+
+
ब्लग :

खेलजस्तै जीवन

मेरो पक्षमा नतिजा छ नभनौं। नतिजा जहिले पनि बदलिन सक्ने चिज हो।

पुछार घरे  पुछार घरे 
२०७९ पुष २ गते १९:५७

कोही पूर्ण छैन। हरकोहीबाट अन्जानमा गल्ती हुन्छ। एक गल्तीकै कारण निराशावादी भने हुनुहुन्न। गल्तीबाट सिक्दै गल्ती दोहोर्‍याउनु हुन्न। गल्ती दोहोरिन थाले बानी पर्न सक्छ। क्रोएसियाली किपरको गल्ती (देखिएका) का कारण विपक्षी अर्जेन्टिनाले पेनाल्टी पायो, सेमिफाइनलमा। मेस्सीले पेनाल्टी हान्न पाउनु उनको आत्मविश्वास बढ्ने थप कारण बन्यो। गोल थपिएसँगै मेस्सीप्रतिको विश्वास थप बढ्यो। यही हौसलाले अर्जेन्टिनाका खेलाडीमा आत्मविश्वास बढ्यो। खेलमा खेलेर मात्रै होइन, सपोर्टरहरूको आवाज, खेल जित्छु भन्ने आत्मविश्वासका कारण पनि जितिन्छ।

गोल हुनुअघि क्रोएसियाको खुट्टामा रहेको बल एक गोल पश्चात् अर्जेन्टिनातर्फ मात्रै रह्यो। त्यसपछि क्रोएसियाको आत्मविश्वास गिर्दै गयो। यस्तो समय आयो कि क्याप्टेनले आफ्नै अनुहारमा आफैंले बल हाने। अन्तत: उनी खेलबाट बाहिरिए। अनेक सङ्केतले उनीहरू निराशावादी बने। कति मिहिनेतले डी एरिया कटाएर पनि बल हान्नै सकेनन्। कता कति हाने पनि धेरै बाहिर हाने। यस्ता हर्कतले उनीहरू भित्रैदेखि टुट्दै गए। यसले झन् विपक्षी अर्जेन्टिनाको आत्मविश्वास बढ्दै गयो।

यसैले भनिएको हो- कसैको आत्मविश्वास गिराउने काम तपाईं गर्दै हुनुहुन्छ कि नाइँ सचेत रहनुहोस्। तपाईंको मुहारको भाव, बोली, बोल्ने तरिका र सकारात्मक उपस्थितिले दोस्रोमा ऊर्जा मिल्न सक्छ। तपाईं एक जनाको आसमा अरू धेरैको आशा, भरोसा, सपना र भविष्य जोडिएको हुन्छ।

एउटा आशाले गेम हारिंदो रहेछ; पोर्चुगल साक्षी छ। हिजोको इतिहासप्रति गर्व, खेलिरहेको अनुभव र बढ्दै गएको आत्मविश्वासले साउदीले हराएको अर्जेन्टिना सेमिफाइनलबाट फाइनलमा छ। विश्वकपको दाबेदारमा छ। निरन्तरको आत्मविश्वास, मिहिनेत, सीप र इमानदारीका कारण मेस्सीले फाइनलसम्म पुर्‍याए।

जीवनको कुनै समय र कोणमा हरकोही कमजोर देखिन्छन्। देखिन सक्छन्, तर याद गर्नोस् साउदीसँग हारेको टिम फाइनलमा पुग्यो। दाबेदार बन्यो। एउटा कोणमा मान्छे कमजोर देखिनु नै जीवनको अन्त्य हैन। समय छँदासम्म प्रयास गर्नैपर्छ। यही विश्वकपमा २-० भएर ८९ मिनेटमा १ गोल गरेर अतिरिक्त समयमा गरेको गोलबाट १२० मिनेट बराबरी खेल खेलेको नेदरल्याण्ड पनि छ। यसैले मेरो पक्षमा नतिजा छ नभनौं। नतिजा जहिले पनि बदलिन सक्ने चिज हो।

जसरी १२० मिनेट खेल खेलेर पेनाल्टीमा पुगेर दर्शकको मन जित्न सफल भयो नेदरल्याण्ड, त्यसरी नै सम्बन्धमा पनि तपाईंले कमजोर देखेको व्यक्तिले नै जीवनको अन्त्यसम्म जीवन नामक बुटीको स्वाद चखाउन सक्छ। यसैले चाँडै हल्का भएर जज नगरौं।

अर्को, सबै गोल आफैंले मात्र हान्छु भनेनन् मेस्सीले। बरु आफूले कति मिहिनेत गरेर छक्काएर साथीलाई पास दिए, एसिस्ट गरे। उनी विपक्षीबाट घेरिएका थिए। साथीलाई पास दिंदा उनी अलिकति सजिलो समयमा थिए। साथीले निकै सजिलै गोल गरे।

जीवनमा सबै थोक मैले नै गर्छु, म नै सबथोक हो पनि नभन्नोस्। रोनाल्डो, मेस्सी, नेइमारहरूलाई पनि हर समय प्रशिक्षक चाहिएकै हुन्छ। तपाईंले एउटा रोल खेल्नोस्। अर्को नतिजाको लागि लड्नोस्। सम्बन्धमा होस् वा खेलमा जीवन एकअर्काको भरोसामा बाँचिन्छ।

नेदरल्याण्डसँग खेल्दा पहेंलो कार्ड पाएका खेलाडी हुन् मेस्सी। कहिलेकाहीं अलिकति साँध मिचिंदा पनि फरक पर्दैन। इमानदार हुँदाहुँदै कहिलेकाहीं गल्ती हुन्छ। काम गर्नेले गल्ती गर्छ। तर गल्ती महसुस गर्नुपर्छ र स्वीकार्नुपर्छ। तब मात्र लक्ष्यमा पुग्न सकिन्छ।

तर, एउटा नभएर पनि चल्छ भन्दा जीवन पोर्चुगल जस्तो पनि बन्छ। समय र प्रविधिमैत्री पनि हुनुहोस्। हिंडेर जाँदा गाडी भाडा त बच्छ तर गाडीमा जाँदा दुइटा सुन्दर लाइन पढ्न सकिन्छ। के थाहा त्यो लाइनले तपाईंको जीवनमा चमत्कार पो ल्याउँछ कि ! अनावश्यक कन्फिडेन्स र आपसी बेमेलका कारण बाहिरिनु पर्‍यो पोर्चुगल।

देशको हालत पनि उही छ। त्यसैले त हामी आपसी बेमेल सञ्जालभरि पोखेर दुनियाँ हसाउँछौं। घरको चाबी छिमेकीलाई नदिऊँ।

विश्वकपका लागि प्रचारप्रसार नेइमार, रोनाल्डो र मेस्सीको मात्रै गरियो। तर, अन्त्यसम्म बाँकी रहे केवल मेस्सी। ठूल्ठूला होर्डिङ बोर्डमा प्रचार नगरिएका एम्बाप्पे लगायत कैयौं खेलाडी र टिमले मन जित्ने खेल पनि त खेलेका छन्। मतलब तपाईं आँखामा परेको र बजारमा प्रचार भएको नै सही भन्नेबाट पनि टाढा रहनोस्। मेस्सीले पनि पहेंलो कार्ड पाए तर खेललाई जिताउन उनको कति ठूलो योगदान छ बुझौं।

एम्बाप्पेले त खेल समाप्ति पछि विपक्षी टिमको कप्तानसँगै टिसर्ट साटे। अङ्गालोमा बेरे। खेल खेल्दा पो पक्ष र विपक्ष थिए त, अन्ततः उनीहरू खेलाडी हुन्। हामी पनि कुनै विषयमाथि बहस गर्छौं, विवाद गर्छौं, विपक्षी मत राख्छौं, फरक मत राख्छौं भने त्यो सदाका लागि दुश्मन बन्न गरिएको हैन। विषयको समाप्तिपछि त हामी सामान्य दैनिकी सम्बन्धका खास मान्छे हौं।

तर, अचेल अलिकति फरक मत राख्ने बित्तिकै ऊ खराब र खत्तम हो भनेर सम्बन्ध पनि खराब भयो भन्दै भाग्नेहरू पनि छौं।

कोहीसँग भेट हुन्छ वा संवाद सुरु हुन्छ, सकारात्मक कुरा गरौं। त्यस्तो प्रतिक्रिया दिनुहोस्, जसका कारण हौसला बढोस्। के छ खबर भनेर सोध्दा जतिबेला पनि तनाव छ, हैरान छ, गर्न सकिनँ नभन्नोस्। भन्नोस् तर समाधान खोज्न सक्ने गरी सल्लाह पाउने गरी भन्नोस्।

जब क्रोएसियाका गोलरक्षकको आत्मविश्वास कमजोर भयो, यो कुरा उनको अनुहारले बतायो। तब साथीहरू हुन् या उनले हिजोका दिनमा जस्तो प्रदर्शन गर्न सकेनन्। भन्न त हामीले भनेकै हो- क्रोएसियाको किप्पर खतरा छ। हेर्नोस् त सन् २०१८ को दाबेदार टिम क्रोएसिया यसपटक सेमिफाइनलबाटै बाहिरियो।

सम्बन्धमा पनि कहिलेकाहीं यस्तो हुन सक्छ; विश्वास गरिएको व्यक्तिले भूमिका निर्वाह गर्न नसक्न सक्छ। आखिर जीवन पनि एउटा खेल रहेछ र खेल पनि एकप्रकारको जीवन।

(कतारबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?