 
																			१३ पुस, काठमाडौं । नयाँ सरकार निर्माण प्रक्रियामा छुटेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक भेटवार्ता र पार्टी बैठक बाक्लो बनाएका छन् ।
पूर्वप्रधानमन्त्री नेपालले बुधबार पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरुसँग भेटवार्ता गरे भने देशभरका कार्यकर्ताको कुरा भर्चुअल माध्यमबाट सुने ।
‘पार्टीले कुनै प्रष्ट निर्णय गरिसकेको छैन, छलफल भइरहेकाले कुराकानी हुने नै भयो । छलफल अझै सघन बनाउँछौ’, महासचिव डा. वेदुराम भुसाल भन्छन् । राष्ट्रिय राजनीतिमा पार्टीले ठोस निर्णय नगरेसम्म बैठक र संवादलाई निरन्तरता दिइने उनी बताउँछन् ।
आन्तरिक छलफलका क्रममा बुधबार एकीकृत समाजवादीले भूगोल कमिटीका नेताहरुसँग राय लिएको छ । ‘जिल्लाका नेताहरुबाट तीनथरी सुझाव आएको छ, धेरैको जोड अलमलमा बस्नुहुँदैन भन्ने छ’, महासचिव डा. भुसाल भन्छन् । उनका अनुसार, पहिलो सुझाव सरकारलाई समर्थन गरेर जानुपर्छ भन्ने छ ।
यसमा पनि दुईथरी मत छ । कतिपयले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन मात्रै गर्नुपर्ने र कतिपयले सरकारमै सहभागी हुनुपर्ने सुझाव दिएका छन् ।
अर्काथरीले सत्ताको अलमलमा नपरी प्रतिपक्षमा रहेर पार्टी निर्माणमा लाग्नुपर्ने सुझाव दिएका छन् । सानो संख्याका नेताहरुले ‘पर्ख र हेरको नीति’ लिनुपर्ने मत राखेका छन् । एकीकृत समाजवादीले बिहीबार गैरभौगोलिक कमिटीका नेताहरुको सुझाव लिंदैछ भने १६ पुसमा स्थायी कमिटी र १८ पुसमा पोलिट्ब्यूरो बैठक बोलाएको छ । त्यसपछि केन्द्रीय कमिटी बैठक राख्ने तयारी गरेको छ ।
गठबन्धन बदल्दै एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपछि एकीकृत समाजवादीका नेताहरु अनौपचारिक छलफल लगातार जुटिरहेका छन् । ‘प्रचण्डले बिना समन्वय निर्णय लिएकाले हामी अप्ठ्यारोमा पर्यौं । अहिले हाम्रासामु चाँडै एउटा निर्णयमा पुग्नुपर्ने बाध्यता छ’, एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन् ।
२ भदौ २०७८ मा एमालेबाट अलग भएपछि कांग्रेस नेतृत्वको गठबन्धनमा रहेर सरकारमा सहभागी भएको र तीन तहकै चुनावमा भाग लिएको एकीकृत समाजवादीलाई कुनै पनि विकल्प सजिलो भने देखिएको छैन । त्यसैकारण, पार्टी कार्यकर्तादेखि अन्य दलका नेताहरुको प्रस्ताव समेत सुनिरहेका माधव नेपालले कुनै निर्णय लिन सकेका छैनन् ।
बुधबार प्रधानमन्त्री प्रचण्ड र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ दुवैसँग भेटवार्ता गरे । हात्तीवनस्थित एक निजी घरमा प्रचण्डसँग माधवको कुराकानी भएको थियो । एक नेताका अनुसार, प्रचण्डलाई एक्लै हिंडेको गुनासो गरेका थिए । ‘सँगै जाने त्यत्रो कुरा गरेको, आज सोध्न समेत आवश्यक नठान्ने ?’ नेपालको गुनासो थियो ।
प्रचण्डले परिस्थिति नै त्यस्तो बनेको जवाफ फर्काएका थिए । तर सहकार्य कायम राख्नुपर्ने प्रचण्डको प्रस्ताव थियो । माधवले भने पार्टीका नेताहरुसँग छलफल गरेर निर्णय लिने जवाफ दिएको ती नेताले बताए ।
तीन दिनदेखि माधव नेपाल यो भेटको पर्खाइमा थिए । प्रधानमन्त्रीको शपथ लिएपछि प्रचण्ड र माधव नेपालबीच सोमबार नै चम्पादेवीमा भेटवार्ता गर्ने कुरा भएको थियो । त्यसदिन फुर्सद नमिलेकाले रद्द भएको भेटवार्ता मंगलबार पनि हुन सकेन । बुधबार भने प्रचण्डकै नातेदारको घरमा भेटवार्ता भयो ।
प्रचण्डसँग छुटेका माधव नेपाललाई भेट्न उपप्रधानमन्त्री श्रेष्ठ पनि कोटेश्वर पुगेका थिए । श्रेष्ठले प्रचण्डकै जस्तो प्रस्ताव राखे । ‘माओवादीको प्रस्ताव हामीलाई समर्थन गरिदिनुहोस्, सत्तामा सहकार्य गरौं भन्ने छ’ नेपाल निकट एक नेता भन्छन् ।
माओवादी केन्द्रका नेताहरुसँग जस्तै अध्यक्ष नेपालले एमालेका नेताहरुसँग पनि लगातार सम्वाद गरिरहेका छन् । एमाले नेताहरुले भने एकीकृत समाजवादीलाई सत्ता सहकार्य मात्रै नभएर एकतासम्मकै प्रस्ताव लगेका छन् ।
पहिले गठबन्धन, अनि एकता
अध्यक्ष नेपाललाई बुधबार मात्रै भेटेका एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेत, चुनावी जनादेश नै कम्युनिष्टहरू अलग–अलग बस्न हुन्न भन्ने रहेको बताउँछन् । ‘जनताले दिएको म्याण्डेट एक हौं भन्ने नै हो । यदि कम्युनिस्टहरु मिलेको भए यो चुनावमा पनि बहुमत हुन्थ्यो, एमाले मिलेको भए पहिलो दल हुन्थ्यौं’ बस्नेत भन्छन्, ‘हाम्रोसामु अब मिल्नुबाहेक अर्को विकल्प छैन ।’
उनी भन्दा अगाडि उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपाललाई भेटेका थिए । अर्का उपाध्यक्ष सुवास नेम्वाङले त इलामको विजयसभाबाटै एकीकृत समाजवादीलाई पुरानै घर फर्कने बाटो खुलेको बताएका थिए । काठमाडौं आएपछि नेम्बाङ, पौडेल, गुरुङ लगायत नेताहरुले एकीकृत समाजवादीसँग एकता गर्नुपर्ने पहलकदमी लिइरहेका छन् ।
प्रचण्ड नेतृत्वमा सरकार बनेर एउटा आधार बनिसकेको यी नेताहरुको बुझाइ छ । ‘वाम नेतृत्वको सरकार बन्यो, भोलि (बिहीबार) तीन जनाको कुरा हुँदैछ’, एमालेका एक नेता भन्छन् । उनका अनुसार, केपी शर्मा ओली, प्रचण्ड र माधव नेपालबीच भेटेर कुरा गर्ने टुंगो लागिसकेको छ ।

सोमबार नै ओली र नेपालबीच २० महिना लामो संवादहीनता टुटेको थियो । प्रचण्डको शपथ समारोहमा यी दुई नेताबीच कुराकानी भइसकेकाले थप संवाद गर्ने आधार बनेको छ । ‘हामी कसैले पनि भनेजस्तो चुनावी नतिजा आएन । अब फेरि एकताबद्ध हुनु नै राम्रो हो’ एमालेका एक पदाधिकारी भन्छन् ।
चुनावमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेको थियो । माओवादी र एकीकृत समाजवादीले भने एमालेलाई कमजोर बनाएर सम्मानजनक सिट ल्याउने उद्देश्य लिएको थियो । तर कांग्रेस सबैभन्दा ठूलो दल हुँदा २०७४ मा जितेको भन्दा एमालेले ४३ र माओवादी केन्द्रले २१ सिट गुमायो ।
ठूलो क्षति एकीकृत समाजवादीलाई भयो । २४ प्रतिनिधिसभा सदस्य लिएर फुटेको एकीकृत समाजवादीले गठबन्धन गर्दा पनि प्रत्यक्षतर्फ १० सिट मात्रै जित्यो । समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन सकेन । ५२ प्रदेशसभा सदस्य लिएर फुटेको एकीकृत समाजवादी सातै प्रदेश गरी यसपटक २४ जनामा खुम्चियो । स्थानीय चुनावमा पनि भएकै सिट जोगाउन सकेन । १४ सय जनप्रतिनिधिबाट ९८६ जनामा झरेको छ ।
अझ सहकार्य मात्रै नभएर एकताकै छलफल गरिरहेको माओवादी केन्द्रले एमालेसँग मिलेर सरकार बनाएपछि एकीकृत समाजवादी ठूलो संकटमा परेको छ । यस्तो बेला एमाले नेताहरुले भने सत्ता सहकार्य र त्यसपछि पार्टी एकताको गृहकार्य गरिरहेका छन् । ‘यसले एकीकृत समाजवादीलाई मात्रै नभएर हामीलाई पनि फाइदा हुन्छ, संसदमा पहिलो दल बन्छौं’ एकताको पहल गरिरहेका एक नेता भन्छन् ।
एकीकृत समाजवादीले जितेको १० सिट जोड्दा प्रतिनिधिसभामा एमालेको ८८ सिट हुन्छ । यो भनेको कांग्रेसले जितेको भन्दा एक सिट मात्रै कम हो । त्यसमा मोरङ–५ मा स्वतन्त्र जितेका योगेन्द्र मण्डल तान्दा कांग्रेससँग बराबरीको पार्टी हुनेछ ।
एमालेले जसपासँग तालमेल गरेपछि मण्डलले स्वतन्त्र उम्मेदवार बनेर जितेका छन् । अरु एक स्वतन्त्र सांसद तान्न सक्दा एमाले संसदको ठूलो दल हुनेछ । एकता भएमा प्रदेशसभातर्फ पनि एकीकृत समाजवादीका २४ सांसद एमालेमा थपिनेछ ।
एकीकृत समाजवादीमा पनि एमाले फर्कनुपर्ने आवाज उठिरहेकाले एकता निष्कर्षमा पुग्ने विश्वास एमाले नेताहरुमा देखिन्छ । पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेता मुकुन्द न्यौपानेलगायत नेता सार्वजनिक रुपमै एमालेसँगै मिल्नुपर्ने पक्षमा छन् ।
तर अध्यक्ष नेपालले भने एमाले र माओवादी केन्द्रका नेताहरुलाई जस्तै पार्टीभित्र पनि ‘छलफल गरौं’ को जवाफ दिइरहेका छन् । ‘एकता नै गर्ने भएपनि त्यो रातारात हुँदैन । औपचारिक प्रस्ताव आउनुपर्यो, पार्टीको धारणा बनाउनुपर्यो’ एकीकृत समाजवादीका एक पदाधिकारी भन्छन्, ‘सैद्धान्तिक पक्ष र नेता व्यवस्थापनको कुरा अझै जटिल छ ।’
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, वाम नेतृत्वको सरकार बनेर ध्रुवीकरण जग तयार भएको बताउँछन् । ‘सरकार गठनसँगै वाम सहकार्य सुरु भइसक्यो । यसले वाम तालमेल र एकतासम्म लैजान बल पुगेको छ’, रिजाल भन्छन् ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4