+
+

अर्थमन्त्री पौडेलले भने- अब बन्द कोठामा कुनै काम हुँदैन

अच्युत पुरी अच्युत पुरी
२०७९ पुष ११ गते १९:२०

११ पुस, काठमाडौं । सोमबार अर्थ मन्त्रालयमा दिनभरजसो चहलपहल रह्यो । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आफ्नो कार्यकालका कामबारे जानकारी दिन सोमबार अपरान्ह पत्रकार सम्मेलन गरे । उनको बर्हिगमनसँगै साँझ नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल मन्त्रालयमा इन्ट्री गरे । मन्त्रालयमा सचिव कृष्णहरि पुष्करसहित मातहतको निकायका प्रमुख र कर्मचारीले पौडेललाई स्वागत गरे । कार्यकक्षमा आफ्नो पहिलो निर्णय स्वरुप अर्थ मन्त्रालय र मातहतका निकायलाई डिजिटलाइज गर्ने विषयको फाइलमा हस्ताक्षर गरे ।

त्यसपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिए । त्यसक्रममा उनले अर्थतन्त्र संकटको डिलमा रहेपनि काबु बाहिर नरहेको बताए । उनले यसको समाधानका लागि सरोकारवाला निकायसँग बसे छलफल गर्ने समेत बताए । पदभार ग्रहणपछि मन्त्रिपरिषद् बैठकमा जान हतार भएका उनले अर्थ मन्त्रालयको हलमा करिब १५ मिनेट बिताए । जहाँ उनले कर्मचारीलाई निर्देशन दिने कार्यक्रम राखिएको थियो । सो क्रममा उनले प्रारम्भमा आफ्नो आगमनको परिस्थितिबारे बोले । त्यसपछि कर्मचारीलाई फकाउने कोसिस गरे । उनले पूर्वाग्रह नराखी काम गर्ने भन्दै अर्थ मन्त्रालयलाई असफल हुने छुट नरहेको बताए ।

त्यसपछि उनले सांकेतिक भाषामा पारदर्शितालाई जोड दिने बताए । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि बन्द कोठामा बसेर बजेटमा करको दर हेरफेर गरेको आरोप लागेको थियो । यद्दपि संसदीय विशेष छानविन समितिबाट यो पुष्टि हुन सकेन । अर्थमन्त्री पौडेलले यसै विषय तर्फ संकेत गर्दै उनले व्यंग्य कसे । उनले भने, ‘म पारदर्शितामा विश्वास गर्छु, बन्द कोठामा कुनै काम हुने छैन ।’ यहाँ उनले टुंडिखेल शब्द निकाल्दै सबै काम खुला रुपमा गर्न कर्मचारीलाई समेत निर्देशन दिए ।

अर्थमन्त्रीहरु माथि लाग्ने अर्को आरोप हो, मन्त्रीले भनेजस्तै नभए सरुवा वा कारबाही गर्ने । विष्णु पौडेलले यस पटक यस बारेमा पनि अग्रिम स्पष्टीकरण दिए । ‘मन्त्रीबाट कुनै गलत काम हुँदैछ भने यो काम गर्नु हुँदैन भनेर कारणसहित भन्न पाइने छ,’ उनले भने, ‘त्यो भनेवापत अन्यथा व्यवहार गरिने छैन ।’

स्थायी सरकार हो, प्रतिनिधिसभाले ५ वर्ष काम गर्छ

उनले गठबन्धन भएपनि वर्तमान सरकार स्थायी सरकार भएको उनले बताए । ‘हामी संयुक्त सरकारमा छौं, राजनीतिक स्थायित्वको प्रश्न सुनिश्चित भएको छ, अस्थिरताको बाछिटाले कुनै असर गर्दैन ।’

प्रतिनिधिसभाले पुरै कार्यकाल काम गर्ने भन्दै उनले ढुक्कसँग काम गर्न आह्वान समेत गरे । उनले सञ्चारमाध्यम र आम जनताले आलोचना गर्नै नपर्ने गरी काम गर्न समेत कर्मचारीलाई निर्देशन दिए ।

अर्थतन्त्रमा रहेका समस्याबारे आफूले छिट्टै सरोकारवालासँग छलफल गरी जानकारी लिने समेत उनको कर्मचारीलाई जानकारी गराए ।

अर्थ मन्त्रालय सफल हुँदा राष्ट्र सफल हुने भन्दै उनले वर्तमान समस्या समाधान गर्ने नसक्ने अवस्थामा समेत नरहेको स्पष्ट पारे । सरकारी वित्तका अधिकांश सूचकांक खराब रहेको अवस्थामा मन्त्रालय सम्हाल्दै गरेका अर्थमन्त्रीले चालु खर्च कटौतीदेखि पूँजीगत खर्च बढाउनेसम्मका काममा जोड दिनु पर्ने बताए ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?