+
+

समाजवादी मोर्चा : देउवालाई दबावमा राख्ने प्रचण्ड जुक्ति

रामकुमार डिसी रामकुमार डिसी
२०७९ पुष ३ गते २०:२२

३ पुस, काठमाडौं । चुनावलाई प्रभावित पार्ने उद्देश्यसहित माओवादी केन्द्र र एकीकृत समाजवादीले ‘समाजवादी केन्द्र’ बनाउन चाहेका थिए ।

त्यसमा जनता समाजवादी पार्टीबाट अलग हुने तयारीमा रहेका डा. बाबुराम भट्टराई समेत मिसिएका थिए । उनले समाजवादी जोडेर ‘नेपाल समाजवादी पार्टी’ बनाएका थिए ।

समाजवादी केन्द्र बनाउन सहमत भएका नेताहरुमा ‘नेकपा’ जोड्ने कि नजोड्ने भन्ने बिषय टुृंगिन बाँकी थियो । कम्युनिष्ट विचारधारा त्यागिसकेका भट्टराई नेकपा थप्न तयार थिएनन्, प्रचण्ड र माधव नेपाल छाड्ने पक्षमा भएनन् ।

माओवादी र एकीकृत समाजवादीले भने पार्टी एकता संयोजन समिति बनाउने निर्णय नै गरेका थिए । भट्टराई नेतृत्वको नेपाल समाजवादीले चुनावपछि एकतामा जाने निर्णय गर्दै माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव लड्ने निर्णय गरेको थियो । तर एकीकृत समाजवादीमा विद्रोहको सम्भावनासमेत देखिएपछि चुनावपछि छलफल गर्ने भन्दै शीर्ष नेताहरु रोकिए ।

चुनावी नतिजापछि भने समाजवादी केन्द्र बनाउन स्वयं उनीहरु नै इच्छुक देखिएनन् । एकीकृत समाजवादीमा माओवादीसँग एकता गर्न नहुने मत बलियो भन्दै गएको छ । पार्टीभित्रको मतलाई मध्यनजर गर्दै अध्यक्ष नेपाल पनि यसलाई धेरै चर्काउने पक्षमा छैनन् । माओवादी केन्द्रसँग आफूहरुको सैद्दान्तिक बिमति रहेको भन्दै उनले एकताका लागि हतार गर्न नहुने बताएका थिए ।

नेसपाका अध्यक्ष भट्टराई पनि तत्काल माओवादी केन्द्रसँग एकता गरिहाल्ने पक्षमा देखिदैनन् । स्रोतका अनुसार पार्टी एकता गरौं भन्ने प्रचण्डको प्रस्तावमा भट्टराईले कूटनीतिक जवाफ दिँदै हतारो गर्न नहुने बताएका थिए ।

समाजवादी केन्द्र बन्ने अवस्था नदेखिएपछि प्रचण्डले यसलाई फरक रुपमा अगाडि बढाउने प्रस्ताव गरेका छन् । एमाले बाहेकका दललाई समेटेर मोर्चा बनाउने उनको प्रस्ताव छ । माओवादी उपमहासचिव हरिबोल गजुरेलका अनुसार प्रचण्डले तत्काललाई ‘लुज फोरम’का रुपमा समाजवादी मोर्चा बनाउने प्रस्ताव गरेका हुन् ।

सचिव डिलाराम आचार्यका अनुसार समाजवादी केन्द्र भन्दा मोर्चामा धेरै शक्ति अटाउन सकिन्छ । मोर्चामा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल समाजवादीका अलवा अन्य शक्तिलाई पनि ल्याउने प्रयासमा हुनेछ । जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, बामदेव गौतम नेतृत्वको एकता अभियान र प्रभु साह लगायतलाई समेत जोड्ने प्रयास हुनेछ । ‘हाम्रो प्रयास यसमा सबैलाई जोड्ने हुन्छ,’ आचार्यले भने, ‘हेरौं, यो कत्तिको सफल हुन्छ ।’

मोर्चा बनाउने प्रचण्डको प्रस्तावलाई कतिपयले शक्ति सञ्चयको प्रयासका रुपमा अथ्र्याएका छन् । प्रचण्डले पहिलो कार्यकाल प्रधानमन्त्रीको दाबी गरेका छन्, तर माओवादीसँग जम्मा ३२ सांसद छ । सरकार गठनका लागि चाहिने बहुमत (१३८) मा आफ्नो पार्टी निर्णायक नहुने देखेका प्रचण्डले मोर्चा बनाउने र करिव ६० सिट बनाउन खोजेका हुन् ।

उनी स्वयंले त्यसको छनक दिएका छन् । ‘सरकारमा आलोपालो हुने भन्ने कुरा स्पष्ट छ,’ २५ मंसिरको एक कार्यक्रममा प्रचण्डले भनेका थिए, ‘६० सिटको कमान्ड गर्ने स्थिति माओवादीसँग छ । हामी जहाँ उभिएका छौं सरकार त्यही बन्छ ।’

प्रचण्डले भनेको ६० सिटमा माओवादीका साथै एकीकृत समाजवादी (१०), जसपा (१२), जनमत पार्टी (६), नागरिक उन्मुक्ति पार्टी (४) र प्रभु साह समूह (२) पर्छ । यही ६० सिट देखाएर प्रचण्डले कांग्रेसलाई पनि दबावमा राख्न चाहेको नेताहरु बताउँछन् ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?