+
+

पोखरा विमानस्थलमा आन्तरिक यात्रुलाई र्‍याम्प बस, अन्तर्राष्ट्रियलाई एरोब्रिज

अच्युत पुरी अच्युत पुरी
२०७९ पुष १२ गते १८:३०

१२ पुस, काठमाडौं । काठमाडौंपछि पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक उडानका यात्रुले र्‍याम्प बस चढ्नु पर्ने भएको छ । विमानस्थलको टर्मिनल भवनको दायाँ साइडलाई विमानस्थल कार्यालयले आन्तरिक उडानका यात्रुको आगमन तथा प्रस्थान क्षेत्र तोकेको छ । तर, जहाजहरु पार्किङ भने टर्मिनल भवनको बायाँ साइडमा रहने छन् । जसका कारण पैदल हिंड्न लामो समय लाग्छ ।

सोहीकारण आन्तरिक उडान गर्ने कम्पनीहरुले यहाँ र्‍याम्प बस चलाउनु पर्ने भएको छ । यात्रुलाई आन्तरिक प्रस्थान कक्षबाट विमानस्थलसम्म लैजाँदा बीचमा अन्तर्राष्ट्रिय तर्फको क्षेत्र पर्छ । जसले गर्दा यात्रुलाई बसमा लैजानु पर्नेछ । अहिलेसम्म काठमाडौंको त्रिभुवन विमानस्थलमा मात्र र्‍याम्प बसको व्यवस्था रहेको छ ।

भैरहवामा पुरानै टर्मिनल भवनबाट आन्तरिक उडान गरिएका कारण त्यहाँ यात्रुले प्रस्थान कक्षबाट सिधै जहाज चढ्न सक्छन् । अन्य आन्तरिक विमानस्थलमा समेत र्‍याम्प बस राख्नु परेको छैन ।

अन्तर्राष्ट्रिय विमनस्थलमा पहिलो पटक एरोब्रिज

नेपालका विमानस्थलहरुमध्ये पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानका यात्रुले एरोब्रिज प्रयोग गर्न पाउने भएका छन् । विमानस्थलको सबै प्रक्रिया पुरा गरी विमान चढ्न र जहाजबाट झरेर अध्यागमनमा आउन सक्ने गरी यहाँ एरोब्रिजको व्यवस्था गरिएको छ । एरोब्रिजको व्यवस्थासँगै जहाज चढाउन र झार्न भर्‍याङ लैजानु पर्ने अवस्था रहने छैन ।

 

पोखरा विमानस्थल १ जनवरी २०२३ मा उद्घाटन हुँदैछ । त्यसपछि सबै आन्तरिक उडान यसै विमानस्थलबाट हुनेछन् । यस विमानस्थलको ग्राउण्ड ह्यान्डिलिङ भने नेपाल एयरलाइन्सले नै गर्दैछ ।

वायुसेवा कम्पनीहरुले १ जनवरी २०२३ देखि पोखराको नयाँ विमानस्थलबाट मात्र उडान हुने भन्दै यात्रुलाई सूचित गरेका छन् । बुद्ध एयर, यति एयर र श्री एयरलाइन्सले सूचना निकाल्दै यात्रुलाई सूचित गरेका हुन् । बुद्ध एयरले निर्धारित उडान समयभन्दा २ घण्टा अगाडि नै विमानस्थलमा आइपुग्न यात्रुलाई आग्रह गरेको छ ।

नयाँ विमानस्थल भएका कारण सुरक्षाका सबै प्रक्रिया पार गर्दा समय लाग्ने र विमानस्थलमा अभ्यस्त नभएसम्मका लागि यस्तो आह्वान गरिएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए । उनका अनुसार यात्रुको लगेज संकलन गरी जहाजसम्म लैजान समेत केही समय बढी लाग्ने देखिएको छ । सोहीकारण यात्रुलाई २ घण्टा अगाडि नै विमानस्थल आउन भनिएको हो ।

नयाँ विमानस्थल सञ्चालनमा आएसँगै जोमसोममा हुने उडान, अल्ट्रालाइट र हेलिकप्टर उडान मात्र पुरानो विमानस्थलबाट हुनेछ । अन्य सबै उडान नयाँ विमानस्थलमा सर्नेछन् । सोहीअनुसार तयारी गरिएको वायुसेवा कम्पनी र नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?