
काठमाडौं । आर्यन सिग्देल र उपासनासिंह ठकुरीको अभिनय रहेको फिल्म ‘डिसेम्बर फल्स’को ट्रेलर सार्वजनिक भएको छ । प्रवीण झा निर्देशित फिल्मको ट्रेलरमा रोमान्स, ड्रामा र थ्रिलर तत्व समावेश छन् । फिल्मको कथावस्तु आर्यन र उपासनाको वरपर फन्को मारेको छ ।
आर्यनले ‘लभ इन्ट्रेस्ट’ उपासनालाई पट्याउन संघर्ष गर्छन्, तर बीचमा आउने कुनै मोडले उपासनालाई आर्यनबाट टाढा लैजान्छ । खलपात्रको प्रवेशपछि यी दुईको सम्बन्धमा उतारचढाव आउँछ ।
के आर्यनले पुनः उपासनाको मत जित्लान् ? निर्देशकले फिल्मको यो रहस्यलाई रहस्यमै सीमित गरेका छन् । ट्रेलर रोमान्टिक दृश्यबाट सुरु हुन्छ र अन्त्य घाइते उपासनालाई आर्यनले बोकेर हिमाली पठारमा हिंडिरहेको दृश्यसँगै टुंगिन्छ ।
उपासनाले नर्सको भूमिकामा अभिनय गरेकी छन् । बिरामी बनेका आर्यन र उपचारमा खटिने नर्सको भूमिकामा उपासनाको चरित्र सम्बन्धलाई स्थापित प्रयत्न गरिएको छ । दक्षिण भारतीय न्यारेसन शैलीमा निर्देशक झाले फिल्मको कथावस्तु बुनेका छन् ।
कथामा डिसेम्बरको सन्दर्भ भएकाले पनि फिल्मको शीर्षक पनि डिसेम्बर फल्स राखिएको बुझ्न सकिन्छ । ट्रेलरमा सलोन बस्नेत र नरेश भट्टराई सहायक अभिनेताको रुपमा छन् ।
रामप्रसाद रिजालको निर्माण रहेको फिल्म पुस १५ गते रिलिज हुँदैछ ।
प्रतिक्रिया 4