 
																			५ पुस, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजान कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प नरहेको बताएका छन् ।
मंगलवार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका उपसभापति खड्काले पार्टीमा पुस्तान्तरण अुदै जाने धारणा राखे ।
‘आगामी दिनमा पुस्तान्तरण र नेतृत्व परिवर्तन हुनेछ । अरु नेतामा क्षमता नै छैन भन्ने होइन, जनतालाई आवश्यक नेतृत्व दिनसक्ने क्षमता देउवाजी नै हुनुहुन्छ । युवाहरुलाई म त भन्छु अझै संसदीय दलको नेता देउवाजीलाई सर्वसम्मत बनाऔं’ उनले भने ।
उपसभापति खड्काले कांग्रेस, माओवादी, समाजवादी, नेकपा एमालेसहितलाई जोडेर साथमै सहमतिबाट सरकार निर्माण गर्नका लागि प्रधानमन्त्री देउवा नै अहिलेको उचित विकल्प भएको बताए । उनले प्रतिपक्ष एमालेलाई समेत साथमा लिएर जाने क्षमता, अनुभव प्रधानमन्त्री देउवासँग मात्रै रहेको भन्दै अहिलेको अवस्थामा नेतृत्वमा देउवाको विकल्प खोज्नु नहुने धारणा राखे ।
‘द्वन्द्वका घाउहरु मेटाउँदै मुलुकलाई स्थायी शान्तिमा लैजानु छ । त्यसका लागि काँग्रेस, माओवादी, समाजवादी, नेकपा एमाले सहितलाई जोडेर अहिलेको सरकार निर्माण गरेर प्रतिपक्ष एमालेलाई समेत साथमा लिएर जाने क्षमता, अनुभव सबै खालको मिलाउनसक्ने कला सबै कारणले अहिलेका आवश्यक पार्टीका सभापति शेरबहादुर देउवा नै हुनुहुन्छ’ उनले भने ।
उपसभापति खड्काले अहिलेको गठबन्धन निरन्तर अघि बढ्ने र गठबन्धनकै नेतृत्वमा सरकार बन्ने दाबी गरे ।
नेपाली कांग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन् । देउवाको प्रस्तावकमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल छन् भने समर्थकमा पूर्णबहादुर खड्का छन् । महामन्त्री थापाको प्रस्तावकमा भने डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महमन्त्री विश्वप्रकाश शर्मा, नेता प्रदीप पौडेल छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4