+
+

पैसाका लागि शिक्षककै योजनामा निरजको हत्या

सुरेश बिडारी सुरेश बिडारी
२०७९ पुष १३ गते १८:२२

१३ पुस, वीरगञ्ज । मंसिर ५ गते स्कुल बिदा थियो । वीरगञ्ज–२५ सिर्सिया खल्वाटोलाका १४ वर्षीय निरजकुमार पासवान दिउँसै खेल्न निस्किए ।

अरु दिन रातपर्नु अघि नै उनी घर फर्कन्थे । तर त्यसदिन बेलुकी अबेरसम्म पनि घर फर्किएनन् । अबेरसम्म नआएपछि परिवारले उनको खोजी सुरु गरे । सम्भावित साथीभाइ आफन्तकोमा सोधियो, उनी भेटिएनन ।

मंसिर ६ गते बुवा श्रीराम हजरा दुसादले खोजतलासका लागि निवेदन दिए । प्रहरीले हुलिया सहित मातहतका प्रहरी कार्यालयमा विवरण पठायो । प्रहरीलाई समेत सफलता हात लागिरहेको थिएन । परिवार चिन्तामा थिए ।

५० लाख फिरौती माग्दै फोन

प्रहरीलाई कुनै ‘क्लु’ मिलिरहेको थिएन । खोज्दा खोज्दै प्रहरी टोली हैरान थियो । तर १२ औं दिन बालकको बुवा श्रीरामलाई फिरौतीका लागि फोन आयो । निरज हराएको १२ दिनपछि फोन गर्नेले ५० लाख फिरौती मागे ।

निरजको बुवा श्रीरामको मीना बजारमा मासु पसल छ । सिर्सिया खल्वाटोलामा १८÷२० धुर जमिन । त्यो पनि नेपाल सरकारले अधिग्रहण गर्न खोजेको छ । सरकारले लिन लागेको ६२ विगाहामा पर्ने जमिन बेच्न मिल्दैन । मुआब्जा आइसकेको थिएन ।

परिवारको फिरौतीका लागि रकम जोहो गर्न सकेन ।मुआब्जा नै आए पनि दुई भाइ बुवाका ५ भाइ छोरालाई भाग लाग्ने श्रीराम बताउँछन् ।

‘काकाको मासु पसलमा काम गर्थे, पछि उहाँले तैँ चला भनेर दिनुभएको हो’, उनले भने ‘मासु पसलबाट खान, लत्ता कपडा र बाबुहरुलाई पढाउन पुग्थ्यो । फिरौती रकम जोहो गर्न सक्ने अवस्था थिएन ।’

एकातिर प्रहरीलाई खबर गर्दा अर्को छोरा समेत मारिदिने धम्की, अर्कोतिर फिरौती रकम जोहो गर्न नसकेको अवस्था । फिरौतीका लागि पटक पटक फोन आइरहेको थियो । उनी के गर्ने कसो गर्ने भने समस्यामा थिए । अन्ततः उनले प्रहरीको सहयोग लिने निर्णय गरे । मंसिर २४ गते एक प्रहरी अधिकारीसँग यसबारे सरसल्लाह गरे । भोलिपल्ट गएर प्रहरीलाई लिखित जानकारी गराए ।

फोनलाई पछ्याउँदा भेटियो अभियुक्त र शव

क्लु नपाएर अलमलिएको प्रहरीलाई फिरौतीको फोनले अनुसन्धानको बाटो खोलिदियो । फोन पछ्याउँदै जाँदा पुस ९ गते वीरगञ्ज–१७ अलौं बस्ने कृष्णा भन्ने २४ वर्षीय श्यामप्रसाद यादव पक्राउ परे ।

उनले नै गुरूकुल पन्ना मेमोरियल इंग्लिस स्कुलको पुरानो भवन अगाडि रहेको शौचालयको सेप्टिक ट्याङकीमा शव रहेको बताए । प्रहरीले आइतबार साँझ निरजको शव सेप्टिक ट्याङकीको रिङ भित्रबाट निकाल्यो ।

श्यामकै बयानको आधारमा धोविनी गाउँपालिका–१ घोडदौड पिप्रा घर भई वीरगञ्ज बस्दै आएका ३० वर्षीय दिलिपकुमार पटेल पनि पक्राउ परे । दिलिप गुरूकुल पन्ना स्कुलको गणित शिक्षक र सहायक प्रधानाध्यापक हुन् ।

मृतक निरज सोही विद्यालयको कक्षा ८ मा पढ्थे । १२ दिनसम्म घटना बाहिर नआएपछि फिरौती लिने उद्देश्यले निरजको बुवालाई फोन गरेको बयान उनीहरुले प्रहरी समक्ष दिएका छन् ।

दिलिपलाई फिरौती माग्न प्रयोग गरिएको सीम र मोबाइल सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरी चिनजान भएका कारण सजिलै अपहरण गरे पनि व्यवस्थापन गर्न नसकेर हत्या गरेको अनुसन्धानबाट खुलेको बताउँछन् ।

‘दिलिप निरजको शिक्षक भएकोले अपहरण गर्ने उद्देश्यले कोठामा बोलाएछन् । अरु दुई जनाको सहयोगमा हात, खुट्टा, मुखमा बाँधे । अग्लो ज्यान भएको किशोर निरजले छुट्न सकेको बल गरे, मुख बाँधे पनि चिच्याउने प्रयास गरे’, उनी भन्छन्, ‘बाटो छेउकै घरमा निरजलार्ई ‘आइसोलेटेड’ गर्न सहज थिएन, कब्जामा लिइसकेकोले छोड्ने अवस्था पनि भएन । पहिचान खुल्ने डर भयो । त्यसपछि घाँटी थिचेर हत्या गरेका रहेछन् ।’

अपहरण गरेकै दिन हत्या गरेपछि अभियुक्तहरुले घटना लुकाउन सेप्टिक ट्याङकी लगेर शव गाडेको उनी बताउँछन् । शरीरको माथिल्लो भागको कपडा खोलेर जिन्स पाइन्ट र बेल्ट लगाएकै अवस्थामा टाउको र खुट्टा बाँधेर डल्लो पारेर शवलाई सेप्टिक ट्याङकी रिङमा हालेर पुरिएको थियो ।

फिरौतीकै लागि हत्या

प्रहरीले शंकास्पद तीन जना अभियुक्त मध्ये २ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ परेका मध्ये शिक्षक समेत रहेको दिलिप नै मुख्य योजनाकार रहेको प्रहरीको ठहर छ ।

उनीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको थियो । उनीहरुले अपहरणपछि हत्या गरेको बयान दिएको दावी प्रहरीको छ ।

उनीहरु विरुद्ध पर्सा जिल्ला अदालतबाट अपहरण वा शरीर बन्धक बनाई कर्तव्य ज्यान (ज्यान सम्बन्धि कसूर) मा म्याद अनुमति लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक कोमल साहले पैसा कै लागि अपहरण र हत्या गरिएको बताए । ‘आर्थिक समस्यामा परेपछि पैसाका लागि नै अपहरण गरेको देखिन्छ । तर बालकले प्रतिरोध गरेपछि हत्या गरेका रहेछन्’, उनले भने, ‘निरजको परिवारको आर्थिक अवस्था तत्कालै ५० लाख दिन सक्ने त थिएन, तर जग्गा मुआब्जाको प्रक्रियामा रहेको र बार्गेनिङ गर्दा कम नै सकार गर्ने उद्देश्य हुन सक्छ ।’

घटनामा संलग्न अर्को अभियुक्तको पहिचान भइसकेकोले छिट्टै पक्राउ गरी कानुनको दायरामा ल्याउने उनले बताए ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?