
२५ मंसिर, विराटनगर । झापाबाट प्रतिनिधिसभा र प्रदेशसभामा ३२ जना चुनिएका छन् ।
प्रतिनिधिसभा तर्फ पाँच र प्रदेशसभातर्फ १० वटा निर्वाचन क्षेत्र रहेको झापाबाट दुई वटै तहमा प्रत्यक्ष र समानुपातिक पद्धतिबाट गरी ३२ जना सांसद निर्वाचित भएका हुन् ।
प्रत्यक्ष तर्फ १५ जना सांसद निर्वाचित भएको झापाबाट समानुपातिक तर्फ १७ जना सांसद सिफारिस भएका छन् । समानुपातिकबाट प्रतिनिधिसभामा सात र प्रदेशसभामा १० जना सांसद सिफारिस भएका हुन् ।
नेपाली कांग्रेसबाट प्रतिनिधिसभा तर्फ झापाकी सरिता प्रसाई सिफारिस भएकी छन् । एमालेबाट कालुराम राई, सुनीता बराल, हर्कमाया विश्वकर्मा र अमृत राजवंशी समानुपातिक सांसद बनेका छन् ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको समानुपातिक तर्फका १३ सांसदमध्ये झापाबाट इन्दिरा रानामगर र निशा डाँगी गरी दुई जना सिफारिस भएका छन् ।
प्रदेशसभाको समानुपातिकतर्फ पनि कांग्रेस, एमाले र राप्रपाले झापाकै उम्मेदवारलाई प्राथमिकता दिएका छन् । प्रदेश १ मा समानुपातिक तर्फ १५ सिट जितेको एमालेले झापाबाट कमला थापा मगर, तारादेवी ढकाल र नम्बरलाल धिमालको नाम सिफारिस गरेको छ ।
१२ जना समानुपातिक सांसद जितेको कांग्रेसले झापाबाट उद्धव थापा, मोहन महर्जन र लखिकुमारी गणेशको नाम सिफारिस गरेको छ ।
प्रदेशमा समानुपातिक तर्फ ४ सिट जितेको माओवादी केन्द्रले बन्दना झाँगडको नाम सिफारिस गरेको छ । उनी झाँगड समुदाको एक्लो सांसद हुन् ।
राप्रपाले झापाबाट तीन जनाको नाम सिफारिस गरेको छ । प्रदेश १ मा राप्रपाले समानुपातिक तर्फ चार सिट जितेको छ । जसमा निमसरी राजवंशी, अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्माको नाम सिफारिस भएको छ । तीनै जना झापाका हुन् ।
पाँच वटा प्रतिनिधिसभा रहेको झापा १ बाट कांग्रेसका विश्वप्रकाश शर्मा, २ बाट एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । क्षेत्र नम्बर ३ बाट राप्रपाका राजेन्द्र लिङ्देन, झापा ४ बाट एमालेका एलपी सावा र झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
प्रदेशसभा तर्फ झापा १(१) मा कांग्रेसका गोपाल तामाङ, झापा १(२) मा राप्रपाकी सविना बजगाईं निर्वाचित भए । झापा २(१) मा एमालेका एकराज कार्की, २(२) मा तिलचन पाठक निर्वाचित भए ।
झापा ३(१)मा कांग्रेसका भूमिप्रसाद राजवंशी, ३(२) मा एमालेका छविलाल चुडाल निर्वाचित भए । झापा ४(१) मा एमालेका राधाकृष्ण खनाल, ४(२)मा राप्रपाका भक्तिप्रसाद सिटौला निर्वाचित भएका छन् । झापा ५(१) बाट हिक्मतकुमार कार्की र ५(२)बाट होमबहादुर थापा निर्वाचित भएका छन् ।
प्रतिक्रिया 4