+
+

झोल मःमका लागि चर्चित काठमाडौंका ७ रेस्टुरेन्ट

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ पुष १ गते १८:०३

काठमाडौं । मौसमी तापमान क्रमशः ओरालो लाग्दैछ । चिसो सिरेटो चल्न थालेको छ । यो जाडोयाममा तात्तातो खानेकुराको स्वाद दोब्बर हुन्छ । त्यसमाथि झोल मःमको कुराले त अझ मुखमा पानी आउँछ ।

झोल मःमले नेपाली जिब्रोलाई लट्ठ बनाएको छ । त्यसैले त सहरमा तात्तातो झोल मःम पस्कने रेस्टुरेन्ट चलायमान छन् । अनलाइनखबरले काठमाडौंका त्यस्तै सात रेस्टुरेन्टलाई सूचीकृत गरेको छ, जहाँ पाक्ने झोल मःमको स्वादले पारखीलाई सधैं लोभ्याउने गरेको छ ।

अकबरे झोल मःम, सुकेधारा

सम्पर्क : ९८४७६१८०५७

जाडोमा मीठो तातो झोल मःम खान चाहनेहरूले एक पटक पुग्नै पर्ने ठाउँ हो, अकबरे झोल मःम सुकेधारा । यहाँ बफ, चिकेन र भेज तीन प्रकारको झोल मःम पाइन्छ । पिरो खानेकुरा मन पराउनेले त झन् यहाँ पुग्नै पर्छ । झोल मःमको साथ अकबरे खुर्सानीको पेस्ट पनि यहाँ उपलब्ध गराइन्छ ।

अकबरेमा भेज झोल मःमको मूल्य १०० रुपैयाँ, बफको १४० रुपैयाँ र चिकेनको १६० रुपैयाँ पर्छ । २०७७ देखि सञ्चालनमा रहेको अकबरेको पुतलीसडक र सुकेधारा गरेर दुईवटा आउटलेट छन् । सस्तो मूल्यमा स्वादिलो झोल मःम यहाँको विशेषता हो । यहाँ पार्किङको पनि राम्रो व्यवस्था छ ।

स्माइल क्याफे एण्ड सेकुवा स्टेसन, बौद्ध

सम्पर्क ९८५११५६७९६

बौद्ध टुसालमा रहेको स्माइल क्याफे एण्ड सेकुवा स्टेसन झोल मःमको लागि अर्को लोकप्रिय ठाउँ हो । २०७८ मंसिरबाट सञ्चालनमा आएको यस रेस्टुरेन्टमा भेज, बफ र चिकेन झोल मःम पाइन्छ ।

एकपटक ७० देखि ७५ जना अट्ने क्षमता भएको स्माइलमा झोल मःमको साथै झानेको मःम पनि एकदमै लोकप्रिय छ । स्माइलले जाडो महिनालाई लक्षित गरेर स्पेसल झोलको व्यवस्था गरेको छ ।

स्माइलमा भेज झोल मःमको मूल्य २२० रुपैयाँ, बफको २४० रुपैयाँ र चिकेनको २५०  रुपैयाँ छ । यहाँ होम डेलिभरीको राम्रो व्यवस्था छ ।

पारिवारिक वातावरण र स्वादिलो झोल मःम यहाँको विशेषता हो । छोटो समयमा नै धेरैको रोजाइमा परेको यस रेस्टुरेन्टमा पार्किङको पनि व्यवस्था छ ।

मिस्टर मःम, सिनामंगल

सम्पर्क : ९८०११९३९२७

झोल मःमको लागि अर्को राम्रो विकल्प सिनामंगलमा रहेको मिस्टर मःम हो । यहाँ चिकेन, बफ र भेज झोल मःम पाइन्छ ।

झोल मःमको साथै यहाँको स्पाइसी कोथे र ट्याङ्गी मःम पनि यहाँको लोकप्रिय छ । अन्य भन्दा फरक स्वाद दिनको लागि एक वर्ष अनुसन्धान गरेर मात्र मिस्टर मःम सञ्चालनमा ल्याएको सञ्चालक बताउँछन् । मिस्टर मःममा होम डेलिभरीको पनि राम्रो व्यवस्था छ ।

यहाँ बफ झोल मःमको मूल्य २१० रुपैयाँ, चिकेनको २३० रुपैयाँ र भेजको १९० रुपैयाँ छ । एकपटकमा ४५ जना बसेर खान सक्ने क्षमता भएको यस रेस्टुरेन्ट सञ्चालन भएको तीन वर्ष पूरा भयो ।

अहिले सिनामंगलमा रहेको मिस्टर मःम माघ महिनाबाट आफ्नै बिल्डिङ नयाँ बानेश्वरमा सर्दैछ । जहाँ पार्किङको पनि राम्रो व्यवस्था हुनेछ ।

डल्ले मःम, कमलादी

सम्पर्क : ०१-४४११३०२

काठमाडौंको लोकप्रिय मःम सेन्टरमध्येको एक हो डल्ले मःम । यहाँको झोल मःम पनि त्यत्तिकै लोकप्रिय छ । डल्लेको काठमाडौं, पोखरा र बुटवलमा डल्लेको १२ वटा शाखा रहेको  छ ।

मसला मःम र सादा मःम दुई प्रकारको झोल मःम यहाँ पाइन्छ । डल्लेमा चिकेन झोल मःमको मूल्य ३५० रुपैयाँ, भेजको २६० र पोर्कको ३७५ रुपैयाँ पर्छ ।

११ वर्षदेखि सञ्चालनमा रहेको डल्लेको सफा र स्वादिलो खानेकुरा र पारिवारिक वातावरणले धेरैलाई लोभ्याउँछ । यहाँ पार्किङ र होम डेलिभरीको राम्रो व्यवस्था छ ।

साम्बाज झोल मःम, कीर्तिपुर

सम्पर्क : ९८६३४७९६०१

सस्तोमा मीठो झोल मःम खान चाहनेका लागि राम्रो विकल्प हो साम्बाज झोल मःम । कीर्तिपुर नयाँ बजारमा रहेको सम्बाजमा भेज झोल मःमको ९० रुपैयाँ, बफको ११० र चिकेनको १३० रुपैयाँ पर्छ ।

१५ देखि २० जनाको क्षमता भएको यस रेस्टुरेन्ट अष्ट्रेलियामा २०७२ मा सात वर्षअघि नै सञ्चालन भएको थियो । सञ्चालक नेपाल फर्केपछि कीर्तिपुरमा सञ्चालनमा आएको भने एक वर्ष पूरा हुँदैछ । ग्राहकलाई सस्तो मूल्यमा मीठो झोल मःम उपलब्ध गराउने उद्देश्यको साथ नेपाल फर्केर पनि सम्बाज झोल मःम सञ्चालन गरेको सञ्चालक बताउँछन् । पार्किङको राम्रो व्यवस्था भएको सम्बाजमा होम डेलिभरीको भने व्यवस्था छैन ।

ठूलो मःम, बौद्ध

सम्पर्क : ०१-४९१७२९४

काठमाडौंमा मीठो झोल मःम पाइने ठाउँ ठूलो मःमलाई पनि मानिन्छ । यहाँ चिकेन, भेज, बफ र पोर्क गरेर चार प्रकारको झोल मःम पाइन्छ । ठूलो र रेगुलर गरेर दुईवटा आकारको मःम यहाँ उपलब्ध छ ।

ठूलो मःममा बफ झोल मःमको मूल्य २७० रुपैयाँ, चिकेनको ३०० रुपैयाँ, पोर्कको ३३० रुपैयाँ र भेजको २४० रुपैयाँ पर्छ । यहाँ रेगुलर बफ झोल मःमको २०० रुपैयाँ, चिकेनको २३०, पोर्कको २४० र भेजको १७० रुपैयाँ हो ।

३५ देखि ४० जना क्षमताको यो रेस्टुरेन्ट १५ वर्षअघि खुलेको हो । बदाम र विशेष मसला राखेर बनाइएको झोलको स्वाद जिब्रोमै झुण्डिन्छ । यहाँ होम डेलिभरी र पार्किङको पनि राम्रो व्यवस्था छ ।

किङ मःम, बसुन्धारा 

सम्पर्क : ९८४७७८८८५०

झोल मःम पारखीहरूको लागि अर्को राम्रो विकल्प हो किङ मःम । यहाँ बफ झोल मःमको १७०, भेजको १५० र चिकेनको १९० रुपैयाँ पर्छ । २०७४ सालदेखि सञ्चालनमा रहेको किङ मःममा पाँच प्लेट मःम खाँदा एक प्लेट मःम निःशुल्क पाइन्छ ।

८० जनाको क्षमता भएको किङको विशेषता भनेको सस्तो मूल्यमा मीठो मःम हो । यहाँ होम डेलिभरी र पार्किङको पनि राम्रो व्यवस्था छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?