत्कृष्ट फिक्सन घोषित भयो । अनिल बुढामगर निर्देशित ‘द आइरन डिगर’ सर्वोत्कृष्ट डकुमेन्ट्री घोषित भयो ।

नेपाल पानोरमा तर्फ इंगी होपो कोनिच सुनुवार निर्देशित ‘सेनाको चेली’ र पिंकी श्रीश रानाको ‘हजुर’ले संयुक्त रुपमा स्पेसल मेन्सन अवार्ड प्राप्त गरे । यसपटकको किम्फमा विद्या चापागाईं र कमलकुमारको ‘हेर्ने कथा’ श्रृंखला अन्तर्गतको फिल्म ‘बाघको बंगारा’ले अडियन्स च्वाइस अवार्ड प्राप्त गर्‍यो ।

यसपटकको किम्फमा माइकल पज, जिन्ना ली र किरणभक्त जोशी जुरीको रुपमा थिए । पाँच दिनसम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चलेको फेस्टिभलको अन्तिम फिल्म चाहिं अष्ट्रेलियाली निर्देशक जोय कार्टरको ‘फलाइ फ्रम एभरेष्ट’ बन्यो ।

हिमाल एसोसिएसनको आयोजना र काठमाडौं महानगरको सहआयोजनामा भएको फेस्टिभलको बीसौं संस्करणमा यसपटक ३० मुलुकका ६० फिल्म स्क्रिनिङ भएका हुन् । पर्वत, पर्वतीय संस्कृति, वातावरण र मानवअधिकारको कथावस्तुमा बनेका फिल्म प्रदर्शन गरिएको किम्फको यसपटकको नारा ‘दिगो आरोहण’ थियो ।

किम्फ समापन समारोहमा बोल्दै राष्ट्रसंघीय नियोग युनेस्कोका नेपाल प्रमुख माइकल क्रफ्टले किम्फसँग सहकार्य गर्न पाउँदा युनेस्कोले खुसी महसुस गरेको बताए । हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले फेस्टिभललाई निरन्तरता दिनु चुनौतीपूर्ण भए पनि दर्शकीय उपस्थितिले उत्साह थपेको बताए ।

यसपटकको किम्फसँगै विश्वका पर्वतीय फिल्म महोत्सवहरुको अलायन्सको साधारणसभा पनि काठमाडौंमा भएको थियो ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?