+
+

सरकारमा जान सक्छाैं, घनश्याम भुसालजी हामीसँग आउने सम्भावना छ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १७:३०

१४ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने संकेत दिएका छन् ।

गैरभौगोलिक कमिटीका नेताहरुलाई बिहीबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी सरकारमा सहभागी हुन सक्ने संकेत दिएका हुन् ।

‘अध्यक्ष कमरेडको संकेत सरकारमा सहभागी हुनुपर्छ भन्ने नै देखिन्छ, त्यसबारे सुझाव लिइरहनुभएको छ’, भर्चुअल बैठकमा सहभागी एक नेताले भने । उनका अनुसार, अध्यक्ष नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेपछि विकसित घटनाक्रमबारे जानकारी दिएका थिए ।

ब्रिफिङकै क्रममा अध्यक्ष नेपालले सरकारमा जाने कि नजाने भन्ने सुझावसमेत माग गरेका थिए । ‘धेरैको सुझाव सरकारमा जानुपर्छ भन्ने नै छ, केहीले भने पार्टी निर्माणमा लाग्नुपर्छ भनेका छन्’, ती नेता भन्छन् । सरकारमा गएर जनतासँग जोडिने मन्त्रालय लिएमा पार्टी निर्माणमा सहयोग पुग्ने सुझाव अध्यक्ष नेपाललाई दिइएको ती नेताले अनलाइनखबरलाई बताए ।

‘प्रतिपक्षमा बसेर जनताको काम गर्न सकिँदैन, बरु राम्रो मन्त्रालय लिएर सरकारमा जानु नै उचित हुन्छ भन्ने धेरैको मत छ’, भर्चुअल बैठकमा सहभागी अर्का नेताले भने । तर नेकपा एमालेसँग तत्काल एकतामा जान हतार हुने सुझाव धेरैले दिएका छन् ।

अध्यक्ष नेपालले भने एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै कुरा भए पनि पार्टी एकतासम्मको कुरा नभएको ब्रिफिङ गरेका थिए । ‘एकताको औपचारिक प्रस्ताव आएको छैन, अनौपचारिक कुराकानीलाई आधार मानेर बोल्नुहुन्न’, अध्यक्ष नेपालको भनाइ उदधृत गर्दै ती नेताले भने ।

तर प्रधानमन्त्री प्रचण्ड सहित एमाले र माओवादी नेताहरुले सरकारमा सहभागी हुन गरेको प्रस्तावमाथि पार्टीमा छलफल गर्नुपर्ने अध्यक्ष नेपालले बताएका छन् । उनले सोचेरै निर्णय लिन विभिन्न पक्षसँग कुराकानी भइरहेको बताएका छन् ।

ओली, प्रचण्ड, वामदेव गौतमदेखि घनश्याम भूसाल र भीम रावलसँग पनि कसरी अगाडि बढ्ने भन्नेबारे कुराकानी भइरहेको अध्यक्ष नेपालले बताएका छन् । ‘भुसालजी हामीसँग आउने सम्भावना छ । भीम रावलसँग पनि कुरा भइरहेको छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?