+
+

‘पठान’ विवादमा शाहरुखले भने- संसारले जेसुकै गरोस्, सकारात्मक सोचका हामी जिउँदै छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १४:००

काठमाडौं । शाहरुख खान स्टारर ‘पठान’ले टिजर रिलिजपछि निकै चर्चा पायो । यसपछि निर्माताले ‘बेसरम रङ’को गीत सार्वजनिक गरेपछि फिल्मले प्रशंसाभन्दा बहिष्कारको धम्की पाइरहेको छ ।

बहिष्कार गर्नुपर्ने भन्दै अनलाइनमा फिल्मलाई तारो बनाइएको छ । उक्त गीतमा प्रयुक्त दीपिका पादुकोणको पहिरन र त्यसको रङले हिन्दुत्वको अपमान गरेको भन्दै सत्तारुढ भारतीय जनता पार्टीका नेता र महन्थहरु शाहरुखमाथि खनिएका छन् ।

फिल्म बहिष्कारको तरंग सुरु हुँदा मौन देखिएका शाहरुखले यस प्रकरणमा भने मौनता तोडेका छन् । पठान बहिष्कार गर्नुपर्छ भन्ने पक्षले मुलुकलाई विभाजित गर्न खोजेको भन्दै शाहरुखले असन्तुष्टि जनाएका छन् ।

२८ औं कोलकाता अन्तर्राष्ट्रिय फिल्म महोत्सवको उद्घाटन समारोहमा भाग लिन पुगेका उनले भने, ‘हाम्रो समयको सामूहिक कथालाई सामाजिक सञ्जालले आकार दिन थालेको छ । सामाजिक सञ्जालले फिल्मलाई नकरात्मक असर गर्छ भन्ने विश्वासको विपरीत मलाई लाग्छ अब फिल्मले अझ महत्वपूर्ण भूमिका खेल्नेछ ।’

उनले भने, ‘संसारले चाहे जेसुकै गरोस्, म र तपाईं जति पनि सकारात्मक सोचका मान्छे छौं, सबै जिउँदा छौं ।’ शाहरुखको यो अभिव्यक्तिको इशारा ती मान्छेतर्फ लक्षित थियो, जसले सामाजिक सञ्जालमा पठानविरुद्ध ट्रोल बनाइरहेका छन् ।

शाहरुख यहीं रोकिएनन्, सामाजिक सञ्जालमा नकारात्मकता फैलाउनेप्रति उनी क्रुद्ध सुनिए । सामाजिक सञ्जालले यो आधुनिक जमानामा सामूहिक भाष्य निर्माण गर्ने उनको भनाइ छ ।

‘मैले कतै पढेको थिएँ । नकारात्मकताले सामाजिक सञ्जालको प्रयोगलाई बढाउँछ । यसको व्यावसायिक मूल्य पनि वृद्धि हुन्छ । यस्तो खाले कथाले हामीलाई भड्काउने र विभाजन गर्ने काम गर्छन् । चाहे जेसुकै होस्, हामी सकारात्मक हुनु जरुरी छ,’ उनले भने, ‘नकारात्मक सोचबाट टाढा रहनुपर्छ । शाहरुखले यति बोल्ने बित्तिकै नेताजी इन्डोर रंगशालामा तालीको गडगडाहट भयो ।’

कार्यक्रममा शाहरुखले आफ्नो शैलीबाट दर्शकको मन जिते । उनले अमिताभ बच्चन र जयाको खुटट छोए । उक्त कार्यक्रममा बोलेका बलिउड निर्देशक महेश भट्टले पनि आजको राजनीतिक वातावरणमा भारतको युवापुस्ताले पश्चिमा विचारलाई अस्वीकार गर्न नसक्ने बताए ।

२८ औं कोलकाता फिल्म फेस्टिभलमा ऋषिकेश मुखर्जीको फिल्म ‘अभिमान’ प्रिमियर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?