काठमाडौं । वैज्ञानिकहरुले वर्षौंदेखि पृथ्वी बाहेकका अन्य ग्रहहरुमा पनि जीवनको खोजी गरिरहेका छन् । विश्वका सर्वाधिक धनी व्यक्ति एलन मस्कले त सन् २०५० सम्ममा मंगल ग्रहमा मानव वस्ती बसाउने घोषणा नै गरिसकेका छन् । अमेरिकी अन्तरिक्ष संस्था नासा लगायतका विभिन्न संस्थाहरुले पनि यस विषयमा चर्चा गर्ने गर्दछन् । तर पृथ्वी बाहेकका ग्रहमा वस्ती बसाल्ने कुरा तबमात्र सम्भव होला जब अन्तरिक्षमा पनि मानिसको जन्म हुन सक्नेछ ।
के शून्य गुरुत्वाकर्षण क्षेत्रमा बच्चा जन्मिने कुरा सम्भव होला त ? यदि बच्चा जन्मियो भने के आमा र बच्चाको जीवन सुरक्षित होला त ? अनि अन्तरिक्षमा जन्मिने बच्चामा विकिरणले कस्तो असर पार्ला ?
वास्तवमा सन् २००० यता अहिलेसम्म अन्तरिक्षमा लगातार मानिसको आवतजावत भैरहेको छ । यो पूरै समयमा कुनै न कुनै देशका एक न एक जना अन्तरिक्षयात्री अन्तरिक्षमा रहेकै छन् । यसबाट के प्रष्ट हुन्छ भने अन्तरिक्षमा जाने कुरा खासै कठीन होइन । तर अन्तरिक्षमा आवतजावत बाक्लै भएपनि त्यहाँ बच्चा जन्माउन सम्भव हुन्छ कि हुँदैन भन्ने कुरा अझै रहस्यकै गर्भमा छ ।
अन्तरिक्षमा महिला र पुरुषबीच यौनसम्पर्क हुन सक्दछ र त्यसबाट महिला अन्तरिक्षयात्री गर्भवती हुन पनि सम्भव हुन्छ । तर अन्तरिक्षको विषम वातावरणले महिलाको गर्भमा रहेको भ्रूणमा ठूलो असर पार्न सक्दछ । त्यसैले बच्चाको गर्भमै वा जन्मकै क्रममा पनि मृत्यु हुन सक्दछ ।
सायद त्यही सम्भावनालाई मध्यनजर गर्दै अमेरिकी अन्तरिक्ष संस्था नासाको आधिकारिक नीति अनुसार अन्तरिक्षमा यौन सम्बन्ध कायम गर्न मनाही छ । कानूनी रुपमा यस्तो प्रावधान हुँदाहुँदै पनि यदि महिला र पुरुषबीच अन्तरिक्षमा संसर्ग भयो र महिला गर्भवती भइन् भने केके समस्या आउन सक्लान् त ?
मुसामा गरिएको छ परीक्षण
वैज्ञानिकले अन्तरिक्षमा गर्भधारणका विषयमा अनुसन्धान गर्नुअघि विकिरणले शुक्रकिटमा पार्ने असरका बारेमा परीक्षण गर्ने कोसिस गरे । इन्टरनेसनल स्पेस स्टेशनमा मुसाको फ्रिज गरिएको शुक्रकिट लगियो र ६ वर्षपछि पृथ्वीमा फिर्ता ल्याएर त्यसबाट पोथी मुसामा गर्भाधान गराइयो । त्यसरी जन्मिएका कूल १६८ वटा मुसामा जाँच गर्दा उनीहरु कसैमा पनि विकिरणको असर परेको देखिएन । यो अनुसन्धान सम्बन्धी शोधपत्र गत वर्ष साइन्स एडभान्सेज जर्नलमा प्रकाशित भएको थियो ।
यो परीक्षणले अन्तरिक्षमा कस्मिक विकिरणको असर मुसाको शुक्रकिटमा नपर्ने देखाएको छ । तर यतिमात्र तथ्यले अन्तरिक्षमा जन्मको सम्भावनालाई देखाउँदैन ।
शून्य गुरुत्वाकर्षणको असर

अन्तरिक्षयात्रीको हड्डीको घनत्व तीव्र रुपमा घट्ने गर्दछ अर्थात् अन्तरिक्षमा रहँदा मानिसको हड्डी कमजोर हुन्छ । यो प्रक्रिया यति तीव्र हुन्छ कि अन्तरिक्षमा ६ महिनासम्म बस्दा हड्डीको घनत्व १२ प्रतिशत सम्म घट्दछ । यस्तोमा गर्भावस्थाका बेला महिलाको पेल्भिक फ्लोरमा भ्रुणको दबाव बढ्दा गर्भवतीका हड्डीहरु भाँचिने जोखिम हुन्छ अर्थात् आन्तरिक रक्तश्राव हुनसक्दछ । पेल्भिक फ्लोर शरीरको त्यो हिस्सा हो जसमा पाठेघर, योनी, मलद्वार तथा मुत्रथैली लगायतका अंगहरु सामेल हुन्छन् ।
अन्तरिक्षमा जन्मिने बच्चा कस्तो ?
यदि माथि उल्लेखित जोखिम समेत झेल्दै अन्तरिक्षमा बच्चा जन्मिहाल्यो भने पनि कस्तो होला त ? वास्तवमा अन्तरिक्षमा जन्मिने बच्चा पृथ्वीमा जन्मिने बच्चाभन्दा निकै फरक हुने अधिक सम्भावना हुन्छ । गुरुत्वाकर्षणको अभावमा हुने भ्रुणको विकासले बच्चाको शरीर नितान्त फरक हुनसक्दछ । खासगरी त्यस्तो बच्चाको टाउको निकै ठूलो हुनसक्छ । अझ अन्तरिक्षमा लगातार बच्चा जन्मिन थाल्दा र आमाको योनीद्वारको साटो शल्यक्रियाबाट बच्चा जन्माइँदा टाउकोको आकार कालान्तरमा ठूलो हुदै जानेछ । उसो त गुरुत्वाकर्षण विना नर्मल डेलिभरी सम्भव हुँदैन र शल्यक्रिया नै एकमात्र विकल्प बन्दछ ।
शिशुको छालामा असर
पृथ्वीमा सूर्यको परावैजनी किरणबाट बँच्नको लागि हाम्रो छालामा मेलानिन तत्व हुन्छ । जसको कारण हाम्रो छालाको रंग गाढा वा फिक्का हुन्छ । तर अन्तरिक्षमा चाहिँ कस्मिक विकिरणबाट बँच्नका लागि गर्भवतीलाई यानभित्र राख्नुपर्ने हुन्छ । त्यसैले अन्तरिक्षमा जन्मिने बच्चाको शरीरको छालामा मेलानिन हुनेछैन र छालाको रङ निकै फिक्का हुनेछ ।
यो पनि हुनसक्दछ कि अन्तरिक्षमा जन्मिएको शिशु पृथ्वीको बच्चाभन्दा पूर्णरुपमा फरक अर्थात् एलियन जस्तै देखिन सक्दछ । त्यसपछि एक अर्को समस्या आउनेछ कि के त्यो बच्चा पृथ्वीमा आएर बाँच्न सक्दछ त ? यी यावत् कुराहरुलाई विचार गर्दा वैज्ञानिकहरुले अन्तरिक्षमा शिशुको जन्मका लागि मानिसको डिएनएमै परिवर्तन गर्नु आवश्यक हुनसक्ने बताउँछन् ।
पोल्याण्डका वैज्ञानिकहरुले यस विषयमा अनुसन्धान पनि सुरु गरिसकेका छन् जसको पहिलो शोधपत्र बायोलोजिकल एण्ड सोसल च्यालेन्जेज अफ ह्युमन रिप्रोडक्सन इन लंग टर्म र्मा बेस शीर्षकमा साइन्स डाइरेक्ट जर्नलमा छापिएको छ ।
अध्ययनमा संलग्न युनिभर्सिटी अफ आइटी एण्ड म्यानेजमेन्टका शोधकर्ताका अनुसार मंगल ग्रहमा मानव वस्ती तबमात्र सम्भव हुन्छ जब हाम्रो डिएनए पनि त्यस अनुकूल हुन्छ अनि हामीमाथि विकिरणको असर कम भन्दा कम पर्दछ । वास्तवमा अन्तरिक्षको विकिरण यतिधेरै खतरनाक हुन्छ कि तालीमप्राप्त अन्तरिक्षयात्रीहरु पूर्णरुपमा सुरक्षित वातावरणमा रहँदा समेत यसको असरबाट बँच्न सक्दैनन् । यस्तोमा अन्तरिक्षमा गर्भमा रहेको भ्रूण सुरक्षित रहनु र जन्म पश्चात् स्वस्थ रहने कुरा कम्तिमा अहिलेका लागि असम्भव देखिन्छ ।
–एजेन्सी
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4