+
+

कलाकार हेरफेरसँगै सुरु भयो ‘प्रसाद २’ को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २९ गते १४:४७

काठमाडौं । कलाकार हेरफेरसँगै फिल्म ‘प्रसाद’को दोस्रो श्रृंखलाको छायांकन आज (बिहीबार)देखि सुरु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाबाट सुटिङ सुरु भएको निर्माताले जानकारी दिएका छन् ।

४० दिनको छायांकन तालिका छ । आज बिहान भएको मुहूर्तमा कलाकारद्वय विपिन कार्की र केकी अधिकारीले सट दिए । फिल्म सुटिङ सुरु हुने बेला विवाद निम्तिएपछि फिल्मको निर्माण अन्योलमा थियो ।

निर्माता सुवास थापा र अभिनेता विपिन कार्कीबीच मंसिर ७ गतेदेखि छायांकन गर्ने लिखित सहमति निर्माता संघमा भएको थियो । सोही सहमतिअनुसार नै सुटिङ अघि बढेको हो ।

एसजी फिल्म्स र सुलभ थापा प्रोडक्सनले फिल्म निर्माण गर्न लागेका हुन् ।  सुदर्शन बस्नेत निर्माता र सुवास थापा प्रस्तुतकर्ता हुन् । अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी लगायतको फिल्ममा अभिनय हुनेछ ।

राजेश श्रेष्ठको छायांकन, उत्तम न्यौपानेको पाश्र्वध्वनि, राजनराज सिवाकोटीको संगीत रहनेछ । पटकथा सुशील पौडेलले लेखेका हुन् । अघिल्लो सिक्वेललाई दिनेश राउतले निर्देशन गरेका थिए ।

दोस्रो श्रृंखलालाई सुदर्शन थापाले निर्देशन गर्नेछन् । सुटिङ सकिएपछि प्रदर्शन मिति तय गरिने निर्माताले जानकारी दिएका छन् । अन्तरजातीय विवाहको सामाजिक प्रभाव र प्रेमकथामा बन्ने फिल्मको अघिल्लो भागलाई रुचाइएको थियो ।

नम्रता र राज कटुवालले छाडे फिल्म

सुरुमा प्रमुख कलाकारको रुपमा घोषणा गरिएका नम्रता श्रेष्ठ र राज कटुवालले ‘प्रसाद २’ छाडेका छन् । नम्रताले फिल्म नगर्ने टुंगो लागेपछि उनको ठाउँमा केकी अधिकारी भित्रिएकी हुन् ।

निर्माताले अन्य केही अभिनेत्रीलाई पनि उक्त भूमिकाको लागि प्रस्ताव राखेका थिए । अभिनेता कटुवालले आफूले समय दिन नसक्ने भएपछि फिल्म छाडेको अनलाइनखबरलाई बताए । राज उनको आगामी फिल्म ‘राजा’मा व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?