+
+

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

सुनैना देवजु सुनैना देवजु
२०७९ पुष ५ गते १३:४८

६ वर्षसम्मका बालबच्चाको लागि सबैभन्दा ठूलो पाठशाला हो, आफ्नै घर । आफू हुर्केको परिवेश, आफ्ना आमाबुवा, परिवारका सदस्य, घरको चालचलनबाट उनीहरु यस्ता कुराहरु अनुसरण गरिरहेका हुन्छन्, जसको प्रभाव जीवनभर रहन्छ ।

मानसिक एवं भावनात्मक विकासको यो तीब्र चरण हो । यस उमेर–चरणमा उनीहरुले देखेका, भोगेका, सुनेका, अनुभव गरेका कुराले उनीहरुको धारणा एवं मनस्थिती निर्माण गर्छ । अन्ततः त्यही कुरा नै उनीहरुको आनीबानी बन्न पुग्छ ।

त्यसैले यो उमेर चरणमा बालबच्चालाई यस्तो कुरामा अभ्यस्त गराउनुपर्ने हुन्छ, जसले उनीहरुलाई जीवनभर स्वस्थ आचरण पालना गर्न सहयोग गरोस् ।

सुत्ने र उठ्ने समय निश्चित

अहिले बालबच्चाको सुत्ने र उठ्ने ठेगान हुन्न । राती अबेरसम्म मोवाइलमा झ्याम्मिने, टिभी हेर्ने, गेम खेल्ने प्रवृत्ति हुन्छ । आमाबुवाले पनि छोराछोरीलाई भुलाउन वा खुसी बनाउन यस्तै कुरामा छुट दिने गरेका छन् । नतिजा, बालबच्चाको सुत्ने र उठ्ने तालिका भताभुंग भएको छ ।

मध्यरातसम्म बस्ने, बिहान अवेरसम्म सुत्ने बानी बस्न थालेको छ । यो उमेरमा नै सुत्ने र उठ्ने तालिका बिग्रिएपछि त्यसले जीवनभर असर गर्छ । त्यसैले यतिबेला नै उनीहरुलाई ठीक समयमा सुताउने र उठाउने बानी गर्नुपर्छ । सामान्यत राती ९ बजेसम्म बच्चालाई सुत्न प्रेरित गर्नु जरुरी छ भने बिहान ६ बजेसम्म उठ्न ।

खाना आफै खान लगाउने

प्राय हामीलाई के लाग्छ भने साना बालबच्चाले खान जान्दैनन् । खाना खाँदा छर्ने, जुठो बनाउने गर्छ । भरपेट खाँदैनन् । खानेकुरा खाँदा खाँदै चिसो हुन्छ । यही कारण हामी आफै उनीहरुलाई खुवाउन अग्रसर हुन्छौं ।

तर, यसरी उनीहरुलाई खाना खुवाउने बानी राम्रो होइन । उनीहरु आफैलाई खान दिनुपर्छ । सुरुमा जुठो बनाउने, छर्ने, राम्ररी नखाने हुनसक्छ । तर, क्रमस उनीहरु अभ्यस्त हुन्छन् ।

आफ्नो खेलौना आफैं मिलाउन दिने

बालबच्चाले खेलौना खेल्छन् र त्यही छरपस्ट पार्ने गर्छन् । यसरी जथाभावी छाडेको खेलौना फेरी मिलाउने गर्दैनन् । किनभने यस्तो काम बुवाआमाले नै गरिदिन्छन् । तर, यो गलत अभ्यास हो ।

बालबच्चाले कुनैपनि खेलौना खेलिसकेपछि पुनः मिलाएर राख्न सिकाउनुपर्छ । यो एकै पटकमा त संभव हुँदैन । तर, पटक पटकको अभ्यासपछि उनीहरुले आफ्नो खेलौना खेलिसकेपछि आफै मिलाएर राख्न सक्छन् । यसले उनीहरुलाई काम गर्ने बानी बस्छ भने कुनैपनि सामाग्री जतन गर्नुपर्छ भन्ने पनि सिक्छन् ।

ब्रस गर्न र हात धुन

यही उमेरभित्र बालबच्चालाई शारीरिक सरसफाईमा अभ्यस्त बनाउनुपर्छ । खासगरी हात धुन, खाना खाइसकेपछि दाँत ब्रस गर्न सिकाउनैपर्छ ।

बालबच्चाले कुनैपनि खानेकुरा भेटेपछि खान थाल्छन् । त्यसअघि हात धुनुपर्छ भन्ने ज्ञान हुँदैन । यो सामान्य लाग्ने कुरा हो तर उत्तिकै महत्वपूर्ण पनि ।

सागसब्जी र फलफूल खुवाउन

जति जति बच्चा हुर्कदै जान्छन् उनीहरु खानेकुरामा झगडा गर्न थाल्छन् । धेरैजसो बच्चा जंकफूड वा तारेको, भुटेको खानेकुरा मात्र खान रुचाउँछन् । सागसब्जी खान मान्दैनन् । खानामा सागसब्जी प¥यो भने झगडा गर्न थाल्छन् ।

जबकि यही उमेरमा नै हो उनीहरुलाई राम्रो खानपानमा बानी पार्ने । त्यसैले उनीहरुको खानामा सागसब्जी सामेल गर्नैपर्छ । यस्तो खानेकुरा सजिलै खान त मान्दैनन् तर पटक पटक प्रयास गरेर उनीहरुमा बानी पार्न सकिन्छ ।

नाच्न, गाउन र खेल्न सिकाउने

यो उमेरमा उनीहरुलाई नाच्न, गाउन, चित्र बनाउन, खेल खेल्न प्रेरित गर्नुपर्छ । यतिबेला उनीहरुलाई कुनैपनि नयाँ कुरा अभ्यास गर्न लाज लाग्दैन । त्यसैले सजिलै नयाँ कुरा उत्सुक हुन्छन् । ६ वर्षभन्दा कम उमेरका बच्चालाई अतिरिक्त गतिविधिमा सक्रिय बन्न प्रेरित गरेमा उनीहरुमा कला एवं सिर्जनशिल क्षमता विकास हुन्छ । महत्वपूर्ण कुरा त के भने यसले उनीहरुमा आत्मविश्वास बढ्छ ।

मनिषा थापासँगको कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?