
१३ पुस, पोखरा । नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । उनले पहिलो चरणमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना नरहेको भन्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पाण्डेले सरकार निर्माणमा राप्रपा र एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका दीपक मनाङेको मुख्य भूमिका हुने बताए ।
‘कांग्रेसको नेतृत्वमा किन बन्न सक्दैन भने अहिले तत्काल भने यदि एमाले वा माओवादी हामीसँग मिलेमा मात्र सरकार बन्न सक्छ’ उनले भने, ‘ती दुई ठूलाबाहेक अरु दल मिलेर हाम्रो बहुमत आउँदैन ।’
पाण्डेले कसैको पनि बहुमत नआएमा मात्र ठूलो दलको हैसियतमा कांग्रेसले सरकारको नेतृत्व पाउने बताए । ‘समीकरण कसरी अगाडि बढ्छ भन्ने कुरा बाँकी रहेका एमालेबाहेकका दलमा निर्वाह गर्छ’ उनले भने ।
६० सदस्यीय प्रदेशसभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ । सरकार गठनका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ ।
आफूले राष्ट्रियसभामा प्रमुख प्रतिपक्ष दलको नेताको भूमिका निर्वाह गरेर आइसकेको भन्दै अहिले पनि सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए । ‘राष्ट्रियसभामा तत्कालिन एमाले र माओवाद्यी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीको अझ बढी बहुमत थियो । हामी १३ जना थियौं, बाँकी उहाँहरु हुनुहुन्थ्यो । झिनो प्रतिपक्ष हुँदा पनि प्रभावकारी भूमिका निर्वाह गरेर आएको हुँ’ पाण्डेले भने ।
संविधानको रक्षा, लोकतन्त्र, गणतन्त्र, संघीयताको संवद्र्धन र प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले गर्ने कामको आधारमा आफूहरुको भूमिका तय हुने पाण्डेले बताए ।
प्रतिक्रिया 4