+
+
विचार :

ती ‘बहादुर’ शेर, यी शेरबहादुर 

सत्ताका व्यसनी बनेका उनी त्यसका लागि जस्तोसुकै सम्झौता गर्ने नाम होइन, प्रवृत्ति बने । यसले उनको गौरवपूर्ण इतिहास मेट्दै लग्यो । सत्तामुखी राजनीतिको ‘कोर्स’ बदलेर गौरवको इतिहास पुनर्बहाली गर्ने अवसरलाई उनले सधैं बेवास्ता गरे । पछिल्लो पटक त उनले रसातलको बाटो रोजेको देखियो ।

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७९ पुष १० गते २०:४०
संसदीय दलको नेतामा निर्वाचित भएपछि देउवा ।

अलिक समय अघि नेपाली कांग्रेस, धादिङका संस्थापक सभापति भरतप्रसाद उप्रेतीलाई भेट्ने अवसर जुरेको थियो । ९० आसपास उमेरमा रहेका उनले २००६ सालमै धादिङमा कांग्रेस पार्टी खोलेका थिए । २००७ सालयताका सबै राजनीतिक क्रान्ति/आन्दोलनमा सक्रिय सहभागी थिए उनी ।

राणा र पञ्चायत दुवै कालमा दुःख खेपेका उप्रेतीले बीपी कोइराला, सुवर्ण समशेर, गणेशमान सिंह लगायत नेतासँग लामो संगत–सहकार्य गरे । बानेश्वरस्थित उनको घरमा बीपी चिया खान आउँथे । कहिले उनी बिहान हिंड्दै चाबहिल पुगेर बिपीसँग चिया गफमा बस्थे । गफको बिषय स्वभाविक रूपमा राजनीतिक हुन्थ्यो ।

उप्रेतीले उबेलाका काँग्रेसी नेताहरूको कुरा गर्दागर्दै पछिल्लो समयका शेरबहादुर देउवाको नाम लिए । ‘त्यतिबेला मात्तिइरहेको पञ्चायतविरुद्ध प्रजातन्त्रको झण्डा उठाउन चानचुने साहसले पुग्दैनथ्यो’, उनले भनेका थिए, ‘युवावस्थाका शेरबहादुरले त्यो साहस देखाएको, असाध्यै कष्टसाध्य परीक्षा पास गरेको मेरै आँखाले देखेको छु ।’

उप्रेतीको शब्दमा ती शेरबहादुर
‘जैसी देवल बम काण्डमा धेरै कांग्रेसी पक्राउ परेका थिए । ती मध्येमा शेरबहादुर देउवाजी पनि थिए । त्यतिबेला उनी केटौले उमेरका थिए, तर ठुलो बहादुरी देखाए, सत्तासामु झुकेनन् ।

मेरो बाल्यकालदेखिको साथी प्रयागराज शर्मा त्योबेला काँग्रेस छाडेर पञ्चायतमा गएका थिए । अरु पनि जालान् भनेर हामीले बम ल्याएर पड्काएका थियौं ।

प्रयागको घरमा बम पड्किएपछि गृहमन्त्री त्यहीँ आएर ‘यी कांग्रेसीलाई एक–एक गरेर सिध्याउँछु’ भन्दै बम्किए । आत्तिएका प्रयाग झोक्रिएर बसिरहेका थिए । त्यहाँबाट लुसुक्क घर फर्किएको मलाई पनि पुलिसले समातिहाल्यो ।

हिरासतमा कष्टकर बसाई थियो । अर्को कोठामा शेरबहादुरलाई राखिएको रहेछ । सुदूरपश्चिमबाट आएको केटो, काठमाडौंमा कोही थिएन । खानापिना केही थिएन । मलाई घरबाट आएको आधा–आधा गरेर खान्थ्यौं ।

उनलाई पिटेको सम्झिँदा अहिले पनि आङ सिरिङ्ग हुन्छ । मुक्काले उनको शरीर थिल्थिलो भएको थियो । गुद्वारबाट छडी घुसारेर, चरम यातना दिए, तर उनले केही बकेनन् । बकेको भए धेरै काँग्रेसी समातिने थिए । त्यस्तो निष्ठा र प्रतिबद्धता थियो देउवासँग ।

मभन्दा धेरै जुनियर केटा हुन्, २०२० साल आसपास नेविसंघको राजनीति सुरु गरेका । तर, उनको कुर्बानी देख्दा मलाई उनी सँधै सिनियर जस्तो लाग्छ ।’

यी शेरबहादुर
संघर्षको मोर्चामा नेताहरू एक से एक रहे । शासन व्यवस्था परिवर्तनमा अब्बल रहे । नेपाललाई गणतन्त्र बनाउन र समावेशी संविधान लेख्न पनि सफल भए । आमजनताको दैनिक जीवनलाई सहज बनाउन भने सकेनन् । समस्याका बिस्कुन सुकाउने हो भने देशका सबै सडक छोप्न सकिन्छ ।

सोभियतकालीन एउटा प्रसंग स्मरण गर्नु सान्दर्भिक होला । भ्लादिमिर लेनिनका अनुयायीहरू गाउँ पसे, तर उनीहरूको कुरा सुन्न किसान तयार भएनन् । अनि स्वयम् गाउँ पसेका लेनिनले किसानको आवश्यकता बुझेर ट्याक्टर बाँढिदिए । त्यसपछि बल्ल किसानहरूले ‘लेनिन जिन्दावाद’ भन्न थाले ।

आफ्नो जीवन प्रणालीसँग नजोडिएसम्म नागरिकले लोकतन्त्रको महत्व बुझ्दैनन् । नेपाली राजनीतिको पुरानो पुस्ताले नागरिकलाई सेवा ‘डेलिभर’ गर्ने क्षमता गुमाउँदा नागरिकको लागि लोकतन्त्र ‘कागलाई बेल सरह’ भएको छ ।

इतिहासको ब्याज खाएको हिसाब गर्दा पनि शेरबहादुरको पुस्ताले मनग्य अवसर पाइसकेको छ । पाँच पटक प्रधानमन्त्री बन्न पाउनु भनेको विश्वका लोकतान्त्रिक देशका नेताहरूको कल्पना बाहिरको अवसर हो । तर, शेरबहादुरको हकमा यतिका अवसर अपचजस्तो भयो ।

शासन प्रणाली परिवर्तनमा सधैं चलायमान पूर्जा बनेका उनी पटके अवसर प्राप्तिसँगै विकृतिको पहाड खडा गर्न उद्धत् भए । । लेनिनले भनेजस्तो संसदीय राजनीतिलाई ‘सुंगुरको खोर’ बनाउन तल्लिन रहे शेरबहादुर ।

सत्ताका व्यसनी बनेका उनी त्यसका लागि जस्तोसुकै सम्झौता गर्ने नाम होइन, प्रवृत्ति बने । यसले उनको गौरवपूर्ण इतिहास मेट्दै लग्यो । सत्तामुखी राजनीतिको ‘कोर्स’ बदलेर गौरवको इतिहास पुनर्बहाली गर्ने अवसरलाई उनले सधैं बेवास्ता गरे । पछिल्लो पटक त उनले रसातलको बाटो रोजेको देखियो ।

सत्ताको चरम दमनकालमा राजनीतिक निष्ठा जोगाएका धेरै नेता सत्ता लिप्सामा लागेर सिद्धिएका छन् । नेपाली राजनीतिमा यो एउटा प्रवृत्ति नै बनेको छ । यो प्रवृत्तिको उदाहरणको कमि छैन ।

पार्टीका युवा नेता गगन थापासँग संसदीय दलको चुनाव लडिरहँदा देउवाका अगाडि आफ्नो ‘बहादुर’ छवि पुनर्स्थापना गर्ने अवसर थियो । तर, उनले कुनै बेला गिरिजाप्रसाद कोइरालासँग लडेको बिर्सिएर यो अवसर खेर फाले ।

कुनैबेला गिरिजाप्रसाद कोइराला सबैभन्दा बढी पुत्ला जलाइने नेता थिए । इतिहासको खास मोडमा देखाएको नेतृत्व क्षमताले उनलाई राजनीतिमा पुनर्स्थापित गरायो । उनकै सुझबुझबाट गृहयुद्धले बिराम पायो । राजनीतिक संकटलाई

अवसरमा बदल्न उनको क्षमताका कारण त्यो सम्भव भयो । त्यो बेला त्यो निर्णय उनीबाहेक अरु कसैले गर्न सक्दैनथे । देउवा भने त्यो बाटोमा लागेनन् ।

अहिले पनि नेपाली राजनीति कम जोखिमपूर्ण अवस्थामा छैन । परिवर्तनका उपलब्धि संकटमा छ भनेर नेताहरू नै बताइरहेका छन् । देशले आर्थिक रूपमा श्रीलंका र राजनीतिक हिसाबले फिलिपिन्सको बाटो समातेको प्रष्ट संकेतहरू देखिँदैछन् ।

राजनीतिमा विश्वास जितेर आर्जन हुने शक्ति सत्ताको प्राधिकारबाट प्राप्त शक्तिभन्दा कैयौं गुणा शक्तिशाली र दीगो हुन्छ । यो यथार्थ बिसेका देउवा अवसादपुर्ण राजनीतिक बहिर्गमनको बाटोतर्फ धकेलिदिएका छन् ।

श्रीलंकामा आर्थिक संकट विस्फोट भएर कार्यकारी राष्ट्रपति रातारात देश छाडेर भाग्नु परेको धेरै भएको छैन । फिलिपिन्समा कुख्यात तानाशाह फर्डिनण्ड मार्कोसका छोरा सत्तामा फर्किएका छन् । लोकतान्त्रिक शक्तिहरूको शिथिलता र निकट विगतको इतिहासबारे बेखबर विद्युतीय सामाजिक सञ्जालका लती युवा पुस्ताको उपयोग/दुरूपयोगबाट मार्कोस जुनियर राष्ट्रपति बनेका छन् ।

हाम्रोमा पनि उस्तै पृष्ठभूमि तयार भइरहेको छ । राणा शासन त के पञ्चायतविरुद्ध संघर्ष गरेको पुस्ता पनि पातलिँदै छ । नेकपा (माओवादी)को जनयुद्ध र २०६२/०६३ को जनआन्दोलनपछि जन्मिएको पुस्ता हुर्किरहेका छन् । उनीहरू पञ्चायत र शाही शासनबारे अनविज्ञ छन् ।

फिलिपिन्सका जस्तै इन्टरनेट युगमा मस्त नेपालका नयाँ पुस्तामा इतिहासप्रति चासो पनि छैन । यहीबेला बढेको लोकतान्त्रिक शक्तिहरूको शिथिलताले नेपालमा पनि अर्को शक्तिको आगमन सहज बनाइरहेको प्रतित हुन्छ ।

यो अवस्थामा देउवाले गर्ने सुझबुझपूर्ण निर्णयको दूरगामी महत्व हुन्थ्यो । यो निर्णय अरु कसैले गरेर त्यति प्रभावी हुँदैन, जति उनले गरेर हुन्थ्यो । तर उनले बडा हठपूर्वक त्यो अवसर गुमाए ।

नागरिकमा निराशा बढिरहेको सन्देश भर्खरैको आम निर्वाचनले पनि दिइसकेको छ । मुलुकको केन्द्रीय राजनीति यसरी नै बरालिँदै जाने हो भने यो असन्तुष्टि ‘मास फ्रस्टेसन’मा बदलिने जोखिम छ । नेपाली समाजभित्र बढिरहेको असन्तुष्टिको लाभाबारे पुरानो पुस्ताका नेताहरू भने बेखबर देखिन्छ ।

कोहीबाट नसिकेका शेरबहादुर
शेरबहादुर देउवा सुझबुझ नभएका नेता होइनन् । भर्खरै सम्पन्न चुनावमा उनले पार्टीलाई पहिलो बनाए । तर, राजनीतिमा एउटा परीक्षा पास गरेर पुग्दैन, निरन्तर परीक्षा दिनु र उत्तीर्ण भइरहनुपर्छ । उनले बदलिएको राजनीतिक समीकरण, ध्रुवीकरण र परिदृश्य अनुरूप निर्णय लिन सकेनन् ।

उनले पार्टीभित्रै पनि शेखर कोइरालाको पछिल्लो निर्णयबाट सिक्न सक्थे । अनेकौं आशंकाबीच कोइरालाले लिएको संसदीय दलको नेता बन्ने होडबाट पछाडि हट्ने निर्णय निकै सुझबुझपूर्ण थियो । त्यो निर्णयले उनलाई कमजोर होइन, थप विश्वासिलो र सम्भावनापूर्ण नेता बनाएको छ । राजनीतिमा विश्वास जितेर आर्जन हुने शक्ति सत्ताको प्राधिकारबाट प्राप्त शक्तिभन्दा कैयौं गुणा शक्तिशाली र दीगो हुन्छ ।

गगन थापाले धैर्यपूर्वक लामो तर दीगो लोकतान्त्रिक बाटो हिडेर शेखर कोइरालालाई आफूलाई समर्थन गर्न राजी गराए । कोइराला राजनीतिक रूपान्तरणका लागि नयाँ पुस्तालाई विश्वास गर्न तयार भए । विश्वप्रकाश शर्मा गगनलाई समर्थन गरिरहेकै छन् । अर्का युवा नेता प्रदीप पौडेल पनि नयाँ पुस्ताको विभाजनले पुरानै सोचलाई सहयोग पुग्ने बुझेर गगनलाई समर्थन गर्ने ठाउँमा आए । यसरी नेपाली कांग्रेसभित्र नयाँ ध्रुवीकरण भयो ।

देउवा भने ज्योतिषको भनाई र किचन क्याबिनेटको उक्साहटमा लागे । पार्टी भित्र र बाहिर बद्लिएको राजनीतितिर ध्यान दिएनन् । अवस्था बुझेकै भएपनि कस्तो कदम चाल्दा सुझबुझपूर्ण हुन्छ भनेर ख्याल गरेनन् । परिणाम्, ‘भूँईको टिप्न खोज्दा गोजीको पनि गुमाएको’ अवस्थामा पुगे । उनले आफूसँगै काँग्रेस पार्टीलाई पनि ‘हारेको जुवाडे’ बनाए, त्यो पनि एकाएक ।

संसदीय दलको नेताका लागि कांग्रेसभित्र प्रतिस्पर्धा भयो । लोकतान्त्रिक दलमा यस्तो सम्भव हुन्छ, तर लोकतान्त्रिक स्पर्धाले सधैं सर्वोत्तम नतिजा नदिँदो रहेछ । देउवा संसदीय दलको नेता चुनिए अनि प्रतिस्पर्धि समूहप्रति खुला मुढाग्रह देखाए । न उनको टिममा विश्वासिला अनुहारहरू थिए न त उनले १५ वर्षभन्दा बढी टिक्ने भनिएको गठबन्धनका सहयात्रीलाई विश्वासमा लिन सके ।

देउवाले छैटौं पटक संसदीय दलको नेता बन्ने लोभ संवरण गरेर युवा पुस्तालाई मार्ग प्रशस्त गरिदिने सुझबुझ देखाएका भए अहिले मुलुकको राजनीतिक परिदृश्य र स्वयम् उनको उचाई अर्कै हुने थियो ।

प्रधानमन्त्री पद अस्वीकार गरेर गणेशमान सिंह सर्वमान्य नेता भएको कांग्रेसकै इतिहासको पनि ख्याल नगरेका देउवा अन्ततः अवसादपूर्ण राजनीतिक बहिर्गमनको बाटोतर्फ धकेलिएका छन् ।

लेखकको बारेमा
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका अपिनियन एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?