+
+

४ करोड मुआब्जा हत्याउन नक्कली नाता कायम

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १३:३८

२९ मंसिर, बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अधिग्रहणमा परेको जग्गाको मुआब्जा बापतको करिब चार करोड रुपैयाँ हात पार्न भूमाफियाले मृतक जग्गाधनीसँग नक्कली नाता कायम गरेको पाइएको छ ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा पर्ने गौतमबुद्ध विमानस्थलले अधिग्रहण गरेको स्वर्गीय रामसरे भरको नाममा दर्ता कायम रहेको ४ कट्ठा ४ धुर जग्गालाई भूमाफियाको योजनामा नक्कली नाता प्रमाणित गराई अर्कैको नाममा नामसारी गरिदिएका हुन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले उक्त क्षेत्रमा प्रतिधुर ४ लाख ५० हजार रुपैयाँ मुआब्जा निर्धारण गरेको थियो । उक्त मूल्य अनुसार रामासरेको ४ कट्ठा ४ धुर जग्गाको मुआव्जा रकम ३ करोड ७८ लाख रुपैयाँ हुन आउँछ ।

जग्गाधनी स्वर्गीय रामासरेको दुईवटी श्रीमती (जेठी माल्ती भर र कान्छी फुलादेवी भर) रहेकोमा दुवैजनाको मृत्यु भइसकेको छ भने उनीहरुको कुनै सन्तान छैन । उक्त जग्गाको मुआब्जा हत्याउन नक्कली नाता प्रमाणित गराई जग्गाको नामसारी समेत गराइएको भन्दै स्थानीयले कीर्ते काम गर्नेमाथि छानबिन गरी कारवाही र उक्त जग्गा कानुनअनुसार राष्ट्रियकरण गर्न माग गरेका छन् ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ कि ७० वर्षीया तीर्थी भरलाई आर्थिक प्रलोभनमा पारेर जग्गाधनी रामासरेको भाउजु नाता कायम गराई नामसारी गरेको तीर्थीका छोरा राजु भरले बताए ।

हाल तीर्थी र उनको परिवार भने रामग्राम नगरपालिका–१७ मा बस्दै आएका छन् ।

नक्कली नाता प्रमाणित गर्ने काममा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष, वडा सदस्य र कर्मचारी र भुमाफिया समेत संलग्न भएको राजु भरले बताए ।

‘रामासरे र उनको परिवारसँग हाम्रो परिवारको कुनै नाता सम्बन्ध छैन, थर मिलेकाले सोझी वृद्ध आमालाई आर्थिक प्रलोभनमा पारेर नाता प्रमाणित गराई करोडौं रकम भूमाफियाले कुम्ल्याउन खोजेका छन्’, राजु भरले भने, ‘यसमा ७ जना मिलेका छन्, उनीहरुले आमासँग मुआव्जा क्षतिपूर्ति निकासा हुनुभन्दा अगाडि जनही १० लाख रुपियाँको कपाली तमसुक समेत गराएका छन् ।’

तीर्थी भरको परिवार ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

तीर्थीका नाति गौतम भरले कीर्ते काम गर्नेहरुमाथि छानबिन गरी कारवाही र उक्त जग्गा कानुन अनुसार राष्ट्रियकरण गर्न माग गरेका छन् ।

साविक भुजौली गाविस–७ मा पर्ने उक्त जग्गाको हक खाने कोही नभएको र यो जग्गा कानुन बमोजिम अपुताली भई नेपाल सरकारको नाममा जानुपर्नेमा करिव ४ करोड रुपैयाँ हात पर्न यस्तो खेल खेलिएको उनको भनाइ छ ।

नाता प्रमाणित गराई जग्गा नामसारी गर्ने काममा पाल्हीनन्दन गाउँपालिका–६ का वडाअध्यक्ष कृष्णचन्द्र यादव र वडा सदस्य तथा हाल जिल्ला समन्वय समितिका उपप्रमुख रामदायल तेली, महिला सदस्य अनिता साहनी, भूमाफिया गिरोहका पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का नाथुप्रसाद यादव, उनका छोरा अखिलेश यादव, वडा नम्बर ६ कै पारस भर र रामग्राम नगरपालिका–९ बस्ने घनश्याम पाठकको समेत संलग्नता रहेको गौतम भरले बताए ।

वडाअध्यक्ष यादवले नाता प्रमाणितका बेला आफू बिदामा बसी महिला सदस्य अनिता साहनीलाई कार्यवाहकको जिम्मेवारी दिएको र नाता प्रमाणित गराएबापत ५० लाख रकम आउँछ भनी आश्वासन दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको तर छानबिनमा ढिलाइ र बेवास्ता भएको गौतम भरले बताए ।

वडाअध्यक्ष कृष्णचन्द्र यादवले कीर्ते काम नगरेको दावी गरे । ‘नक्कली नाता प्रमाणित गरिएको होइन, सबै बुझेर मात्र गरिएको हो, छानबिन गरेर गलत भएको भए कारवाही भोग्न तयार छौं’, उनले भने ।

कार्यवाहक वडाअध्यक्ष साहनीले सार्वजनिक सुनुवाई गरी प्रमाण पु¥याएर पाँच जनाले देवर भाउजुको रुपमा नाता कायम गर्न भनेपछि नाता प्रमाणित गरिदिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?