+
+

‘यो विश्वकपको समय हो, मेस्सी यहाँ छन्’

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते १७:१४

२७ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप २०२२ मा सुपरस्टार लियोनल मेस्सी विश्वभरका समर्थकको केन्द्रमा छन् । विश्वभर नै मेस्सीका यस्ता समर्थकहरु छन्, जसलाई उनीहरुको हिरोले उपाधि उचाल्नुसँग मात्रै मतलब छ ।

उनीहरु भन्छन्, ‘मेसीले विश्वकपको उपाधि जितुन्, त्यति मात्रै चाहिएको हो ।’

शुक्रबार राति लुसेल रंगशालामा भेटिएका बहराइनका १८ वर्षीय अब्दुर रहमानको हुलिया हेर्दैमा उनी अर्जेन्टिना र लियोनल मेस्सीका समर्थक हुन् भन्न सकिन्छ । उनले मेस्सीको नाम अंकित जर्सी, घाँटीमा अर्जेन्टिनाको झण्डा र गालामा ‘ओ अर्जेन्टिना भामोस’ लेखिएको पेन्टिङ गरेका थिए ।

१८ वर्षीय रहमान इन्जिनियरिङका विद्यार्थी हुन् । उनले कतार आउनको लागि ६ महिनादेखि आफ्नो खाजा खर्च बचाएर राखेका थिए । पैसाको जोहो गरेर अर्जेन्टिनाको खेल हेर्न आएका उनी भन्छन् ‘मैले मेस्सीलाई २०१० देखि फलो गर्न थालेको हुँ । म ६ वर्षको हुँदादेखि मैले उनलाई चिनेको हुँ । आज मलाई विश्वास लागेको छैन म र मेस्सी एउटै स्टेडियम भित्र छौं, एउटै हावामा स्वास फेरिरहेका छौं’ उनले अलजजिरासँग भने, ‘मलाई अर्जेन्टिना निकै मनपर्छ, त्यसैले मैले उनीहरुको राष्ट्रिय गान र सेलिब्रेसन सिकेको छु ।’

लुसेल रंगशालामा त्यतिबेला अर्जेन्टिनाका धेरै समर्थकहरु थिए । हाल जारी विश्वकपको सबैभन्दा बढी क्षमता भएको स्टेडियम हो लुसेल स्टेडियम । ८९ हजार दर्शक क्षमता भएको लुसेलमा धेरैको मुखमा मेस्सीको नाम र शरीरमा उनको नामको १० नम्बरको जर्सी थियो । सबैजना अर्जेन्टिनाबाट मात्रै आएका थिएनन् । यहाँ त देशमात्र नभएर महादेश पनि फरक थियो ।

मोहम्मद आदिल र उनको परिवार पनि मेसीको ‘डाईहार्ट’ समर्थक हुन् । उनीहरु भारतबाट अर्जेन्टिनाको क्वार्टरफाइनल खेल हेर्न केही घण्टा अघि मात्रै कतार पुगेका थिए ।

आदिल र उनका तीन दिदीभाइ अर्जेन्टिनाको हरेक मुभमा झुमिरहेका थिए । त्यो खेल कम नाटकीय रहेन । कुल १७ पहेंलो कार्ड, एक रातो कार्ड, अतिरिक्त समयको खेल र पेनाल्टी सुटको खेलमा जित्नु अर्जेन्टिनी समर्थकका लागि एक उत्कृष्ट समय रह्यो ।

यी तीन दिदीभाइ पनि निकै रमाए । आदिलले भने, ‘मेस्सी मेरो खुसी हो । म उनलाई केही मिटरको दूरीमा देखिरहेको छु यो समय मैले मेरो मुटुमा सधैं राखिरहनेछु ।’ उनका दिदीभाइ यही एउटा खेल हेर्न कतार आएका थिए । उनीहरु खेल सकेको केही घण्टामा नै पुनः भारत फर्किए तर मेस्सी र अर्जेन्टिनालाई दक्षिण भारतबाट टेलिभिजनमा नै हेरेर समर्थन गर्ने बताए ।

दक्षिण अमेरिकी यो टिमको केही क्षेत्रमा मात्र नभई पूरै विश्वमा उत्कृष्ट समर्थक र समर्थन छ । दक्षिण एसियामा पनि अर्जेन्टिनाका थुप्रै समर्थक छन् । जसले विश्वकपमा अर्जेन्टिनालाई समर्थन गरिरहेका छन् ।

मेस्सीको समर्थक पूरै विश्वमा छन् । यसको झलक यस विश्वकपमा पनि देखियो । फरक फरक देशका समर्थक जब अर्जेन्टिनाको जर्सीमा देखिए । डिसेम्बर ९ मा लौटारो मार्टिनेजले पेनाल्टीमा गोल गरी अर्जेन्टिनालाई जित दिलाएपछि अञ्जान मानिसहरुमा भावनात्मक नजिकता देखियो । उनीहरु एकअर्कामा अंकमाल गर्दै अर्जेन्टिनाको जितको उत्सव मनाए ।

अर्जेन्टिनाको जर्सीमा देखिएकामध्ये चीनका २२ वर्षीय हाओपेङ वाङ पनि थिए । उनले ३५ वर्षीय मेस्सी समर्थक माझ हात उठाएर समर्थन गर्न नआउँदासम्म शीर झुकाइराखे । ‘मेस्सी मेरा लागि भगवान हुन्,’ उनले भने, ‘मेस्सीले एक उत्कृष्ट पास मिलाए जसबाट उनले आफ्नो खेलको जादु देखाए । म एकदमै भावुक भएँ ।’

रंगशाला बाहिर पनि मानिसहरुको उत्सव कम थिएन । बंगलादेशी समर्थकको एक हुल बंगलादेशी झन्डाको साथमा मेस्सीको फोटो प्रदर्शन गरी बाहिर दौडिरहेको थियो । उनीहरुले आफ्नो गीतमा मेस्सीको नाम मिसाएका थिए । त्यही समर्थक हुलमध्येका फखरुल इस्लामले, ‘मेस्सीलाई विश्वकपको जरुरत छ र विश्वकपलाई मेस्सीको’ भनेर गीत गाएको बताए ।

‘यदि मेस्सीले आफ्नो करिअरमा एक पटक पनि विश्वकप जितेनन् भने फुटबलको लागि निकै लज्जास्पद कुरा हुनेछ । हाम्रो प्रार्थना उनीसँग छ ।’ इस्लामले आकाशतिर हेर्दै दुवै हात माथि लगेर प्रर्थना गरेको भाव प्रकट गरे ।

सुडानका अर्का मेस्सी समर्थक यासिनले अर्जेन्टिनाले तेस्रोपटक विश्वकप जितेको हेर्न २ हजार किलोमिटरको यात्रा गरेर कतार आएका छन् । उनले ‘हालसम्मकै सर्वोत्कृष्ट फुटबलर’ लाई हेर्न आएको र अर्जेन्टिनाले उपाधि नजितेसम्म घर नर्फकने बताए । ।

हजारौं समर्थकहरु लुसेल बाहिर निस्किदै गर्दा उनी एक शान्त ऋषि जसरी मन्द मुस्कानसहित उभिएर ह्यान्डमेड पोस्टर प्रदर्शन गरिरहेका थिए । जसमा स्पेनिस भाषामा ‘यो विश्वकपको समय हो, मेस्सी यहाँ छन्,’ भनेर लेखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?