+
+

कुर्ता फेर्दा बेला सम्झेको एउटा विगत

त्रिवेणी त्रिवेणी
२०७९ पुष ९ गते १६:५१

तिमीले संन्यास लिइसकेकी थियौ । ६ वर्ष पहिले एक बिहान तिम्रो दर्शनार्थ पूर्वी नेपालको कुनै प्रसिद्ध मठ पुगेको थिएँ म । त्यसयता टाढैबाट हो कि नाईं जस्तो मानी दुईपटकसम्म तिमीलाई देखेको छु । सुनेको पनि छु, तिमी शहरमा यतैकतै छ्यौ, तर पनि भेटौं वा हेरौं जस्तो कहिल्यै भएको छैन किनकि तिमी मेरो विगत भइसकेकी छ्यौ । प्रातःकालीन मठ तिमीसहितको एक समूहले गरेको वेदपाठले झङ्कृत थियो ।

शायद वेदका ती ऋचा गव्यूतीसम्म सुनिन्थे । मैले तिमीलाई परैबाट हेरिरहें तर ती आँखामा प्राप्तिका कुनै आशा थिएनन् । लगत्तै तिमीहरूले रामायणको बालकाण्ड पाठ गर्‍यौ । श्लोकपाठमा मग्न तिमी कुनै यज्ञमा शाब्दिक पूरोडाश होमिरहेकी होता जस्तै देखिन्थ्यौ । तिमीले आफ्नाअघि नआउनु भनेकै कारण म परैबाट तिमीलाई हेरी फर्कें । आजकल बर्तिकाको ‘नजिक’ सुन्नासाथ आफैंलाई कोट्याउँछु, ‘भन्नेले त कति सजिलै नजिक नआऊ भनिदिन्छ, टाढा भइदिनुपर्नेको छट्पटी बस् एक कथा मात्र भइदिएको छ ।’

मठबाट फर्किंदै गर्दा मनैमन आफंैलाई प्रश्न गरें, ‘तिमी त रहिनौ, तिम्रो के रहृयो मसित ?’

पामुकको ‘म्यूजियम अफ इनोसेन्स’ पढेपछि तिम्रा चिजबिज संकलन गर्न थालेको मसित तिम्रा उत्तरपुस्तिका, तिमीले गाएका गीतका रेकर्डिङ, तिम्रा केही थान पोट्रेट र सामान, अनि अनगिन्ती सम्झना थिए । तिम्रा चिजबिजले सानोतिनो म्यूजियम बनिसकेको । मलाई लाग्यो, ती चिज हरबखत मसित हुँदैनन् । तिमी नभए पनि तिमी हुनुको आभास हरबखत भैरहोस् भन्ठानी मैले निर्णय लिएँ, तिम्रो जस्तै पोशाक लगाउँछु । त्यसपछिका पाँच वर्ष कुर्ताले मलाई छाडेनन् । फर्केपछि आफूले लगाइरहेका सम्पूर्ण कपडा नगरपालिकाको मलगाडीलाई बुझाइदिएको मैले दुईथान माला, चप्पल, पश्मिना र कुर्तासेटलाई आफ्नो बनाएँ ।

तिमीलाई विगत भनेरै सम्बोधन गर्छु म । मान्छेका पुर्खाले दुई खुट्टाले हिंड्ने भएपछि मात्र कपडा लगाउन सिकेका हुन् । कपडा लगाउनुअघि तिनले जनावरका छाला भिरे होलान् । माछा मार्ने जाली जस्तो पोशाकबाट कपडा लगाउने पद्धतिको प्रारम्भ गरेका मान्छेले पुरा पाषाणकालमा रेसा बनाउन सिकेका हुन् ।

वनस्पतिबाट बनाइने रेसाको इतिहास खोतल्दा सबैभन्दा पुरानो मानवनिर्मित डोरी-धागो) करिब ईसापूर्व १५०० को पाइएको छ जून दक्षिणी फ्रान्सको कुनै गुफामा भेटिएको थियो । तान बनाई बुन्ने शिल्पको विकास भने आजभन्दा करिब १२०० इसापूर्वबाट सुरु भएको भनी आफ्नो पुस्तक वोर्नमा सोफीले लेखेका छन् ।

मलाई सम्झना छ, कवि भूपिनको उपन्यास विमोचनका बेला उनका मित्र तीर्थले आमाले बुनी पठाएको भाङ्ग्रा लगाइदिएको त्यो क्षण, सोसियोबायोलोजीको अध्ययनले पनि पहिलो कपडा बुन्नेहरू महिला नै थिए भन्दछ । इतिहासका तिनै महिलाको बसिबियाँलो कपडा बुन्ने शिल्पको विकास थियो ।

तानमा बुनिएको त्यो पहिलो पोशाक कुनै मित्र वा प्रियजनका लागि नभई सामन्तका लागि बुनिएको सोफीको मत छ । महिलाको अनुभव र शिल्पकै कारण मानव समाजले कपडा लगाउन पाए पनि कपडा अर्थतन्त्रको हिस्सा भइसक्दा पितृसत्ताले त्यो शिल्पमा आफ्नो आधिपत्य जमाइसकेको थियो । यसबारे इतिहासकार मार्था होवेलले लेखेकी छन्, ‘कपडा बुनी बेच्ने महिलालाई व्यङ्ग्य गरी छुचुन्द्री भन्ने गरिन्थ्यो । अझ त अझ त्यस्ता महिलामाथि बर्बर यौन हिंसा हुने गर्दथे ।

यूरोपमा त्यस्ता शिल्पीलाई शिरदेखि मुखसम्म फलामे काँजो बाँधी दिई सडकमा नाङ्गै कुदाइन्थ्यो ।’ अर्थतन्त्रमा महिलाको हिस्सेदारी नहोस् भन्न यो सब गरिएको हुनुपर्छ । महिलाकै शिल्पका कारण कपडा लगाउन जानेको मान्छेले उनीहरूलाई नै नङ्ग्याएर अर्थतन्त्रमा पुरुषको एकाधिकार कायम गर्‍यो ।

फेरफारका बेला ती कुर्ता देख्दा विगत सम्झन्छु, लगत्तै चुरोट सल्काउँछु र धुवाँलाई भन्दछु- ‘वि आर अपार्ट, स्टिल सि इज अ पार्ट अफ मि ।’

कोलोनियल इंग्ल्याण्डमा उच्च घरानाका अविवाहित महिलाले मात्र चर्खा चलाउन पाउने व्यवस्था गरी कानुन नै बनाइएको थियो । तर औद्योगिक क्रान्ति पछि पुरुष र महिलाको ज्यालादर फरक हुने हुँदा सस्तो श्रम चाहेका तत्कालीन व्यापारीले आफ्ना उद्योगमा उल्लेख्य संख्यामा महिला र बालबालिकालाई राख्न थाले । न्यू इंग्ल्याण्डका मिलमा ८० देखि ९० प्रतिशत महिला मजदुर हुनुले यसलाई प्रष्ट्याउँछ । नाङ्गो समाजलाई बस्त्रधारी बनाएका महिलाहरूले इतिहासमा स्यावासी पाउनुको सट्टा हिंसा मात्रै भोगे । त्यसकारण पनि होला, एक पुरुषका नाताले कहिलेकाहीं निर्बस्त्र हुँदा म भारी बिसाएजस्तो महसुस गर्छु ।

ए विगत, तिम्रो पोशाक आफ्नो बनाउनु मेरा लागि सहज थिएन । तिमीलाई थाहा हुुनुपर्छ पोशाकसँग मान्छेको पहिचान गाँसिएको हुन्छ । म ती सुरुवाती दिन सम्झन्छु, शहरका फुटपाथमा हिंडिरहेको मलाई मानिसहरू आँखाले भ्याउनेसम्म हेरिरहन्थे । आमासँग आइसक्रिम खान बजार आएका नानीहरू मलाई देख्नासाथ आमालाई कोट्याएर देखाउँथे । पश्चिमा सौन्दर्यचेतका शिकार भएका युवा/युवती मलाई देखेपछि एकहलको मेलो नहाँसेका होइनन् । तैपनि पोशाकप्रतिको मेरो समर्पण रत्तिभर डगमगाएन । खै, तिमीमा त्यस्तो के थियो जुन आजसम्म पनि मैले बुझेको छैन ।

आफ्नै घर र समाजभित्र म विस्तारै एलियन भइरहेको थिएँ किनकि मेरो जस्तो पोशाक न मेरो घरको कोही सदस्यले लगाउँथ्यो न त समाजका कसैले । त्यसकारण पनि समाजभन्दा भिन्न भएको मेरो पहिचान धरासायी बन्दैथियो । बाले आफ्नो छोरो हो भन्न पनि लजाउनैपर्छ नभनेका होइनन्, कुर्ताधारी मलाई हेरी आमा कहिल्यै मुस्कुराइनन् । पोशाककै आधारमा मान्छेले कसैको पद, प्रतिष्ठा र आस्थाको आकलन गर्दछन्, त्यसकारण माला भिरेको म जोगी कहलिन्थें, नभिर्दा कुनै मौलाबी । इदको त्यो दिन सम्झन्छु, मियाँपाटनमा समीको चौताराछेउ उभिएको मलाई एक मुस्लिम युवकले घर लगी सेवई र गोस्ता खुवाएका थिए । सम्भवतः उनले मलाई मुस्लिम भन्ठाने ।

पोशाक र पहिचानको कुरा आइगो, प्रसंगवश १९औं शताब्दीका बङ्गाली कवि माइकल मधुसूदन दत्तको अनुभव समेट्छु है त । युरोपेलीको जस्तो पोशाक लगाई राजाले आयोजना गरेको भोजमा पुगेका उनलाई राजाले धोती र च्यादर खै भनी सोधेछन् । उत्तरमा उनले भने, ‘यदि त्यो पोशाकमा म यहाँ उपस्थित हुन्थें भने मैले जुठा भाँडा उठाउनुपर्थ्यो ।’ सँगै दक्षिण एशियाली मुलुकमा पोशाक बारेको पश्चिमा सौन्दर्यचेत हावी हुन थालेको उदाहरण पनि हो, यो । यस्तो प्रवृत्तिलाई दार्शनिक आनन्द कुमारास्वामीले ‘भल्गर इमिटेशन’को नाम दिएका छन् । त्यसकारण मलाई मानिसहरू जोगी भन्ठान्थे ।

धार्मिक रूपमा सहिष्णु म कसैका आँखामा हिन्दू देखिन्थें त कसैकोमा मुस्लिम । कतै पाहुना हुन पुगिहाले घरधनीले मलाई सात्विक भोजन ख्वाउँथे र कुनै सार्वजनिक समारोहमा मासु लुछेको देखे मानिसहरू आँखीभौं उचाल्दथे । पूर्वपहिचान मासिनु खल्लो भए पनि समाजमा समानान्तर रूपमा मेरो पृथक् तर पहिचान बन्दैथियो । तिम्रा कारण बनेको त्यो पहिचान आज भने कथा भइसकेको छ ।

औद्योगिक क्रान्तिले समाजका अनेक पक्ष परिवर्तन गरे पनि मूलतः त्यो कपडा उत्पादनको पद्धति फेरिएको समय थियो । रेलका लिक तथा बाटोघाटो बन्नु कपडा बेची आएको नाफाको नतिजा थिए । औद्योगिक क्रान्तिपछि कपडाको बजार मूल्य पनि सस्तिएको थियो जसले बेलायती उत्पादनलाई भारत र भारत आसपासका मुलुकमा बजार पाउन सहज बनायो । लेखक सोफी लेख्दछन्, ‘ऊनीको थानको कपडालाई सन् १७८० मा ११६ सिलिङ्स (बेलायती मुद्रा) पथ्र्यो भने औद्योगिक क्रान्तिको नतिजा स्वरुप त्यसको ५० वर्षपछि त्यति नै कपडा २८ सिलिङ्समा पाउन थालियो ।’ त्यतिबेला बनाइएका कतिपय सडक कपडा बेच्न र कपासको सहज स्थानान्तरण होस् भनी बनाइएका थिए । सन् १६०० मा स्थापित इष्ट इण्डिया कम्पनीको भारत छिर्नुको सुरुवाती उद्देश्य पनि कपडाको बजार विस्तार र कपास उत्पादनका लागि जमिनको खोजी थियो ।

कपडाका कारण भारत छिरेका अंग्रेजले भारतलाई उपनिवेश बनाए, नेपाल समेतले उनीहरूसँग युद्ध गर्नुपर्‍यो । स्पेनी र बेलायती व्यापारीबीचको तत्कालीन व्यापार युद्धले सिङ्गो दक्षिणएशियाको इतिहास बदलिदियो । बि्रटिशराजका पालामा भारतमा उनीहरू बाहेकका अन्य निजी व्यापारीलाई चर्खावाला मजदुरले कपडा बेच्न पाउँदैनथे । लुकिछिपी बेच्ने मजदुरलाई अंग्रेजले दिएको सजाय भारतका ऐतिहासिक ठेलीमा लिपिबद्ध छन् । त्यसकारण पनि समाजको अर्थ-राजनीति बुझेका गान्धीले स्वतन्त्रता संग्रामका बेला स्वराजको नीति अघि सारेका थिए । गान्धीले भारतीयलाई बेलायती उत्पादनका कपडा छाडी स्वदेशी उत्पादन लगाउन प्रेरित गरे । घरेलु उत्पादनको महत्व दर्शाउँदै गान्धीले कतै लेखेका छन्, ‘हामीले चर्खा छाड्नु भनेको हाम्रो देब्रे फोक्सो गुमाउनु बराबर हो ।’ यही अभियानले देशव्यापी आकार लिएपछि भारतीय कंग्रेसले आफ्नो झण्डामा पनि चर्खालाई स्थान दिएको थियो ।

स्वतन्त्रता पश्चात् तत्कालीन भारत सरकारले घरेलु उत्पादनलाई बढावा दिन बोर्डको स्थापना गर्‍यो । स्वराज अभियानकै अनुसरण हुनुपर्छ, आज पनि अधिकांश भारतीय स्वदेशी उत्पादन प्रयोग गर्दछन् । कुर्ताधारी भएपश्चात् भारतीय उत्पादन प्रयोग गर्नेमा म पनि थपिएको थिएँ । गान्धीकालीन भारतीयले बेलायती उत्पादन बहिष्कार गरी स्वदेशी उत्पादन अङ्गीकार गर्नु आर्थिक दृष्टिकोणले फाइदाजनक भए जस्तै कुर्ताधारी हुनु मेरा लागि फाइदाजनक थियो । वर्षमा कम्तीमा दुईचोटि बनारस पुग्ने म विश्वनाथ छिर्ने गल्ली पुगी भारु पाँच/सात सयका कुर्ता बल्कमा उठाउँथें जो मैले त्यसअघि लगाउने गरेका कपडाको तुलनामा ज्यादै सस्ता थिए । त्यसकारण पनि घरको विश्वास गुमाई आफ्नो खर्च आफैंले धान्नुपरेको मलाई कुर्ता लगाउनु फाइदाजनक बन्यो । तिमी यसर्थ धन्यवादकी पात्र हौ ।

अन्य किस्सा पनि छन् मसँग । उतिबेला म पटक-पटक भारत पुगें । छोटो दूरीको यात्रामा टिकट नकाटिकनै म रेलको जनरल डिब्बामा घुस्थें । जनरल डिब्बामा सिट पाउने कल्पना गर्नु मूर्खता बराबरै हो, तर पनि कहिलेकसो मेरो हुलियाले काम गरिहाल्थ्यो । गलामा रुद्राक्ष र बोधिचित्तको मालासँगै वदनमा पश्मिनाको सल भएर हुनुपर्छ त्यस्तो ठेलमठेल भीड हुने डिब्बामा पनि कहिलेकसो सिटमा बसिरहेको कोही उठेर मलाई भन्दथ्यो, ‘पण्डितजी, इधर बैठिए !’ म मुस्कुराएर थपक्क बसिहाल्थें ।

उत्तरप्रदेशमा विशेष गरिकन संन्यासी हुलियाका जो-कोही संस्कारगत लाभांशको अनुभवी हुन्छन् । त्यो हुलियाको अर्को फाइदा हो चोर र ठगको खतरा नहुनु । जोगीसँग के नै पो होला भन्ठानेर माग्नेहरूले पनि कमैले माग्दथे ।

एक साँझ म बनारसको ट्रेन स्टेशनमा थिएँ । ट्रेन डिले भएकोले प्रतीक्षालयमा किताब पढी बसिरहेको । यत्तिकैमा एक युवकले मैले थाहा नपाउँदै मेरो गोडा छोइवरी ‘रामराम गुरुजी’ भन्यो । मैले ऊतिर पुलुक्क हेरें, उसले मुसुक्क हाँसेर पचास रुपैयाँ दिई हिंड्यो । कहिलेकाहीं एकालाप गर्छु र ती दिन सम्झन्छु म, अनि मुसुक्क हाँसेर दङ्ग पर्छु । भारतमा मात्र नभएर नेपालका गाउँघर पुग्दा पनि बुढी आमाहरूको श्रद्धा पाएको छु मैले । बाटोमा हिंड्दै गर्दा निकैपटक झुकेर प्रणाम गरी ‘नारायण’ भन्ने आमाहरू भेटिन्थे । लकडाउनका बेला कास्कीको आर्बा पुगेको मलाई प्रणाम गरेको देखेर मेरा मित्रले जिस्क्याउँदै भनेका थिए, ‘ससुराली आएजस्तै है !’

यी त रमाइला किस्सा भए, गाउँघरमा हाँसोको पात्र पनि बनेको थिएँ म । मेलामा मेरै कुरा गर्छन् भनी मेला जानै झिंजो मान्ने आमाले पटक-पटक पोशाक फेर्न कर गर्दा पनि मेरो प्रणले त्यसो हुन दिएन । आमाको मात्र होइन, मित्रगणको दबाब उत्तिकै थियो । समर्पण त थियो नै त्यतिन्जेल कुर्ताले बेग्लै पहिचान दिलाइसकेकोले पनि कुर्ताप्रेम बिछट्टै थियो । मनले ठानिसकेपछि कसैको केही चल्दो रहेनछ ।

पोशाकबारे पूर्वप्रधानमन्त्री गिरिजाप्रसादको अनुरागको प्रसङ्ग थपिहालौं । नागरिक दैनिकमा हरि शर्माले लेखेको संस्मरणका अनुसार एकपटक शेरबहादुर देउवाको चुनावी सभामा भाषण गर्न गिरिजाबाबुलाई डडेल्धुरा पुग्नुपर्ने थियो । मौसम बिग्रेकोले हेलिकप्टरको उडान रोकिएछ । बल्लतल्ल उडान सुचारु भएपछि डडेल्धुरा पुगेका उनीहरू सिडिओकहाँ बसेछन् । बिहान लगाएको कपडा बेलुकी फेरेपछि धोएर मात्र लगाउने बानी भएका गिरिजाबाबुले शर्मालाई भनेछन्, ‘बिहान फेर्ने लुगा छैन, किन्नुपर्‍यो ।’

हावाहुरीमा कपडा किन्न जानुपर्दाको झोंक थियो नै तर पनि शर्मा बजार निस्के । भोलिपल्टको चियागफमा गिरिजाबाबुले भनेछन्, ‘म घरको सबैभन्दा कान्छो छोरो । म जन्मिंदा त मेरा बुबा एक्जाइल -निर्वासन)मा हुनुहुन्थ्यो । सधैं जडाउरी लगाएर हुर्किएँ । कहिल्यै नयाँ लगाउन पाइनँ । त्यसकारण ठानेको थिएँ, जुन दिन सक्छु हरेक दिन लुगा फेर्छु ।’ गिरिजाबाबुको बाल्यकालीन अभावले जगाएको त्यो प्रणप्रति उनी जति दत्तचित्त थिए जीवनभर कुर्ता लगाउँछु भन्ने प्रणप्रति मपनि उत्तिकै ।

कुर्ताले किस्सा मात्र थपिरहेको जीवन बाँचेको म एक साँझ कुनै क्याफेमा थिएँ । पाँच वर्षपछि एक्कासी तिम्रो म्यासेज आइपुग्यो । अलिकक्षण त कामेको हुँ म । त्यो छोटो कुराकानीमा तिमीले मेरो हुलिया मन नपराएकोले बदल्न भन्यौ । मैले प्रेम र समर्पणका साथ लगाउने गरेको कुर्ता छाड्नु सानो कुरा थिएन । त्यसले दिलाएको बेग्लै पहिचान मेरा लागि पूँजी बराबर थियो । म भन्नु नै दुईथान माला, च्यादर र कुर्ता बनिसकेको थियो ।

जागिरे हुनेबेला समेत हुलिया नफेर्ने शर्तमा काम सुरु गरेको मलाई तिम्रा वचनले अन्ततोगत्वा बदले । बदलिनु स्वाभाविक पनि थियो, जसका खातिर लगाएँ उसैलाई निको लागेन । तर पनि निर्णय लिनु सहज थिएन । आधादशक कुर्ता मात्र लगाएको मसित अन्य जातका कुनै पोशाक थिएनन् । त्यस साँझ निकैबेर गमेपछि तिम्रा वचन राख्न कुर्ता त्याग्ने निर्णय गरें । त्यो पनि त्यसै दिन । मन कुँडिएको जो थियो । साँझ छिप्पिइसकेको हुँदा पसलवाला साहूजी धमाधम सटर तानिरहेका थिए । मैले किरण दाइलाई फोन लगाएँ । दाइ आइपुग्नुभो । त्यसपछि हामी दुईभाइ उहाँको मित्रको कपडापसल छिर्‍यौं । एकजोर किनेर नहुने, धेरै किन्न भन्दाभन्दै कहाँबाट रकम ल्याउनु ? तिम्रा वचनको मान राख्न कुर्ता जसै त्याग्नु थियो त्यसैले केही थान उधारो कपडा किनी हामी छुट्टयिौं । डेरा आइपुगेर फोनमा वेदलाई वृत्तान्त सुनाएँ । त्यसरात रातभर डेराको भित्तो हेरेर बित्यो, जहाँ तिम्रो पोट्रेट थियो । भोलिपल्ट बिहानै एक झोला कपडा बोकी वेद मकहाँ आइपुग्यो, म चैतन्य भएँ ।

अचेल हुलियासँगै धेरै थोक बदलिएको छ । कुर्ताधारी पहिचान मासिएको म साथीभाइमाझ पुनः नौलो भएको छु । कुर्ता त्यागेको केही दिन त आफैंलाई आफू होइनजस्तो लागेको थियो तर खुशीको कुरा, आमाको अनुहार उजेलिएको छ । कुर्ता त्यागे पनि मिल्काउन सकेको छैन, ड्रअरमा मेहफुस तर परित्यक्त छन् । जसरी विगतप्रति मलाई गुनासो छैन, परित्यक्त ती गुनासो गर्दैनन् । साँझ डेरा छिर्दा स्वागत गर्ने तिम्रो पोट्रेट छँदैछ । फेरफारका बेला ती कुर्ता देख्दा विगत सम्झन्छु, लगत्तै चुरोट सल्काउँछु र धुवाँलाई भन्दछु- ‘वि आर अपार्ट, स्टिल सि इज अ पार्ट अफ मि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?