+
+

सित्तैंमा विश्वकप र कोला

बीएन जोशी बीएन जोशी
२०७९ पुष २ गते १८:५०

आधिकारिक रुपमा फुटबलको शुरुवात सन् १८७२ मा भएको मानिन्छ । स्कटल्याण्डको ग्लास्गोस्थित हामिल्टन क्रिकेट मैदानमा इङ्ल्याण्ड र स्कटल्याण्डबीच उक्त खेल भएको थियो । तर उक्त खेलमा कुनै गोल भने भएन । त्यसको ३२ वर्षपछि मात्र विश्व फुटबल महासंघको स्थापना भयो । विश्वका २११ राष्ट्र सम्मिलित यति विशाल संस्थागत महासंघ विरलै होला विश्वमा । ११८ वर्षको लामो इतिहास बोकेको फिफाको यसपटकको आयोजक कतार जस्तो विवादित सायद कहिल्यै बनेको थिएन । मौसमी चुनौती उस्तै थियो भने हिउँदमा प्रतियोगिता सार्दै गर्दा विश्वभर चलिरहेको चर्चित लामा लिगहरुलाई एक महिना थाती राखेर विश्वकप आयोजना गर्दैगर्दा फिफालाई समेत थप सकसको भारी बहन गर्नुपर्यो ।

विश्व मानचित्रमा पेनिन्सुला आकारको कतार अत्यन्तै सानो मुलुक हो । त्यहाँको गर्मी  मौसमको प्रतिकूलता उदेकलाग्दो हुन्छ । सोही माथि विभिन्न प्रकारका आर्थिक, सांस्कृतिक र राजनीतिक खिचातानीले गर्दा कतारले छिमेकका भाइ राष्ट्रहरुबाटै असहयोग र लामो समय नाकाबन्दीको सामना गर्नुपर्यो । तर पनि उसले हार मानेन । आन्तरिक तवरले आफ्नो गतिलाई चलायमान बनाइराखे ।

एसियन कप, एसियाड जस्ता ठूला प्रतियोगिता सफलताका साथ सम्पन्न गरिसकेको परिप्रेक्ष्यमा उसको नजर विश्वकप फुटबल र ओलम्पिक आयोजनामा जानु अस्वाभाविक थिएन । एसियन कपको मुख्यालय नै कतारको दोहामा छ । एसियन च्याम्पियनसिप फिफा अन्तर्गत कोपा अमेरिका पछिको दोस्रो पुरानो अन्तरमहादेशीय प्रतियोगिता हो । उसले सन् २०११ मा यस प्रतियोगिताको सफलतापूर्वक आयोजना सम्पन्न गरिसकेको छ भने आगामी संस्करण २०२३ को लागि निर्धारित आयोजक राण्ट्र समेत हो । उ यसको पछिल्लो संस्करणको बिजेता पनि हो । कतारले विश्वकपको आयोजना पाउँदै गर्दा उसको खेलकुदमोह र फुटबलप्रतिको विगतलाई स्मरण गर्नु उचित हुन्छ ।

लेखक जोशी अल अहली क्लबको रंगशालामा

धेरैलाई जानकारी नहुन सक्छ, सन् १९९५ अप्रिल १३ देखि २८ सम्म दोहाले फिफा वल्र्ड युथ (अण्डर २०) च्याम्पियनसिपको भब्य रुपमा आतिथ्य गरिसकेको थियो । त्यो पनि मात्र केही महिनाको अन्तरालमा अचानक आइलागेको आयोजना स्थलको प्रस्तावलाई सकारेर । उक्त प्रतियोगिता अन्तिम समयमा आएर नाइजेरियाले गराउन असमर्थता जनाएपछि नयाँ स्थलका रुपमा मध्यपूर्वको मसिनो मुलुक कतारले अप्रत्याशित तवरले पाएको थियो । उसले उक्त अवसरलाई भरपुर सदुपयोग गरेर आयोजनाको जग हालेको देखिन्छ । समग्रमा छोटो समयको तयारीका बाबजुत कतारले गरेको आयोजनालाई खासै खोट लाउने ठाउँ पाएनन् । प्रशंसा नै पाएको थियो । वसन्तका लागि हिउँदका दिन काट्नैपर्छ । कतारको अहिलेको तरक्की त्यसै हात लागेको होइन ।

संयोग भनौं, त्यतिखेरको मेरो उमेर पनि युवावय नै थियो । अर्थात् अण्डर २०, एकाध महिना मात्र भएको थियो म दोहामा पुगेको । अझ भनौं सन् १९९४ को विश्वकपको ज्वरोको मापन घटेको थिएन । नब्बेको दशकको सेरोफेरोमा चम्किएका डियागो म्याराडोना र रोबर्टो बाजियोको बजार विवादित र विस्तारित थियो । त्यस्तो परिवेशमा त्यति ठूलो प्रतियोगिता हुँदैछ भन्ने थाहा भएपछि मेरो दैनिकी फेरियो ।

उर्लदो मेरो उमेरका वसन्तले कतारमा केही पत्र फेरको छ । यसै पनि म एउटा फुच्चे साइकल चलाएर अपराह्नमा प्रायः दोहाका पुराना गल्लीहरुमा फन्का लाइरहन्थें । म बस्ने मत्तार कदिम (पुरानो एयरपोर्ट) बाट करिब एक किलोमिटरको दूरीमा अल अहली क्लब थियो । जुन कतारकै सबैभन्दा (सन् १९५०) पुरानो क्लब रहेछ । उक्त क्लब पछि गएर प्रतिपादन गरिए पनि हालसम्म जीवितमध्येको एकमात्र क्लब हो । उसको गृह मैदान हमाद बिन खलिफा थियो । जहाँ समूह चरणका खेलहरु भइरहेका हुन्थे । म अलमलमा पर्थें, रंगशालाभित्र छिरौं कि नछिरौं ? मेरो आर्थिक हैसियतले भ्याउने हो कि होइन ?

खेलस्थल बाहिर भारतीयहरुका केही खानेकुराका स्टल थिए । तिनीहरुसँगको संवादपछि थाहा भयो, सित्तैंमा खेल हेर्न पाइने रहेछ । अझ रमाइलो दृश्य त रंगशालाभित्र छिरेपछि पो देखियो । हिउँजस्ता सेता पोशाकमा रहेका अरबीक ठेट्ना युवाहरु प्यारापिटको बीचबीचमा रहेको कोकाकोलाका स्टलहरुबाट ठूलठूला कागजका गिलासमा कोकाकोला ओसारिरहेका थिए । म मन्द गतिमा नियाली रहेको थिएँ परको परिवेशलाई । अझ अलिक उक्त स्टलको समीप नगइरहन सकिन । कसैले पनि पकेटबाट पैसा झिकेको र दिएको देखिनँ । जो पनि आउँछन्, गिलास भरेर जान्छन् । यो कस्तो काइदा हो ?

सन्ध्याकालको सामान्य गर्मीमा सित्तैंमा चिसो कोक खान पाइने रहेछ । खेल पनि सित्तैंमा हेर्न पाइने । लौ दुई हप्ता रमाइलै समय बित्ने भो । कोठामा पुगेर केही साथीहरुलाई सुनाएँ । तर खासै पत्याएनन् । मेरो लगातार दुईतीन दिनको जाउआउ र बखानपछि भने समय अनुकूल हुने केही साथीहरु सन्ध्याकालको सुरुमा निरीक्षणको पारामा गए । पछि त क्याम्पमा रहेका नेपालीहरु मात्रै होइन थाई, फिलिपिनो, भारतीय, पाकिस्तानी, बंगलादेशी, सिरियन सबै दैनिकजसो धाउन थाले ।

प्रायजसो खेल दिउँसोको गर्मीका कारण साँझको पाँच बजेपछि मात्र हुने हुनाले श्रमिकहरुलाई खेल हेर्न सहज हुन्थ्यो । त्यतिमात्रै होइन, खेल सकिएपछि बाँकी रहेका कोकका जम्बो बोटलहरु नै दिएर पठाउँथे व्यवस्थापकहरु । सायद दर्शक बढाउने उत्तम तरिका अपनाएका थिए कि ? उक्त प्रतियोगिताको प्रमुख प्रायोजक नै कोकाकोला थियो ।

त्यतिबेला कतारको मूल जनसंख्या एक लाख पनि थिएन । विदेशी श्रमिकहरुको संख्या पनि अहिलेको जस्तो उल्लेख्य थिएन । तत्कालीन परिवेशमा न्युन जनसंख्याका बीच ठूला प्रतियोगिता गर्नु आफैमा चुनौती हो । कतारीहरुमा फुटबलमोह अत्यधिक देखिन्थ्यो । तर महिलाहरुमाथिको अघोषित प्रतिबन्धले महिला दर्शकको उपस्थिति शून्यप्रायः लाग्थ्यो । यसलाई बुर्काको प्रभाव मान्न सकिन्छ ।

अहिले चलिरहेको पुरुष विश्वकपमा पनि स्थानीय महिलाको सहभागिता खासै देखिँदैन । २७ वर्षअघि त झन् शिला खोज्नुपर्ने अवस्था थियो । जनसंख्या नै न्युन भएपछि रंगशालाको प्यारापिट भर्नका लागि वैकल्पिक उपाय अपनाउनु नौलो विषय थिएन ।

फिफा अण्डर २० च्याम्पियनसिप द्विवार्षिक रुपमा २० वर्ष मुनिका फिफाका सदस्य राष्ट्रहरुबीचमा गराइने मुख्य प्रतियोगितामा पर्छ । विश्वभर हुने यो प्रतियोगिताको शुरुवात सन् १९७७ मा ट्युनिसियाबाट प्रारम्भ भएको हो । यो प्रतियोगिता सर्वाधिक ६ पटक अर्जेन्टिनाले जितेको छ । कतार विश्व च्याम्पियनसिपमा विभिन्न ६ महादेशीय संगठनका १६ राष्ट्रको प्रतिनिधित्व रहेको थियो भने एसियाबाट आयोजक कतारसहित जापान र सिरियाले प्रतिस्पर्धा गरेका थिए । कुल ३२ खेल खेल्ने उक्त प्रतियोगिताका लागि जम्मा तीनवटा रंगशाला थिए । मात्र एउटा खलिफा अन्तर्राष्ट्रिय रंगशाला ठूलो (६५००० क्षमता) थियो । अरु दुई सामान्य किसिमका स्थानीय क्लबका रंगशाला थिए । सन् २००७ पछि भने फिफाले यस प्रतियोगिताको स्वरुपमा केही बदलावट ल्याएको पाइन्छ ।

त्यतिबेला दोहा सहर बनिसकेको थिएन । औंलामा गन्न सकिने अग्ला भवनहरु थिए । रमादा जक्सनको रमादा होटलबाट पश्चिम लाग्ने साल्वा रोड जुन साउदी अरब जाने प्रमुख मार्ग पनि हो । सोही बाटोको उत्तरी बेल्ट अल रायनमा पथ्र्यो खलिफा रंगशाला । मात्र उजाड मरुभूमिको बीचमा । वरपर निकै परसम्म कुनै भौतिक संरचना बनेका थिएनन् । त्यसैले रंगशालालाई मेनी माइलको दूरीबाट समेत सहजै ठम्याउन सकिन्थ्यो ।

समूह चरणका खेलहरु सकिएपछि भने मलगायतका लागि खेल हेर्न सकस भयो । खलिफा रंगशाला म बसेको ठाउँदेखि टाढा पथ्र्यो । नकआउट चरणका केही खेलहरु गुमाउन पुगेपनि फाइनलका लागि भने कम्पनीले केही बससहित श्रमिकहरुलाई खेल हेर्न जान व्यवस्थापन गरिदियो । धेरैजसो कम्पनीहरुले त्यसरी बससहितको श्रमिकहरु पठाएर रंगशालामा दर्शक भरिभराउ पारेका थिए ।

हुनसक्छ, कतार सरकारले नै कम्पनीहरुलाई उर्दी जारी गरेको हुँदो हो । खलिफा रंगशालाको आफ्नो पार्किङ मैदान मात्रै होइन, खुला मरुभूमिको यत्रतत्र सयौं सानाठूला बसहरुको लस्कर देखिन्थ्यो । अधिकजसो कम्पनीका बसहरु उस्तै पहेंला रंगका भएकाले खेल सकिएपछि आआफ्नो बस भेट्टाउन हम्मेहम्मे परेको अहिले पनि म सम्झिन्छु ।

प्रायःजसो नेपाली दर्शक अर्जेन्टिनाका समर्थक देखिन्थे । म्याराडोनाको प्रभाव जो थियो जगतभरी । नतिजा पनि अर्जेन्टिनाकै पक्षमा आयो । ब्राजिललाई दुई शून्यले पराजित ग¥यो । ऐतिहासिक फाइनल खेल प्रत्यक्ष हेर्न पाउनु त्यो पनि अर्जेन्टिना र ब्राजिल बीचको । साथमा सित्तैमा पिउन पाइने कोकाकोला ।

युवावयको उभारमा पुरापुर ६५ हजार दर्शकको भीडमा हराएर उफ्रनुको मज्जा नै बेग्लै । सायद कतारको मूल जनसंख्याभन्दा बेसी दर्शकलाई रंगशालामा उतारेर कतारले विश्वलाई दिएको सन्देश र संकेतको पृष्टि आज हुँदैछ । कसले सोचेको थियो र आज २७ वर्षपछि त्यही स्थलमा एउटा खेल हेर्नको लागि लाखसम्म खर्च गर्नुुपर्नेछ भनेर । त्यसैले भनिन्छ, इतिहास विश्वासको होइन, विश्लेषणको वस्तु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?