 
																			२९ मंसिर, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सरकार निरीह र रमिते बन्नुपरेको गुनासो गरेका छन् ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले वर्तमान कानुनका कारण प्रदेश सरकार निरीह र रमिते बनेको टिप्पणी गरेका हुन् ।
‘संविधानले, कानुनले जे खालका अधिकारहरु हामीलाई व्यवस्था गरेको छ, जे कार्यक्षेत्र निर्धारण गरेको छ, बजेट पनि सानो आकारको बन्छ’, विराटनगरमा विराट एक्स्पो उद्घाटन समारोहमा उनले भने, ‘हामी सबै समस्याप्रति निरीहजस्तो, रमितेजस्तो बन्नुपर्ने अवस्था छ, हामी न सहयोग गर्न सक्ने, न आफैंले केही गर्न सक्ने अवस्था बनेको छ ।’
प्रदेशको कामका बारेमा पनि बहस चलिरहेको बताउँदै उनले देशको संघीय प्रणाली विश्वका अरु देशको अभ्यासजस्तो नभई फरक खालको भएको बताए । संघीय संरचनाको नाममा अहिले पनि केन्द्रिकृत र एकात्मक राज्यजस्तो कानुनी व्यवस्थाले प्रदेशले धेरै काम गर्न नसकेको मुख्यमन्त्री राईले बताए । अधिकार र बजेट केन्द्रले नै राखेका कारण प्रदेश र स्थानीय तहको भूमिका सन्तोषजनक नभएको उनको भनाइ छ ।
‘सिद्धान्तमा जस्तो लेखेको छ, दुनियाँमा जस्तो प्राक्टिस भएको छ, त्यस्तै संघीय प्रणाली सुरु गरौं अनि मात्रै प्रदेश र स्थानीय सरकारको तहको मूल्याङ्कन गरौं,’ उनले भने, ‘अधिकार नदिने, पैसा (बजेट) नदिने, अनि काम गर्न सकेन भन्नु चाहिँ अन्याय पूर्ण हुन्छ ।’
अधिकार र बजेट केन्द्रले अँठ्याएर राख्दा प्रदेश सरकार, स्थानीय तहको भूमिका सन्तोषजनक नभएपनि विकासमा दामासाहीकरण भएको बताए । केन्द्र सरकारले भन्दा प्रदेश सरकारले जिल्ला र स्थानीय तहमा धेरै योजना र बजेट पठाएको मुख्यमन्त्री राईले बताए ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले मुख्यमन्त्रीले उठाएको विषयलाई सम्बोधन गरिनन् । उनले निजी क्षेत्रको समस्या सामधान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
औद्योगिक क्षेत्रका समस्या समाधानको पहल गर्न विराटनगरका उद्योगी व्यावसायीलाई आह्वान गर्दै उनले निजी क्षेत्रको समस्या सामधान गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
उद्योग संगठन मोरङको आयोजनामा सुरु भएको एक्स्पो ६ पुससम्म सञ्चालन हुनेछ ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4