+
+

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मनोनयन दर्ता, शुल्क ५१ हजार

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते ९:०७

५ पुस, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मंगलबार मनोनयन दर्ता हुँदैछ । मतदान भने बुधबार बिहान हुनेछ ।

दलको नेता चयन गर्न भोलि (बुधबार) हुने मतदानका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहेको नेपाली कांग्रेसले जनाएको छ ।

उम्मेदवारलाई मनोनयन दर्ता शुल्क ५१ हजार रुपैयाँ तोकिएको निर्वाचन समिति संयोजक भिष्मराज आङदम्बेले जानकारी दिए ।

संसदीय दलको नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, डा. शेखर कोइराला लगायत दावेदार छन् । थापा र कोइराला पक्षबीच साझा उम्मेदवार कायम गर्ने विषयमा छलफल जारी छ ।

मनोनयन दर्तापछि उम्मेदवारको प्रथम नामावली मंगलबार अपराह्न साढे ३ बजे प्रकाशन हुनेछ । त्यसमा दाबी विरोधका लागि साढे ३ देखि ४ बजेसम्मको समय निर्धारण गरिएको छ ।

दाबी विरोधमा जाँचबुझ गरी उम्मेदवारको दोस्रो नामावली प्रकाशन साढे ४ बजे हुने छ । उम्मेदवारको नाम फिर्ता लिने समय साढे ४ बजेदेखि साढे ५ बजेसम्मको समय तोकिएको छ ।

त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंगलबार बेलुकी पौने ६ बजे हुने कार्यतालिका निर्धारण गरिएको छ ।

मतदान भने भोलि बुधबार बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको छ । मतदान कांग्रेस संसदीय दलको कार्यालय सिंहरदरबारमा हुने छ । मतदाताहरुलाई आफू सांसद पदमा निर्वाचित भएको प्रमाणपत्रसहित उपस्थित हुन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?