+
+

काठमाडौं घुम्न आउँदै हुनुहुन्छ ? यी ठाउँ र व्यञ्जन खास हुनसक्छ

मनिषा थापा मनिषा थापा
२०७९ पुष १० गते १४:५६

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं प्रशासनिक काम, व्यपार, शिक्षा, स्वास्थ्यका लागि मात्रै होइन घुमफिरको लागि पनि प्रमुख गन्तव्य हो । काठमाडौं उपत्यकामा घुम्नका लागि गन्तव्यहरु पनि धेरै छन् ।

त्यसैमाथि काठमाडौंको आफ्नै संस्कृति, रहनसहन, हावापानी र स्थानको विशेषताले भरिपूर्ण सहर भएकाले पनि पहिलो पटक यहाँ आउने आन्तरिक होस् या बाह्य पर्यटकले यहाँका खानपिन, विशेषतासँग राम्ररी पहिचान गर्न कम्तीमा पनि एक साताको समय छुट्याउनुपर्छ ।

उपत्यकामा कहाँ जाने त घुम्न ?

पशुपति-स्वयम्भू-बौद्धनाथ

पशुपतिनाथको मन्दिर काठमाडौं जिल्लामा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण धर्मस्थल हो । २४० हेक्टर जग्गामा फैलिएको यो मन्दिर विश्व सम्पदा सूचीमा पर्छ । शिवालयको सबैभन्दा ठूलो मन्दिरको रुपमा पशुपतिनाथ मन्दिरलाई लिइन्छ ।

स्वदेशी मात्र होइन, विदेशी पर्यटक समेत काठमाडौं आउँदा एकपटक पशुपतिनाथ मन्दिर  पुगेकै हुन्छन् । त्यस्तै, अर्को छुटाउनै नहुने स्थल भनेको स्वयम्भू हो । स्वयम्भू घुम्न जनाको लागि एउटा राम्रो गन्तव्य हुन सक्छ । बौद्ध धर्मावलम्बीको धार्मिक स्थल स्वयम्भू पनि घुमघामका लागि राम्रो मानिन्छ । काठमाडौंको उच्च स्थानमा रहेको स्वयम्भूमा थप बाँदरको चहलपहलले पनि विशेष रमणीय मानिन्छ ।

स्वयम्भूनाथसँगै काठमाडौं सहरको उत्तरपूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्धनाथ स्तूपा पनि प्रमुख पर्यटकीय स्थल हो । बौद्धनाथ नेपालकै सबैभन्दा ठूलो स्तूपा समेत हो । सन् १९७९ देखि युनेस्को विश्व सम्पदा क्षेत्रमा परेको बौद्धनाथ स्तूपालाई परेवाको ठूलो हुलले झनै आकर्षक देखाउँछ ।

सदर चिडियाखाना

ललितपुर जावलाखेलस्थित सदर चिडियाखाना घुम्न छुटाउन नहुने अर्को ठाउँ हो । तारजालीमा कैद गरिएका जनावर, पशुपक्षीको प्रत्यक्ष अवलोकन गरेर मनलाई आनन्दित बनाउन सकिन्छ ।

यहाँ प्रवेश गर्न टिकट लिनुपर्छ । भित्र प्रवेश गरेपछि यहाँ हात्ती, जरायो, बाघ, भालु, चितुवा, गैंडा जस्ता धेरै जनावरहरु हेर्न पाइन्छ । सर्प, अजिङ्गरका साथै अस्ट्रिच लगायत धेरै किसिमका चराचुरुंगीको प्रत्यक्ष अवलोनक गर्न सकिन्छ । बालबालिकालाई पनि साथै लिएर जान सके चिडियाखानाको घुमघाम झनै रोमाञ्चक हुन्छ ।

वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र

उपत्यकाका तीनै प्रमुख सहर आफ्नो मौलिक कला, संस्कृति र सभ्यताका खानी नै हुन् । काठमाडौंको ऐतिहासिक वसन्तपुर दरबार क्षेत्र देश विदेशबाट आएका पर्यटकहरुको रोजाइको गन्तव्य हो । काठमाडौंको मुख्य सहरी क्षेत्रमा पर्ने वसन्तपुर पुग्न जोकोहीलाई सहज पनि छ ।

यसै क्षेत्रमा हनुमानढोका दरबार संग्रहालय पनि रहेको छ । कलाकौशलले भरिपूर्ण अन्य महत्त्वपूर्ण स्मारक, तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, गद्दी बैठक, काष्ठमण्डप पनि यसै क्षेत्रमा अवस्थित छन् । जसको अवलोकन गरेर ऐतिहासिक विषयबारे जानकारी समेत पाउन सकिन्छ ।

यसैगरी पाटन दरबार क्षेत्र अर्को रोजाइको गन्तव्य हो । ललितपुरको मंगलबजार क्षेत्रमा रहेको पाटन दरबार देश तथा विदेशका पर्यटकहरु पुग्नैपर्ने ठाउँ हो । कृष्ण मन्दिर, अन्य मन्दिरहरु, प्राचीन धारा, संग्रहालय, काँसका मूर्तिहरु लगायतको यहाँ अवलोकन गर्न सकिन्छ ।

भक्तपुर दरबार क्षेत्र अर्को छुटाउनै नहुने गन्तव्य हो । काठमाडौंको रत्नपार्कबाट १३ किलोमिटरको दूरीमा रहेको भक्तपुर दरबार क्षेत्रमा छुट्टाछुट्टै चार क्षेत्र छन् । दरबार क्षेत्र, टौमधी क्षेत्र, दत्तात्रेय क्षेत्र र पोटरी क्षेत्रलाई समग्रमा भक्तपुर दरबार क्षेत्र नै भनेर चिनिन्छ ।

नारायणहिटी दरबार संग्रहालय 

नारायणहिटी राजतन्त्रकालमा राजपरिवार निवास हो । देशमा गणतन्त्र स्थापना भएपछि २०६५ साल असार १ बाट यसलाई नारायणहिटी दरबार संग्रहालयमा परिणत गरिएको हो । त्यसपछि नारायणहिटीमा सर्वसाधारणको प्रवेश खुला गरियो ।

नारायणहिटीमा  ५२ कक्ष छन् । ती सबै कक्षको नामकरण नेपालका जिल्लाको नामबाट गरिएको पाइन्छ । ५२ मध्ये २५ वटा कक्ष मात्रै अहिले सर्वसाधारणले अवलोकन गर्न पाउने व्यवस्था गरिएको छ । यहाँ हरेक कक्षको अवलोकन गरेर तत्कालीन राजपरिवारका सदस्यको जीवनपद्धतिबारे जानकारी लिन सकिन्छ ।

तत्कालीन राजारानीको बैठक कक्ष, शयन कक्ष, डाइनिङ कक्ष, मनोरञ्जन कक्षलगायतको अवलोकन गर्न सकिन्छ । नारायणहिटी प्रवेश गर्न टिकट काट्नुपर्छ ।

राष्ट्रिय संग्रहालय 

छाउनीमा अवस्थित राष्ट्रिय संग्रहालय काठमाडौं घुम्न आउनेले पुग्नैपर्ने अर्को ठाउँ हो । यस संग्रहालयमा हामी प्राचीन हातहतियार, वस्त्र, सिक्का तथा प्राचीन राजाका उपहारहरू अवलोकन गर्न सकिन्छ ।

तीनवटा भवनमा फैलिएको संग्रहालय प्रवेश गर्न टिकट काट्नुपर्छ ।

ठमेल

ठमेल काठमाडौंको प्रमुख पर्यटकीय गन्त्व्य हो । यहाँ विदेशी पर्यटकहरु बस्न र रमाइलोका लागि आइपुग्छन् ।

ठमेल नेपालको राजधानी सहर काठमाडौंमा अवस्थित पर्यटकीय स्थान हो । यहाँ धेरै पसल, क्याफे, होटल, र पर्यटकीय कम्पनी छन् । यहाँको रात्रिजीवन एकदमै राम्रो हुन्छ । ठमेललाई कहिल्यै नसुत्ने र बन्द नहुने इलाकाको रूपमा लिइन्छ । स्वदेशीसँगै विदेशी पर्यटकको यहाँ भीड लाग्ने गर्छ ।

जब कोही घुम्न जान्छ, उसले त रुचिका चीज त योजनामा सामेल हुन्छन् नै त्यससँगै उनीहरु एकभन्दा बढी परिकारको स्वाद लिन सकिने ठाउँमा जान रुचाउँछन् । प्रत्येक ठाउँमा तपाईंले स्वादको लागि केही विशेष पाउनुहुनेछ ।

मःम (बफ मःम विशेष)

काठमाडौं घुम्न आउनेका लागि मःम एक विशेष र स्वादिष्ट परिकार हुन सक्छ । सबैभन्दा बढी व्यापार हुने र खाजाको रुपमा रुचाइएको  काठमाडौं उपत्यकाको  मःम स्वादिष्ट मानिन्छ । बजारमा बफ, चिकेन, मटन, भेज, पनिरलगायत स्वादमा मःम पाइन्छ ।

त्यसमा पनि बफ मःम काठमाडौंको विशेष हो । बफ मःम पाइने रेस्टुरेन्ट तथा मःम सेन्टरहरु काठमाडौं, ललितपुर र भक्तपुरका हरेक बजार, टोल र गल्लीमा पाइन्छन् ।

उहिले व्यापारका लागि तिब्बत जाने नेवार व्यापारीहरूले मःम नेपाल भित्र्याएको मानिन्छ ।

समयबजी

समयबजी प्रचलित नेवारी परिकार हो । नेवारहरुले चाडपर्व तथा कुनै विशेष दिनमा यो परिकार बनाउँछन् । खासगरी भक्तपुर दरबार क्षेत्र, पाटन र वसन्तपुर क्षेत्रमा नेवारी रेस्टुरेन्टहरुमा समयबजी सहजै उपलब्ध हुन्छ । यसमा चिउरा, लसुन, भटमास, छोइला, उसिनेको सिमी, बारा, उसिनेको अण्डा, हरियो सागपात, तामाको झोल तरकारी, आचार र घरमै बनाइएको रक्सी हुन्छ । यसलाई विविधतापूर्ण भोजनका रूपमा पनि लिइन्छ । नेवारी परिकार खोज्दै नेवारी खाजाको स्वाद लिन धेरै नेवारी होटलहरूमा गएको पाइन्छ ।

छोयला

मासुका पारखीका लागि छोयला रोजाइमा पर्ने परिकारमध्ये एक हो । छोयलाको निम्ति पनि काठमाडौं क्षेत्र प्रख्यात छ । पहिला नेवार समुदायले भैंसी र हाँसको मासुलाई साँधेर छोयला बनाउने गर्थे । नेवारी भोजमा छोयला अनिवार्य नै बन्थ्यो । तर अहिले भने छोयला काठमाडौं उपत्यकाका विभिन्न होटल र रेष्टुरेन्टहरुमा पाउन सकिन्छ । चिकेन, हाँस, बफ, मटनलगायतका सबैजसो मासुको छोयला बनाउन सकिन्छ ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?