+
+

पौडेल भन्छन्-अब मेरो पालो, देउवा भन्छन्-सल्लाह गरुँला

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १५:०१

२८ मंसिर, काठमाडौं । निकटस्थहरु भन्दैछन्– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बन्दैछन् । स्वयं उनी चाहिँ संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीको यात्रा तय गर्ने मनस्थितिमा छन् ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले यो कुरो खुला–खुला राखिसके । त्यो पनि दुई पटक ।

तर दुवै पटक जवाफ पाए, ‘सल्लाह गरुँला, सल्लाह गरुँला ।’

बुधबार बिहान पनि यस्तै भयो ।

खासमा पौडेल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुको सन्दर्भ चाहिँ अर्कै थियो । जापान सरकारले पौडेललाई दिन लागेको सम्मान कोभिड–१९ महामारीका कारण रोकिएको थियो ।

जापानी दूतावासले बिहीबार उनको सम्मानमा रिसेप्सन भोज आयोजना गरेर त्यो सम्मान वितरण गर्दैछ । पौडेल प्रधानमन्त्री देउवालाई आफ्नो सम्मान कार्यक्रममा देख्न चाहन्छन् । निम्तो कार्ड बोकेर उनी देउवाकहाँ पुगेका थिए ।

त्यसै क्रममा दुई नेताहरुबीच आगामी सरकार गठन, संसदीय दलको चुनाव लगायत विषयमा कुरा भएको हो ।

‘मैले शेरबहादुरजीलाई प्रष्ट भन्दिएको छु, यसपल्ट मेरो पालो हो,’ अनलाइनखबरसँग पौडेलले भने, ‘उहाँले सल्लाह गरुँला, सल्लाह गरुँला भन्नुभयो । अस्ति पनि त्यसै भन्नुभएको थियो ।’

पौडेलले देउवासँग विगतमा सहकार्य र प्रतिस्पर्धा दुबै गरेका छन् । यतिबेला देउवासँग संख्या छ, पौडेलसँग तर्कहरु छन् । नयाँ पुस्ताबाट गगन थापा जबर्जस्त रुपमा उदाउँदै छन् । यस्तोमा संसदीय दलको चुनावको परिदृश्य कस्तो होला भनेर पूर्वानुमान लगाउन सकिन्छ ।

तर पौडेलले कांग्रेसलाई बीपी विचारको पथमा हिँडाउन आफ्नो नेतृत्वको औचित्य दर्शाएका छन् । यो कुरो देउवाले बुझ्लान् त ? अनलाइनखबरले उनलाई प्रश्न ग¥यो ।
‘खोइ त्यो त भन्नै सकिन्न । उहाँ आफैं सांसदहरुसँग भोट मागिराख्नुभएको छ भन्ने सुन्छु,’ जवाफमा पौडेलले भने ।

‘तर देशमा जुन किसिमका समस्याहरु छन् नि, तिनको समाधान गर्न पनि राष्ट्रिय सहमतिको आवश्यकता छ’, पौडेलले थपे ।

अनि हामीलाई नै सोधे, ‘छैन त ?’

हाम्रो प्रश्न, ‘तपाईं प्रधानमन्त्रीका लागि अघि बढ्ने परिस्थिति बनेन भने राष्ट्रपति बन्ने हो ?

यो प्रश्नको जवाफ उनले दिन चाहेनन् ।

यसअघि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवा फेरि प्रधानमन्त्रीमा दोहोरिन चाहेको आफूहरुले पाएको बताएका थिए । देउवालाई आफू र अर्का महामन्त्री गगन थापाले अब छाड्न आग्रह गरेको भए पनि देउवाले आफ्नो समूहबाट संदसीय दलको नेतामा अरु नउठ्ने, बरु आफैं उठ्ने जवाफ दिएका थिए ।

समानुपातिक तर्फका सांसद छानिसकेको परिस्थितिमा देउवासँग संसदीय दलमा सोझो बहुमत देखिन्छ । ८९ सांसद रहेको कांग्रेसमा देउवासँग ५५ सांसद देखिन्छन् । गगन–शेखर कोइराला पक्षसँग ३४ सांसद छन् । बहुमतका लागि ४५ सांसदको समर्थन आवश्यक पर्छ ।

यद्यपि शेखर कोइरालाले अहिलेसम्म गगनलाई सघाउने भनेर मुख खोलिसकेका छैनन् । इतर संस्थापन पक्षबीच मतैक्य नबने त्यसको लाभसमेत देउवालाई हुन सक्छ । यद्यपि गगन पक्ष भने देउवालाई भोट हाल्ने भनिएका सांसदमध्ये कतिपयले आफूलाई सघाउने विश्वासमा छ ।

यो तानातानमा पौडेलले आफ्नो पक्षको संख्या अहिलेसम्म देखाएका छैनन् । त्यस अर्थमा प्रधानमन्त्रीको लागि दबाव दिँदै उनी शीतल निवासकै यात्रामा हुन् कि भन्ने आकलनलाई बल मिल्न जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?