+
+
Shares
फिल्म फेस्टिभल :

किम्फमा ३० देशका ६५ फिल्म देखाइने

जेठ १४ देखि १८ सम्म काठमाडौंमा हुने

नेपाल-चीन मित्रताको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा किम्फले सिजाङ्ग प्यानोरमामा चलचित्रहरू प्रदर्शन गर्दै छ जसले नेपाल र चीनको भाषिक र सांस्कृतिक भिन्नता भए पनि दुई देशबीचको समानता झल्काउनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ५ गते १७:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सवको २२औं संस्करण जेठ १४ देखि १८ गतेसम्म ठमेलस्थित क्यूएफएक्सको छाया सेन्टरमा आयोजना हुनेछ।
  • यस संस्करणमा ३० देशका ६५ भन्दा बढी फिल्म प्रदर्शन हुनेछन् र नेपाली फिल्ममेकरले बनाएका समकालीन कथाका फिल्महरू पनि देखाइनेछन्।
  • महोत्सवले अन्तर्राष्ट्रिय प्रशंसा बटुलेका फिल्महरू प्रदर्शन गर्ने र नेपाली समाजलाई असर पार्ने विषयमा संवाद सुरु गर्ने उद्देश्य राखेको छ।

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)को २२औं संस्करण जेठ १४ देखि १८ गतेसम्म ठमेलस्थित क्यूएफएक्सको छाया सेन्टरमा आयोजना हुने भएको छ । ‘फ्राक्चड भोइसेज, रिक्लेम न्यारेटिभ्स’ नारासहित हुने यसवर्षको किम्फमा ३० देशका ६५ भन्दा धेरै फिल्म प्रदर्शन हुनेछन् ।

तालिका हेर्न लिंक क्लिक गर्नुस ।

अन्तर्राष्ट्रियरुपमा प्रशंसा बटुलेका सफल फिल्मलाई यसपटकको संस्करणमा देखाइने किम्फद्वारा जारी विज्ञप्तिम उल्लेख छ । नेपाली फिल्ममेकरले बनाएका समकालिन कथा दर्शाउने फिल्म पनि देखाइनेछ । ‘यसपालिको चलचित्र र कार्यक्रममार्फत नेपाली दर्शकलाई मनोरञ्जन गराउनको साथसाथै नेपाली समाजलाई असर पार्ने विषयमा संवाद सुरु होस् भन्ने हाम्रो उद्देश्य छ’ किम्फ फाउण्डेसनकी अध्यक्ष रम्यता लिम्बुले बताइन् ।

उनी अध्यक्ष भएपछि पहिलोपटक फेस्टिभल आयोजना हुन लागेको हो । ‘एसियामै पहिलोपटक प्रदर्शन हुन लागेको बिट्विन द माउन्टेन एण्ड द स्काइ नामक डकुमेन्ट्रीको प्रदर्शनीसँगै किम्फ सुरु हुनेछ । जेरेमी पावर रेगिम्बलद्वारा निर्देशित यस डकुमेन्ट्री फिल्मले सिएनएन हिरोको उपाधि जितेकी समाजसेवी म्यागी डोएनको व्यत्तिगत जीवनलाई नजिकबाट देखाँउछ ।

नेपाल-चीन मित्रताको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा किम्फले सिजाङ्ग प्यानोरमामा चलचित्रहरू प्रदर्शन गर्दै छ जसले नेपाल र चीनको भाषिक र सांस्कृतिक भिन्नता भए पनि दुई देशबीचको समानता झल्काउनेछ । यसपालिको संस्करणमा निर्णायक मण्डलका रूपमा चलचित्र र टेलिश्रृंखला निर्देशकहरू नवीन सुब्बा (नेपाल), मार्टिन हेसेनोह्रल (अस्ट्रिया), यिङ्की चेन (चीन) सँगसँगै पत्रकारिता र संचार प्राध्यापक छुन झान र चलचित्र प्रोग्रामर जिना ली (दक्षिण कोरिया) छन् ।

निर्णायकमण्डले अन्तर्राष्ट्रिय श्रेणीमा रहेका उत्कृष्ट आख्यान (४ छनोट), उत्कृष्ट वृत्तचित्र (१४ छनोट), उत्कृष्ट छोटो आख्यान (११ छनोट) र उत्कृष्ट छोटो वृत्तचित्र (१३ छनोट) रोज्ने छन् । त्यस्तै नेपाली चलचित्रमध्ये उत्कृष्ट वृत्तचित्र (६ छनोट) र उत्कृष्ट आख्यान (११ छनोट) चयन गर्ने जिम्मेवारी पनि निर्णायक मण्डलले लिनेछन् ।

अन्तर्राष्ट्रिय श्रेणीमा उत्कृष्ट वृत्तचित्रको लागि १५०० अमेरिकी डलर, उत्कृष्ट छोटो वृत्तचित्रका लागि १००० अमेरिकी डलर, उत्कृष्ट आख्यानको लागि १५०० अमेरिकी डलर, उत्कृष्ट छोटो आख्यानको लागि १००० अमेरिकी डलर, उत्कृष्ट माउन्टेन र एडभेन्टर्सका लागि १००० अमेरिकी डलर तथा उत्कृष्ट इसिमोड पर्वतीय चलचित्रलाई १००० अमेरिकी डलर पुरस्कृत गरिनेछ ।

नेपाली चलचित्रमध्ये उत्कृष्ट वृत्तचित्र र उत्कृष्ट आख्यान दुवैले एक लाख रुपैयाँ जित्नेछन् । दर्शकले सबैभन्दा रुचाएको चलचित्रलाई पनि एक लाख रुपैयाँ पुरस्कार दिइने भएको छ । यसै संस्करणमा किम्फले पहिलो पल्ट ‘काठमाडौं डक ल्याब’ कार्यशाला पनि सुरु गर्ने भएको छ ।

दक्षिण एसियाली क्षेत्रका प्रतिभालाई ठाँउ दिन बनाइएको यो कार्यशाला १०–१४ जेठमा सञ्चालन हुनेछ । यही कार्यशालमा छनोट भएका नौ दक्षिण एसियाली सहभागीलाई पाकिस्तानी र क्यानाडाली चलचित्रकर्मी अनम अब्बास, भूटानी निर्देशक अरुण भट्टराई र भारतीय चलचित्रकर्मी रिन्तु थोमसद्वारा प्रशिक्षण दिइनेछ ।

कथाहरू र ब्रिटिस काउन्सिलद्वारा संयुक्त आयोजना गरिएको कट.कथा कार्यशालाबाट पनि महिला निर्देशकले आफ्नो छोटो वृत्तचित्रको बारेमा प्रस्तुत गर्नेछन् । त्यस्तै निकोन युवा फोटोग्राफी र फिल्ममेकिङ कार्यशाला पनि हुनेछ । यससँगै भिआर र तस्वीर प्रदर्शनी पनि ठमेलस्थित कला सलोनमा हुनेछ ।

यो महोत्सव गैरनाफामूलक संस्था किम्फ फाउण्डेसनद्वारा आयोजना गरिएको हो । किम्फ इटालीको टुरिन शहरमा मुख्यालय रहेको इन्टरन्यासनल एलायन्स अफ माउन्टेन फिल्म (आईएएमएफ) को सदस्य हो । टिकटको मूल्य रु. १५० तोकिएको छ भने विद्यार्थीहरूको लागि रु. १०० रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?