+
+

मेस्सीका ‘बडीगार्ड’ रोड्रिगो डी पाउल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १ गते १५:०६

१ पुस, काठमाडौं । ३५ वर्षको उमेरमा पनि लियोनल मेस्सीले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै अर्जेन्टिनालाई फाइनल पुर्‍याएका छन् । कतारमा जारी फिफा विश्वकपमा मेस्सीले ५ गोल गर्नुका साथै ३ असिस्ट गरेका छन् ।

सर्वाधिक गोल गर्नेमा उनी फ्रान्सका केलिएन एमबाप्पेसँगै शीर्षमा छन् भने असिस्टमा एन्टोनी ग्रीजमन र ह्यारी केन सँगै छन् । मेसी ३५ वर्षको उमेरमा विश्वकपमा ५ गोल गर्ने पहिलो खेलाडी समेत हुन् ।

यस पटक मेसी लयमा देखिएका छन् भने अर्जेन्टिनाको टिम पनि विश्वकप जित्नका लागि एकजुट भएर लागेको छ । त्यसमा पनि मेसीलाई यस्तो प्रदर्शनका लागि सबैभन्दा धेरै सहयोग गर्ने खेलाडी रोड्रिगो डी पाउल हुन् ।

एट्लेटिको मड्रिडबाट व्यवसायिक फुटबल खेल्ने २८ वर्षीय डी पाउललाई मेस्सीको अघोषित बडिगार्ड नै भनिन्छ । खेलदेखि प्रशिक्षणसम्म मेस्सीलाई सुरक्षा प्रदान गर्ने जिम्मेबारी उनी डी पाउलले पाएका छन् ।

मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै गोल गर्नका लागि डी पाउललगायत टिममेटले उनलाई खुल्ला खेल्न अवसर दिएका छन् ।

यतिमात्र होइन मेस्सीलाई विपक्षी खेलाडीले फाउल गर्दा होस् या मेस्सीको नजिक कोही आउँदा त्यसबेला सबैभन्दा अगाडि डी पाउल नै पुग्छन् ।
डी पाउलले मेसीको सुरक्षा मात्र गरेका छैनन् जारी विश्वकपमा आफ्नो प्रदर्शन पनि उत्कृष्ट दिएका छन् ।

उनले जारी विश्वकपमा अर्जेन्टिनाका तर्फबाट सबैभन्दा धेरै ६१.०४ किलोमिटर क्षेत्र कभर गरेका छन् । जर्सी नम्बर ७ लगाएर खेल्ने डी पाउल लियोनल स्कालोनीको मिडफिल्डमा मुख्य खेलाडीको रुपमा छन् । मैदानको हरेक क्षेत्रमा उनी पुगेका हुन्छन् ।

हरेक खेलमा उनको प्रदर्शन उस्तै छ । अन्तिम १६ मा अष्ट्रेलियाविरुद्ध जुलियन अल्भारेजले गोल गर्दा डी पाउलकै भूमिका महत्वपूर्ण थियो । उनले अष्ट्रेलियाली गोलकिपर म्याथ्यु राएनलाई व्यस्त पार्दा अल्भारेजले गोल गरेका थिए । मेसीको प्रदर्शनलाई डी पाउलले सहयोग गरिरहेका छन् ।

मेस्सीको बडीगार्ड

अर्जेर्न्टिनी फ्यानहरुले डी पाउललाई मेस्सीको बडीगार्डको रुपमा लिन थालेका छन् । यद्यपी यो शारीरिक रुपमा नभएर खेलको सन्दर्भमा हो ।

उनले गत वर्ष कोपा अमेरिकाको सफलतामा मुख्य भूमिका खेलेका थिए र प्रशिक्षक लियोनल स्कालोनीले मध्यपूर्वमा भइरहेको विश्वकपमा अहिलेसम्म उनीमाथि निकै विश्वास गरेका छन् ।

विश्वकपअघि डी पाउलले आफूले मेस्सीलाई केयर गर्ने बताएका थिए । ‘म लिओको धेरै हेरचाह गर्छु । र, मलाई थाहा छ उनले पनि मलाई त्यस्तै गर्छन्,’ विश्वकपको पूर्वसन्ध्यामा डे पउलले भनेका थिए, ‘पीच बाहिर पनि हामी नजिक छौं किनकि हामी रमाइलो गर्छौं, हामी साथी हौं । साथीहरुसँग मेरो राम्रो समय बित्छ ।’

गत सेप्टेम्बरमा होण्डुरसविरुद्धको खेलमा डेइबी फ्लोरेसले मेस्सीलाई फाउल हान्दै लडाएका थिए । त्यसबेला मेसीको रक्षामा सबैभन्दा चाँडै प्रतिक्रिया जनाउन रेफ्रीसम्म पुग्नेमा उनै डी पाउल थिए ।

खेलपछि समेत रोड्रिगोले मेस्सीको साथ छाडेनन् । होण्डुरसका खेलाडीहरु मेसीसँग फोटो खिचाउन चाहन्थे । होण्डुरसका एक अफिसियलले तस्वीरका लागि मेसीको हातले समातेका थिए । त्यसबेला डी पाउलले हात हटाइदिए ।


विश्वकपअघि युएईविरुद्धको अभ्यास खेलपछि अर्को भिडियो भाइरल भएको थियो । जहाँ युएईका खेलाडीहरु मेसीसँग हात मिलाइरहेका थिए । मेसी त्यहाँबाट नहिँडेसम्म डी पाउल पनि त्यहीँ बसिरहेका देखिन्थे ।

दी एथ्लेटिकले रोड्रिगो डी पाउल अर्जेन्टिनाको बडीगार्ड रहेको र उनको काम मेसीलाई सहज बनाउनु रहेको हेडलाइन राखेर लेख समेत लेखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?