+

खेलाडी अनुबन्धनमा आक्रामक संकटाको लिग जित्ने लक्ष्य

२०७९ पुष  १३ गते १८:४२ २०७९ पुष १३ गते १८:४२
खेलाडी अनुबन्धनमा आक्रामक संकटाको लिग जित्ने लक्ष्य

१३ पुस, काठमाडौं । संकटा क्लबले आसन्न शहीद स्मारक ए डिभिजन लिगलाई मध्यनजर गर्दै मंगलबार राष्ट्रिय टिमबाट खेलिसकेका ६ खेलाडी भित्र्याएर आक्रमक सुरुवात गरेको छ ।

सात दशक लामो इतिहास बोकेको र तीन पटक ए डिभिजन लिगको उपाधि जितिसकेको संकटाले चौथोपल्ट लिग च्याम्पियन बन्ने लक्ष्य लिएको छ ।

संकटाले पहिलो चरणमा राष्ट्रिय टिमका विंगरद्वय सुनिल बल र आयुष घलानसहित मिडफिल्डर सुरज जिउ ठकुरी, डिफेण्डर गौतम श्रेष्ठ र निशान खड्का तथा गोलकिपर टीकेन्द्र थापालाई अनुबन्धन गरेको हो ।

सुनिलले गत सिजन च्याम्पियन टिम मछिन्द्र फुटबल क्लबबाट खेलेका थिए भने आयुष र निशान थ्रीस्टारमा थिए ।

यस्तै सुरज र टिकेन्द्रले जावलाखेल युथ क्लबबाट खेलेका थिए । जावलाखेलकै पूर्व खेलाडी समेत रहेका गौतमले भने त्रिभुवन आर्मी फुटबल क्लबबाट पछिल्लो लिग खेलेका थिए ।

च्याम्पियन बन्ने लक्ष्य

संकटाले २०३७, २०४० र २०४२ सालको संस्करणमा ए डिभिजन लिग जितेको थियो । गत संस्करणमा सातौं स्थानमा रहेको संकटा ३७ वर्षदेखि लिग उपाधिको प्रतीक्षामा छ । २००८ सालमा स्थापित क्लबको यस पटक भने संकटाले उपाधिलाई मुख्य लक्ष्य बनाएर खेलाडी अनुबन्ध सुरु गरेको छ ।

‘हामीले पहिलो चरणमा ६ खेलाडीले एकमुष्ट रुपमा अनुबन्ध गरेका छौं । लिग नजितेको लामो समय भइसकेको छ । यस पटक लिगको उपाधि जित्ने लक्ष्यका साथ हामी अगाडि बढेका छौं । त्यसैको सुरुवात भइसकेको छ,’ संकटाका कोषाध्यक्ष रवि बज्राचार्यले अनलाइनखबरसँग भने ।

लिग च्याम्पियन बन्नका लागि खेलाडीदेखि मैदान बाहिरको व्यवस्थापन पनि चुस्त हुनुपर्ने क्लबले बुझेको छ । पछिल्लो दुई सिजन लिग जितेको मछिन्द्रले नाम चलेका र स्टार खेलाडीहरु जम्मा गर्नुका साथै टिम व्यवस्थापन पनि चुस्त बनाएको थियो । यो अन्य क्लबहरुको लागि पनि उदाहरण हो ।

हुनत गत सिजन पनि संकटाले लिग च्याम्पियन बन्ने महत्वाकांक्षी लक्ष्य राखेको थियो । तर क्लबकै पूर्व खेलाडी विष्णु गुरुङको प्रशिक्षणमा संकटाले राम्रो सुरुवात गरे पनि खेलाडीलाई चोटले सताउँदा सुखद अन्त्य गर्न सकेन । संकटा टिम लिगमा सातौं भएको थियो ।

टिम निर्माण र तयारी

अखिल नेपाल फुटबल संघ एन्फाले पुस २६ गतेदेखि डबल लिग गर्ने यसअघि निर्णय गरे पनि समयमै क्लबहरुले तयारी खर्च नपाएको भन्दै विरोध गरेपछि प्रतियोगिताको नयाँ मिति निर्धारण हुने लगभग निश्चित छ ।

यस्तो अवस्थामा क्लबहरु लिगको तयारीका लागि खर्च कहिले पाउँछन् भनेर पर्खिरहेका छन् । संकटाले भने खेलाडी अनुबन्धनलाई आक्रमक रुपमा अघि बढाएको छ ।

अझै केही खेलाडी अनुबन्धको चरणमा रहेको र विदेशी खेलाडी अनुबन्धका लागि पनि कुरा भइरहेका बज्राचार्यले जानकारी दिए । गत सिजन लिग खेलेका कप्तान रवि सिलवालसहित केही खेलाडी नयाँ सिजनका लागि पनि क्लबमा हुनेछन् ।

‘हामी अझै २–३ खेलाडी अनुबन्ध गर्नेछौं । त्यसमा विदेशी खेलाडीहरु ५–६ जना थप हुनेछ । केही रिजर्भ खेलाडीहरु पनि टिममा राख्नेछौं,’ बज्राचार्यले भने ।

रविसहित सरोज दाहाल, दीपेन्द्र विक, गणेश हमाल, रोशन पहारी, दिपेश आले मगर र शीर्षक तुलाधरले संकटाबाटै नयाँ सिजन खेल्नेछन् । त्यसमा ६ नयाँ खेलाडी अनुबन्ध भइसकेको छ । यसबाहेक गोलकिपरमा अर्का नयाँ खेलाडी थप गरिएको छ । गत सिजन लिगको सुरुवातमै घाइते भएका विदेशी खेलाडी अर्नेस्ट थम्पी पनि लिगको समयसम्म फिट हुने क्लबको विश्वास छ ।

यस्तै गत सिजन एनआरटीबाट लिग खेलेका आन्द्रे बिक पनि यस सिजन संकटामा आइसकेका छन् । बाँकी विदेशी खेलाडी अनुबन्धका लागि क्लबले प्रक्रिया थालिसकेको बताएको छ ।

१४ पुसदेखि पोखरामा सुरु हुने २२औं आहा १ रारा पोखरा गोल्डकप खेल्ने तयारीमा रहेको संकटाले अहिले १८ जना खेलाडी टिममा राखेको छ । त्यसपछि संकटाले बागमती गोल्डकप खेल्ने छ भने मोफसलका अन्य गोल्डकप पनि खेल्ने तयारी रहेको बज्राचार्यले बताए ।
ए डिभिजन लिग तोकिएको मिति भन्दा एक महिना बढी समय सर्ने भएकोले त्यसअघि गोल्डकप खेलेर लिगको लागि राम्रो तयारी गर्ने उनले बताए ।

क्लबले अहिले मध्यपुरमा रहेको मैदानमा तयारी गरिरहेको छ । आहा रारा गोल्डकप खेलेपछि लिगका लागि साँगामा रहेको आफ्नै मैदानमा तयारी गर्नेछ ।

बढाइयो बजेट

लिग च्याम्पियन बन्ने लक्ष्य राखेको संकटाको बजेटको आकार पनि ठूलो छ । पछिल्लो खेलाडी खेलाडीको तलब समेत बढेको छ भने ब्यवस्थपनमा पनि ठूलो खर्च हुने गरेको छ । कोषाध्यक्ष बज्राचार्यका अनुसार लिगका लागि संकटाको बजेट २ करोडभन्दा माथि छ ।

‘हामीले २ देखि सवा २ करोडको बजेट अनुमान गरेका छौं । त्यसका लागि विभिन्न प्रायोजकहरुसँग कुरा भइरहेको छ । मुख्य गरी हिमालयन बैंकसँग कुराकानी भइरहेको छ । यस्तै अन्य विभिन्न कम्पनीहरुसँग पनि कुरा भइरहेको छ,’ बज्राचार्यले भने ।

ए डिभिजनका सबै क्लबले एन्फाबाट तयारी खर्च बापत ३२ लाख पाउनेछन् । त्यसबाहेक प्रायोजकबाट ६० लाखको हाराहारीमा संकलन हुने क्लबको विश्वास छ । बाँकी रकमका लागि सहयोगको खोजी भइरहेको र आन्तरिक स्रोतबाट पनि खर्च गर्ने उनले जानकारी दिए ।

संकटा क्लबको माहंकालमा आफ्नै भवन छ । यस्तै नेपाल एअरलाइन्स नजिकै लिजमा पसलहरु सञ्चालन गरिरहेको छ । संकटाको आम्दानीको नियमित श्रोत त्यो पनि हो ।

बज्राचार्यका अनुसार क्लबले अहिले मासिक १५ देखि २० लाख आम्दानी गर्दै आएको छ भने त्यसमा आधा रकम खर्चमा जानेछ । क्बलले मन्दिर, व्यवस्थापन, रक्तदान लगायत विभिन्न सामाजिक कार्यसमेत गर्दै आएको छ ।

खेलाडीका लागि पनि क्लबले राम्रो रकम खर्च गरेको छ । ६ खेलाडीको अनुबन्ध रकम क्लबले खुलाएको छैन । तर, खेलाडीको तबल मासिक एक लाखभन्दा माथि रहेको बुझिएको छ ।

खेलाडीलाई अहिले पाँच महिनाको लागि अनुबन्ध गरिएको र लिग सुरु हुनु एक महिनाअघि तलब दिने गरी सहमति भएको बज्राचार्यले जानकारी दिए ।

प्रशिक्षक परिवर्तन

गत सिजन मुख्य प्रशिक्षक हरेका विष्णु गुरुङले यस सिजन संकटा छाडिसकेका छन् । नयाँ सिजनका लागि क्लबले पूर्व कप्तान तथा प्रशिक्षक सल्यान खड्गीलाई प्रशिक्षक बनाएको छ ।

सल्यान खड्गी टोलकै खेलाडी र प्रशिक्षक रहिसकेकोले उनीमाथि क्लबले पनि विश्वास राखेको छ । २०७५ सालको रेलिगेसनविनाको लिगमा खड्गीकै प्रशिक्षणमा संकटा दोस्रो भएको थियो ।

‘उनी स्थानीय नै हुन् । यसअघि पनि क्लबको कप्तानी गरिसकेका र प्रशिक्षक समेत रहिसकेका छन् । अहिले टिममा रहेका केही खेलाडीहरुले पनि पहिला उनकै प्रशिक्षणमा खेलिसकेका छन् । त्यसैले क्लबले उनीबाट ठूलो अपेक्षा गरेको छ,’ क्लबका कोषाध्यक्ष बज्राचार्य भन्छन् ।

गत सिजन सल्यान खड्गी बुटवलस्थित एन्फा एकेडेमीमा प्रशिक्षक रहँदा लिगका लागि उपस्थित थिएनन् ।

टिम वर्क र चुस्त व्यवस्थापनको चुनौती

नाम चलेका स्टार खेलाडीहरु भित्र्याएर लिग जित्ने संकटाको लक्ष्यमा चुनौती पनि उत्तिकै छ । कोषाध्यक्ष बज्राचार्यले पनि मैदान भित्र र बाहिरका चुनौती थुप्रै रहेको स्वीकार गरे ।

‘अहिले आधुनिक फुटबल धेरै परिवर्तन भइसकेको छ । मैदानमा हरेक पोजिसनमा उत्कृष्ट प्रदर्शन गर्नु त पर्छ नै, अन्य विभिन्न पाटोमा पनि उत्तिकै ध्यान दिनुपर्छ,’ बज्राचार्यले भने, ‘यसका साथै व्यवस्थापन चुस्त हुनुपर्छ । खेलाडीहरुमा अनुशासन हुनुपर्छ । टिम वर्क राम्रो हुनुपर्छ ।’

यसअघि मछिन्द्रले लगातार लिग जित्दा राम्रो व्यवस्थापन गरेको स्मरण गर्दै संकटाले पनि टिम वर्क र व्यवस्थापनको पक्षलाई ध्यान दिने उनले बताए ।

यस्तै प्रायोजक खोज्नको पनि चुनौती रहेको उनले बताए । उनले थपे, ‘स्पोनसरहरु पाउन गाह्रो छ । स्पोनसरहरुलाई पनि रिझाउनुपर्छ ।’

मैदानमा प्रदर्शनसँगै मैदान बाहिरको व्यवस्थापनलाई पनि चुस्त बनाउन सके लिग च्याम्पियन बन्नका लागि सहयोग हुने बज्राचार्यले बताए ।

संकटा क्लब
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय