+
+

नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते १४:२७

७ पुस, पोखरा । पोखरास्थित फेवातालको किनारमा नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण सुरु भएको छ । बुकवर्म फाउन्डेसनले गर्र्दै आएको साहित्यिक महोत्सव पुस ११ गतेसम्म चल्नेछ ।

महोत्सवको उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले लिटरेचर फेस्टिभलले पोखराको प्रर्वद्धनमा ठूलो भूमिका खेलेको बताए । उनले फेस्टिभललाई सफल बनाउन पोखरेलीले पनि अपनत्व लिनुपर्ने सुझाव दिए ।

सन् २०११ मा काठमाडौंबाट सुरु भएको नेपाल लिटरेचर फेस्टिभल सन् २०१६ देखि पोखरामा आयोजना हुन थालेको हो । महोत्सवलाई पोखरा ल्याउन तत्कालीन नेकपा एमाले तथा पूर्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीले अगुवाइ गरेको मेयर आचार्यले सम्झिए ।

‘काठमाडौंमा हुने फेस्टिभलमा हामी पनि सहभागी हुन्थ्यौं । त्यति नै बेला पोखरा ल्याउन रवीन्द्रजीले झलक सुवेदी र मसँग पोखरा लैजाँदा कस्तो हुन्छ भनेर सोध्नुभएको थियो,’ मेयर आचार्यले सम्झिए, ‘पछि पोखरा आयो । बीचमा पोखराले कति आत्मसात गर्‍यौं, गरेनौं समीक्षा गर्नैपर्ला । पोखराले यो दुर्लभ अवसर पाएको छ । यसमा गर्व गर्नुपर्छ ।’

मेयर आचार्यले हाल नेपाली समाज विखण्डनको बाटोमा गइरहेको र त्यसलाई सही मार्गमा लैजान पनि महोत्सव सफल हुनुपर्ने बताए ।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले बुकवर्मसँग सहकार्य गरेर प्राज्ञिक बहसमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । उनले गण्डकी थुप्रै प्रतिभाको जन्म भएको ठाउँ भएकाले त्यसलाई अगाडि बढाउन हातेमालो गरेर अगाडि बढ्ने सुनाए ।

कुलपति बिखर्चीले स्रष्टालाई तेस्रो दर्जाको नागरिक सोच्नु नहुने बताए । उनले नेपाल प्रज्ञा प्रतिष्ठानबारे नराम्रो कुराहरु बाहिर आइरहेकाले त्यसलाई सुधार्नुपर्ने सुझाव दिए ।

लेखक शिवानीसिंह थारुले संयोगवश २०११ मा पहिलो लिटरेचर फेस्टिभल उद्घाटन सहजीकरण गर्ने मौका पाएको बताइन् । ‘सुरुमा लिटरेचर फेस्टिभल हुँदा पुस्तक मेला हुन्थे, साहित्यिक महोत्सव हुन्थेनन् । तर, अहिले संस्कृतिको रुप लिएको छ । विस्तारै संस्कार बढाउँदैछ’, उनले भनिन् ।

कार्यक्रमका निर्देशक निरज भारीले फेस्टिभलको दशौं संस्करणसम्म पोखरा ल्याउन ठूलो भूमिका खेल्ने पूर्व पर्यटनमन्त्री स्व. रवीन्द्र अधिकारीलाई सम्झिए । स्व. अधिकारीकै तारन्तार आग्रह पछि आफूहरु ठूलो चुनौती बोकेर पोखरा आएको बताउँदै उनले भने, ‘फर्केर हेर्दा त्यो निर्णय गल्ती गरेनौं भन्ने लाग्छ । सहरको विकासमा कुनै कुनै निर्णयले धेरै कुरा फरक पर्छ ।’

बिहीबारदेखि औपचारिक उद्घाटन भए पनि बुधबार साँझ गायक तथा संगीतकार उज्ज्वल सागर र कवि नवराज पराजुलीले काव्यिक संगीत प्रस्तुति राखेका थिए । फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धक पोखरा महानगरपालिका छ ।

फेस्टिभलको ५५ वटा बढी छलफलमा सहभागी हुन देश विदेशबाट २ सय जनाभन्दा बढी पोखरा आएका छन् । उद्घाटनको पहिला दिन डा. अच्युत वाग्लेले विद्वत्प्रवचन दिएका छन् ।

पहिलो दिन घरबाट विद्यालयसम्म विषयक सेसनमा डा मीनाक्षी दाहाल, शिशिर खनाल र दिनकरले नेपाल बहस गर्नेछन् । त्यस्तै, पहिलो दिन नै स्व.गोपाल योञ्जनको स्मृतिमा गोपालयः सांगीतिक प्रस्तुति रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?