+
+

दुई दिनमा ११७ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि ४ अर्ब नजिक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १५:४०

१२ पुस, काठमाडौं । नयाँ सरकार गठनपछिको लगातार दोस्रो कारोबार दिन पनि सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । मंगलबार बजार परिसूचक नेप्से ५९.८७ अंक (३.११ प्रतिशत) ले वृद्धि हुँदा १९८३.९५ अंकमा बन्द भएको छ ।

सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने करिब निश्चित हुँदा नेप्से ३ प्रतिशत भन्दा माथिले वृद्धि भएको थियो । पौडेल अर्थमन्त्री भएसँगै मंगलबार लगातार दोस्रो दिन पनि ३ प्रतिशत माथिको वृद्धि भएको छ । नयाँ सरकार गठनपछिको दुई दिनमै नेप्से करिब ११७ अंकले बढेको छ ।

नेप्सेसँगै सबै उपसूचकमा हरियाली छाउँदा लगानी उपसूचक सर्वाधिक ६.४३ प्रतिशत, हाइड्रोपावर उपसूचक ४.६८ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी र होटल तथा पर्यटन उपसूचक पनि ४ प्रतिशत भन्दा माथिले वृद्धि भएको छ ।

बजारलाई सपोर्ट गर्ने कुनै नीतिगत परिवर्तन नहुँदा पनि विष्णु पौडेले अर्थमन्त्री हुँदा सेयर बजार विगतमा पनि बढेको भन्दै समाजिक सञ्जालमा नै सेयर लगानीकर्ता सक्रिय देखिन्छन् । जसले बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । तर, बजारलाई सपोर्ट गर्नेगरी आर्थिक फन्डामेन्टमा भने कुनै परिवर्तन वा नीतिगत परिर्वतन भएको छैन ।

सोमबार नेप्सेमा १ करोड २० लाख २९ हजार ६०३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८८ करोड ४३ लाख ९७ हजारको कारोबार भएको छ । जुन कारोबार रकम पछिल्लो चार महिना यताकै उच्च हो । मंगलबार कारोबार भएकामध्ये लक्ष्मी बैंकको सर्वाधिक २० करोड ९४ लाख ९१ हजारको कारोबार हुँदा नेपाल दुरसञ्चार कम्पनीको १४ करोड २ लाख ८ हजार र हिमालयन डिस्टिलरीको १२ करोड १४ लाख ९७ हजारको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा कुल २१२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २०२ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ८ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य भने स्थिर छ । मंगलबार कारोबार भएकोमध्ये सिद्धार्थ इन्स्योरेन्स, मल्टिपपर्स फाइनान्स, अजोड इन्स्योरेन्स र सृजनशील लघुवित्तको सेयर मूल्य १० प्रतिशत तथा धौलागिरी लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशत, कालिका पावर कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सर्किट मूल्यमा बन्द भएको छ ।

आँधीखोला लघुवित्तको सेयर मूल्य सर्वाधिक २.६३ प्रतिशतले गिरावट हुँदा मिर्मिरे लघुवित्तको सेयर मूल्य २.२२ प्रतिशत र सीवाईसी नेपाल लघुवित्तको सेयर मूल्य १.८६ प्रतिशतले गिरावट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?