+
+

एमाले नेतृत्वमा गठबन्धन बने सुदूरपश्चिमबाहेक सबै प्रदेशमा बहुमत

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १० गते १५:३९
एमाले अध्यक्ष ओली निवासमा बसेको माओवादी केन्द्रसहितका दलका नेताहरुको बैठक ।

१० पुस, काठमाडौं । आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा माओवादी केन्द्रसहितका दलका नेताहरु छलफलमा जुटेपछि नयाँ समीकरणको सम्भावना बढेको छ ।

बालकोट बैठकमा सहभागी एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका नेताहरु सहभागी भएका छन् । एमाले अध्यक्ष ओलीसँग राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफल गरेका थिए । एमालेको नेतृत्वमा यी दलहरुको गठबन्धन बनेमा मधेश र सुदूरपश्चिम बाहेक प्रदेश सरकार पनि बनाउनेछ ।

प्रदेश–१ को सवैभन्दा ठूलो दल एमालेलाई सरकार बनाउन ७ सिटको कमी थियो । तर माओवादी केन्द्रसँग १३ सिट भएकाले सजिलै बहुमत पुग्नेछ । ९३ सदस्यीय प्रदेशसभामा एमालेसँग ४० सिट छ । राप्रपासँग ६ र जसपासँग एक सिट छ ।

यदि यो गठबन्धनले अन्तिम रुप लिए २९ सिटको कांग्रेस प्रदेश–१ मा प्रतिपक्षमा बस्नुपर्नेछ ।

मधेश प्रदेशमा एमाले, माओवादी, जसपा र जनमत पार्टी मिले सरकार बन्नेछ । एमालेसँग २३, जसपासँग १६, जनमत पार्टीसँग १३ र माओवादीसँग ८ सिट छ । १०७ सदस्यीय प्रदेशसभामा यी चारको सिट संख्या ६० पुग्नेछ । सरकार बनाउन ५४ सिट आवश्यक पर्छ ।

बागमती प्रदेशमा राप्रपाको साथ पाए एमाले नेतृत्वकै गठबन्धनले सरकार बनाउनेछ । ११० सदस्यीय प्रदेशसभामा एमालेसँग २७ र माओवादीसँग २१ सिट छ । १३ सिटको राप्रपाको साथ पाएमा सरकार बन्नेछ ।

गण्डकीमा पनि राप्रपाको साथ पाउँदा कांग्रेस इतरको सरकार बन्नेछ । गण्डकीमा एमालेसँग २२ र माओवादीसँग ८ सिट छ । ६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सिट आवश्यक पर्छ । राप्रपासँग २ सिट भएकाले बहुमत पुग्छ ।

लुम्बिनीमा पनि राप्रपाको साथ पाउँदा सरकार बन्नेछ । लुम्बिनीमा एमालेसँग २९, माओवादीसँग ९ र जसपासँग ३ सिट छ । राप्रपासँग ४ सिट भएकाले प्रदेशसभामा बहुमत पुग्छ । ८७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४४ सिट आवश्यक पर्छ ।

कर्णालीमा एमाले र माओवादी मिल्दा मात्रै सरकार गठनका लागि आवश्यक बहुमत पुग्छ । ४० सदस्यीय प्रदेशसभामा माओवादीसँग १३ र एमालेसँग १० सिट छ ।

सुदूरपश्चिममा भने नागरिक उन्मुक्ति पार्टी निर्णायक छ । ७ सिटको नागरिक उन्मुक्तिले जता साथ दिन्छ, उतै सरकार बन्नेछ । ५३ सदस्यीय प्रदेशसभामा माओवादी केन्द्रसँग ११ र एमालेसँग १० सिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?