+
+

प्रचण्डलाई समर्थन दिनुअघि माधव नेपाल चाहन्छन् सम्मानजनक प्रस्ताव

रामकुमार डिसी रामकुमार डिसी
२०७९ पुष १४ गते २१:१३

१४ पुस, काठमाडौं । तत्कालीन नेकपाको विवाददेखि आफूलाई बलियो साथ दिएका माधव नेपाललाई प्रधानमन्त्री बन्ने निर्णायक घडीमा भने पुष्पकमल दाहाल प्रचण्डले सँगै लिन सकेनन् ।

नेपालसँग गतिलो सल्लाह नै नगरी प्रचण्ड बालकोटमा गएर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको साथ लिएर प्रधानमन्त्री बने ।

यसबाट नेपाल निकै दुखित भएका छन् । १२ पुसमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममै गुनासो पोख्दै उनले भनेका थिए, ‘अस्ति हाम्रो पार्टीको संलग्नता बेगर, हाम्रो पार्टीलाई जानकारी नदिइकन प्रचण्ड अरुको समर्थनमा प्रधानमन्त्री भए। प्रचण्डजीको यो व्यवहारबाट म दुःखी छु ।’

तर, राजनीति सधैं यसरी पनि चल्दैन । जस्तै चित्त फाटेको भए पनि राजनीतिमा वाद–संवाद गर्नै पर्छ । शपथ लिएको दोस्रो दिनमै प्रचण्ड–माधव संवादमा जोडिए ।

ललितपुरस्थित प्रचण्डको आफन्तको घरमा बुधबार उनीहरुबीच भेट भयो । ओलीसँगको छलफलमा सहभागी नगराएकोमा माधवले प्रचण्डसँग असन्तुष्टि पोखे । प्रचण्डले पनि नबोलाउनु आफ्नो गल्ती भएको स्वीकार गरिदिए ।

सरकार गठनकै बेला संलग्न गराउन नपाएको भए पनि अहिले प्रचण्डले आफ्नो सरकारलाई सर्मथन जनाउन सहयोग मागेका छन् ।

प्रचण्ड सरकारलाई सहयोग गर्ने या नगर्नेबारे नेपालले दुई दिन लगाएर भर्चुअल मिटिङ मार्फत नेता कार्यकर्ताको ‘मुड’ समेत बुझेका छन् । बुधबार जिल्ला अध्यक्ष, इन्चार्ज र केन्द्रीय सदस्यहरुसँग छलफल गरे भने बिहीबार भ्रातृ संगठनसँग ।

बिहीबार भर्चुअल मिटिङमार्फत अध्यक्षको धारणा सुनेका एकीकृत समाजवादीको भ्रातृ संगठनका नेताहरुका अनुसार नेपाल प्रचण्ड सरकारलाई सर्मथन दिने पक्षमा छन् ।

विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीका अनुसार अध्यक्ष नेपालले प्रचण्डको सरकारप्रति नकरात्मक हुनुपर्ने कुनै कारण नभएको बताएका थिए । ‘एमाले र माओवादी र समाजवादीको वार्तापछि सरकारलाई विश्वासको मत दिने भन्ने आशय अध्यक्षको थियो’, उनले अनलाइनखबरसँग भने ।

बैठकमा सहभागी अर्को भ्रातृ संगठनका एक नेता पनि आफ्नो पार्टीले प्रचण्डलाई सर्मथन दिन्छ भन्ने कुरा बुझेको बताउँछन् । ‘नयाँ सरकारलाई विश्वासको मत दिने कुरा हुन्छ जस्तो मलाई लाग्छ’, उनले भने ।

तर, नेपालले सरकारलाई विश्वासको मत दिने औपचारिक निर्णय पार्टीबाट गराउनुअघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबाट सम्मानजनक प्रस्ताव आओस् भन्ने चाहेका छन् ।

‘ठोस परिस्थितिको विश्लेषण गर्छौं, परिस्थितिको मूल्यांकन गरेर हाम्रो पार्टी अगाडि बढ्छ’, बिहीबारको बैठकमा नेपालले भनेका थिए, ‘यसमा हतार गर्नुपर्ने कुरा छैन । उच्च नेतृत्व (एमाले, माओवादी र एकीकृत समाजवादी) छलफलमा बसेपछि आधार तयार हुन्छ ।’

हात्तीवनस्थित प्रचण्डको आफन्तको घरमा भएको भेटमा पनि नेपालले प्रचण्डसँग सहकार्यको ठोस प्रस्ताव माग गरेका थिए ‘तपाईंको प्रस्तावलाई म पार्टीको औपचारिक बैठकमा राख्नेछु, त्यहाँ के सुझाव आउँछ त्यसपछि अघि बढौँला,’ प्रचण्डले सहयोग माग्दा नेपालको भनाइ थियो, ‘तपाईंले पनि ठोस प्रस्ताव राख्नुपर्‍यो ।’

ठोस प्रस्ताव भनेर नेपालले राज्यका मुख्य पदहरुमा शक्ति बाँडफाँटतर्फ संंकेत गरेका थिए । उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाको भनाइले पनि त्यसलाई पुष्टि गर्छ । उनी भन्छन्, ‘उनीहरु आफू पहिले गएर सरकार बनाउने, अनि हामीलाई आइज भनेपछि हामीले पनि सोच्नुपर्‍यो, हामीले सरकारलाई किन सर्मथन गर्ने ? हामीले सर्मथन गर्दा हाम्रो पार्टीलाई के लाभ हुन्छ ?’

खतिवडाले दुई दिनसम्म अध्यक्ष नेपालले सबैको धारणा सुनेको र यसबारे निर्णय लिन १६ गते स्थायी कमिटी बैठक बोलाइएको बताए । ‘१६ गते स्थायी कमिटी बैठक बोलाइएको छ, हामी त्यसपछि निर्णय लिन्छौं’, उनले भने ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?