+
+

बाबुबाजे जीवनभर कमैया, छोराछोरी पनि जमिनकै लडाइँमा

जीवनभर कमैया बसेका दाङसहित पश्चिम तराईका थारु समुदायले जमिनका लागि गरेको संघर्ष मुक्तिपछि पनि टुंगिएको छैन ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ पुष ६ गते १६:०३

६ पुस, दाङ । दाङ देउखुरीको पूर्वपश्चिम राजमार्गबाट करिब डेढ सय मिटर भित्र छिरेपछि पुगिन्छ, राप्ती गाउँपालिका–३ स्थित मुक्त कमैया बस्ती ।

मंसिरको दोस्रो साताको एक दिउँसो बस्ती सनुसान थियो । खरले छाएका अधिकांश छाप्राहरुमा ताला झुण्डिएका थिए । बस्तीमा अगाडि बढ्दै जाँदा भेटिए ५० वर्षका धनीराम चौधरी । २०६२ सालदेखि यही बस्तीमा रहेका उनले धेरै पुरुषहरु कमाउन खाडी मुलुक र भारततिर जाने गरेको सुनाए ।

‘गाउँमा खेतीकिसानी गर्न कसैका जग्गा जमिन छैन, सबै भूमिहीन छन्’ उनले भने, ‘गाउँमा अहिले पुरुषहरु भेटिन मुश्किल पर्छ । केही उपाय नलागेपछि सबै ज्याला मजदुरी गर्न बाहिर गएका छन् ।’ त्यसपछि धनीरामले कसरी आफूहरु वर्षाैदेखि भूमिहीन हुनु परेको भन्ने कुराको बेलीविस्तार लगाए ।

000

दाङसहित पश्चिम तराईमा जमिन्दारका घरमा कमैया राख्ने प्रचलन थियो । धनीरामका बाबु भागीराम चौधरी पनि खेतीपाती गर्नलाई आफ्नो जमिन नभएपछि जमिन्दारको घरमा ३० वर्ष कमैया बसे । उनका बाबुसँगै दाई हुलराम चौधरी २५ वर्ष र भाइ मणिराम चौधरी पनि ५ वर्ष कमैया बसे । धनीराम भने ९ महिनामात्र कमैया जीवन बिताए । कमैया बस्दाका दुःखहरु सम्झेर उनी भारतिर छिरे ।

कमैया बस्दा जमिनदारको खेतबारीमा वर्षैभरि खटिनुपर्‍यो। अन्नबाली उब्जाउनु पर्थ्यो । त्यसबापत उनीहरुले वर्षमा ५ क्वीन्टल धान मात्र पाउँथे । अरु सबै अन्नबाली जमिन्दारको हुन्थ्यो । वर्षभरि खेतमा जोतिँदा पनि खान पुग्दैनथ्यो ।

२०५७ सालमा सरकारले कमैया मुक्ति घोषणापछि धनीरामको परिवारले पनि मुक्ति पायो । तर साहुको घरमा कमैया बसेर फर्कदा उनीहरुसँग आफ्नो भन्ने केही थिएन । ‘साहुका घरमा कमैया बसेर फर्किदा केही नाई’ धनीरामले भूमिहीन हुनुको कथा सुनाए, ‘कहाँ जाने, के खाने, समस्या भयो ।’

कमैया मुक्तिपछि धनीरामको परिवार बासस्थान खोज्दै राप्ती गाउँपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ आएर बस्न थाल्यो । कालान्तरमा धनीरामजस्तै मुक्त कमैयाका परिवार यही ठाउँमा आएर बस्ती बसाए ।

सुरुमा सरकारले कमैया मुक्तिपछि जग्गाको लालपूर्जा दिने आशमा धनीरामको परिवार यहाँ आएर बसेको थियो । नेताहरुले पनि लालपूर्जा दिने सपना खुब बाँडेका थिए । यही आशमा थुप्रै वर्षहरु बिते । तर उनीहरुले अहिलेसम्म लालपूर्जा पाएका छैनन् ।

‘लालपूर्जा पाइने आशमा बाबु बिते, २५ वर्ष कमैया बसेका मेरा दाजुले पनि लालपूर्जा पाएका छैनन्’ उनले भने । बाबुले पाउन नसके पनि आफूले त लालपूर्जा नपाए कसो नपाउला भन्ने आशमा बसेका उनलाई आश लाग्न छाडिसकेको छ ।

जमिनको लागि धनीरामका बाबुले गरेको संघर्ष आज उनको सन्तानसम्म आइपुग्दा पनि टुंगिएको छैन । ‘बाबु र मेरो पुस्ता भूमिहीन भएर बित्यो’ हुर्कदै गरेकी छोरी हेर्दै उनले भने, ‘अब त सन्तान पनि भूमिहीन हुने हुन् कि भन्ने चिन्ताले सताउन थालेको छ ।’

धनीरामले बुझेका छन्, लालपूर्जा नहुनु भनेको आफूले टेक्ने जमिनको स्वामित्व आफैंसँग नहुनु हो । जोसँग टेक्ने आफ्नो जमिन हुँदैन उसँग केही हुँदैन । यहीकारण उनी आफ्नो सन्तति भूमिहीन हुन नपरोस् भन्ने चाहन्छन् ।

‘आफ्नो जमिन भएको भए केही गर्न हुन्थ्यो । व्यापार गरिन्थ्यो होला । केही नभए खेती किसानी गरेर बसिन्थ्यो’ उनले भने, ‘जमिन नै नभएपछि के गरी खाने ?’ उनी अहिले ज्याला मजदुरी गरेर घरपरिवार चलाइरहेका छन् । तर त्यतिले पनि पुगेको छैन । त्यसैले अब उनी गाउँका अन्य पुरुषझैं भारत जाने सोचमा छन् ।

धनीरामको जस्तै नियती छ मुक्त कमैया बस्तीका ९२ घर परिवारको हो ।

सरकारले २०५७ सालमा कमैया मुक्तिको घोषण गरेपनि पुनः स्थापनाको योजनाहरु ल्याएन । फलतः दाङ, बाँके बर्दियासहित पश्चिम तराईमा मुक्तिको घोषणापछि पनि पूर्वकमैयाको जीवनस्तर दयनीय छ ।

बस्तीकै ४१ वर्षीया सावित्रा चौधरीका बाबु जीवनभर साहुको घरमा कमैया बसे । सावित्रा आफै पनि १५ वर्ष कमलरी बसिन् । ७ वर्षको उमेरमा कमलरी बसेकी उनले पढन्, लेख्न पाइनन् ।

सावित्राका ससुरा पनि उनका बाबुझैं कमैया बसेका थिए । कमैया मुक्तिपछि उनी पनि भूमिहीन भए । सावित्रा र उनका श्रीमान् पनि भूमिहीन जीवन बाँचिरहेका छन् ।

उनी श्रीमानसँग यो बस्तीमा बस्न थालेको एक दशक भन्दा बढी भइसकेको छ । गाउँमा केही उपाय नलागेपछि उनका श्रीमान् कमाउन विदेश गएका छन् । ‘हिजो हाम्रा बाबु पनि भूमिहीन थिए, हामी पनि भूमिहीन नै छौं’, उनी भन्छिन्, ‘जमिनदारबाट मुक्ति पाए पनि हाम्रा दुःख सकिएनन् ।’

मुक्ति पश्चात उनले बासस्थानका लागि जमिनको माग राख्दै पटक पटक आन्दोलन गरिन् । नारा लगाइन्, ज्ञापन पत्र बुझाइन् । जमिनका लागि गरेको उनको लडाईं अझै जारी छ ।

आफ्नै जमिन नहुँदा उनले भोगेको समस्या त छदैछ, त्यो भन्दा बढी आफ्ना सन्तति पनि भूमिहीन हुन्छन् कि भन्ने कुराले उनको मन पोल्ने गर्छ । ‘हाम्रो बाबु र हाम्रो जीवन यत्तिकै बित्यो’ सावित्रा भन्छिन्, ‘सन्तान पनि भूमिहीन हुन्छन् कि भन्ने पीरले मन खाइरहन्छ ।’

यो बस्तीमा भने लालपूर्जा सधैं राजनीतिक मुद्दा बन्ने गर्छ । चुनावका मुखमा र विभिन्न बहानामा यो बस्तीमा जमिन दिने सपना बाँडिन्छन् । तर यही आशामा यो बस्तीमा तीनव पुस्ता नै भूमिहीन हुने अवस्था आइसक्यो । ‘जो आउँछ लालपूर्जाको सपना बाँड्छ’, लामो सुस्सेरा काढ्दै सावित्राले भनिन्, ‘अब त सपना देख्न पनि छोडिसक्यौं ।’

       000

४० वर्ष कमैया बसेका ६४ वर्षका हुलराम चौधरी पनि भूमिहीन छन् । ‘साहुका घरमा बस्दा पनि जमिन थिएन, अहिले पनि छैन’ उनी भन्छन् ।

बस्तीमा आउने नेतादेखि सरकारी कर्मचारी सबैलाई उनले बस्नलाई जमिन देऊ भनेर बिन्ती बिसाए । बदलामा आश्वासनमात्र पाए । जीवनभर संघर्ष गर्दा पनि उनले आफ्नो नामको जमिन पाउन सकेनन् । ‘उमेर जति सबै गइसक्यो’ उनले भने, ‘नेताहरु अझै झुक्याउन छोड्दैनन् । जमिन दिने आश देखाइरहन्छन् ।’

लालपूर्जाको माग गरिरहेका यो बस्तीका वासिन्दालाई पछिल्लो समय बस्ती नै उठ्ने डरले सताउन थालेको छ । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रमा सारेपछि नजिकैको यो बस्ती उठाउने त होइन भन्ने त्रास थपिएको हो ।

४१ वर्षकी सुमित्रा चौधरी बस्ती नै उठाउन लागेको कुरा सुन्दा डर लागेको बताउँछिन् । ‘यहाँ बसेको वर्षौँ भइसक्यो । जमिनको पुर्जा पाउने बेला बस्तीबाट उठाउने कुराले दिनरात सताउँछ’ उनले भनिन् । अहिले बस्तीमा आउने नेताहरुलाई यहाँका वासिन्दाले लालपूर्जाको साटो बस्ती नउठाउन आग्रह गर्ने गरेका छन् ।

मुक्त कमैया समाजका अनुसार दाङमा ४ हजार ८११ मुक्त कमैया छन्। तीमध्ये १ हजार ४२६ जनाले मात्रै परिचययपत्र पाएका छन् भने बाँकी ३ हजार ३८५ जनाले पाएका छैनन् । मुक्त कमैया समाजका जिल्ला अध्यक्ष हरिशचन्द्र चौधरीले परिचयपत्र पाएकामध्ये पनि ७०५ जनाले मात्रै जग्गाधनी पूर्जा पाएको बताए । त्यसमध्ये १७ जनाले पूर्जा पाए पनि जग्गा पाएका छैनन् ।

बेरोजगारीले बस्तीमा सन्नाटा

मुक्त कमैया बस्तीका वासिन्दाले आफ्नै जमिन नहुँदा खेतीपाती र व्यवसाय गर्न पाएका छैनन् । गाउँमा रोजागरी केही मेलो नभेट्टाएपछि गाउँका प्रायःजसो पुरुष ज्याला मजदुरी गर्न भारतदेखि खाडीसम्म जाने गरेका छन् । केही भने बुटवल, दाङ, स्याङ्जासम्म मजदुरी गर्न पुगेका छन् ।

स्थानीय युवा जगन चौधरीले भने, ‘पुरुष विदेशिएपछि महिलाहरु खेतबारी जान्छन्, दिनभर बस्ती सुनसान हुन्छ ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका दाङ संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?