+
+

न्यूनतम कर्जा प्रवाहको समय सीमामा राष्ट्र बैंकले दियो बैंकहरुलाई सहुलियत

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २८ गते १८:२४

२८ मंसिर, काठमाडौं । इजाजत प्राप्त वाणिज्य बैंकलाई तोकिएको क्षेत्रमा गर्नु पर्ने न्यूनतम कर्जा प्रवाहमा नेपाल राष्ट्र बैंकले सहुलियत प्रदान गरेको छ ।

मौद्रिक नीति २०७९/८० को पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले घोषणा गरेका नीति कार्यान्वयन गर्न बुधबार एकीकृत निर्देशिका जारी गरेको छ । सो अनुसार यसअघि २०८२ असारसम्म कुषि क्षेत्रमा प्रवाह गर्नुपर्ने भनी तोकिएको कर्जा अब २०८३ असार मसान्तसम्म गरिसक्नु पर्ने छ । यसका लागि राष्ट्र बैंकले टाइमलाइन समेत तोकिएको छ । जस अनुसार असार मसान्त २०८० सम्म ११ प्रतिशत, असार मसान्त २०८१ सम्म १३ प्रतिशत, असार मसान्त २०८२ सम्म १४ प्रतिशत र असार मसान्त २०८३ सम्म १५ प्रतिशत पुर्‍याए हुने भएको छ ।

ऊर्जा क्षेत्रमा तोकिएको न्यूनतम १० प्रतिशत कर्जामा प्रवाह गर्नुपर्ने कर्जाको समयावधि समेत एक वर्ष विस्तार गरिएको छ । जसअनुसार असार मसान्त २०८३ सम्म लक्ष्य भेटाउनु पर्नेछ । यसअघि असार मसान्त २०८२ सम्म भेटाउनु पर्ने गरी तोकिएको थियो ।

लघु, घरेलु, साना तथा मझौला उद्यममा लगाउनु पर्ने न्यूनतम १५ प्रतिशत कर्जाको सीमा समेत अब २०८३ असार मसान्तसम्म पुर्‍याए हुने गरी तोकिएको छ । यसअघि यो सीमा २०८२ असार मसान्त थियो । ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाले तोकिएको क्षेत्रमा गर्नुपर्ने न्यूनतम कर्जा प्रवाहको समय समेत दुई वर्ष विस्तार गरी २०८३ असार मसान्त पुर्‍याइएको छ । यसअघि यो सीमा असार मसान्त २०८१ सम्म थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?