
श्रद्धेय सन्त नेता किसुनजी (पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई)ले नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको आरजु राणासँग भएको विवाहलगत्तै भन्नुभएको थियो, ‘ल आरजुजी, आजसम्म शेरबहादुरजी हाम्रो हुनुहुन्थ्यो, अब केवल तपाईंको हुनुभयो ।’
दूरदर्शी नेता किसुनजीले कालान्तरमा देउवाको राणामा हुने ‘पलायन’का बारे उहीबेलै बुझिसक्नुभएको रहेछ । तर, सिंगो कांग्रेसजनले देउवाले कांग्रेसलाई ‘खरानी’ बनाइसक्दा मात्र भेउ पाउने भए । हिजोका देउवामा लोकतन्त्रप्रतिको अगाध स्नेह मात्र नभई काफी ‘प्रतिबद्धता’ समेत थियो । बीपी कोइरालाले समेत कलिलै उमेरमा पत्याएर सुदूरपश्चिम हुँदै सिंगै राष्ट्रको नेता बनाउनकै निम्ति ‘स्पेस’ उपलब्ध गराएका थिए । तर, तिनै देउवा कालान्तरमा नेपालकै जेठो पार्टी ‘नेपाली कांग्रेस’लाई जनताका बीचबाट ‘अलग्याउन’ काफी भए ।
पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालादेखि महामन्त्री गगनकुमार थापासम्मको पार्टी संस्थापन ‘इतर’को धार निर्वाचनपूर्व गठबन्धनको पक्षमा थिएन । अनेक तिकडमका बावजुद देउवाद्वारा बहुमत पुर्याइएको केन्द्रीय समितिमा ‘कोइराला–थापा’ पक्षको जोर चलेन । पार्टी गठबन्धनकै पक्षमा गयो । त्यति मात्र नभई ‘माओवादी–समाजवादी’ हार्ला भन्ने डरले पार्टी संस्थापन पक्षले आफ्नै कार्यकर्ता माथि ‘कारबाहीको डण्डा’ तेस्र्याउँदै वक्तव्यरूपी ‘फर्मान’ जारी गरिनै रह्यो ।
घटना त्यतिमा मात्र रोक्ने पक्षमा कांग्रेस संस्थापन पक्ष थिएन । पुस १५ को ‘डेडलाइन’ दिएर ‘माओवादी–समाजवादी’लाई भोट नदिनेको नामावली पठाउन अर्काे ‘फर्मान’ जारी गर्यो ! जुन म्याद पुनः थपिएको छ । अब यहींनेर प्रश्न उठ्छ– कारबाही चुनावका समय ‘रूख चिह्न’ खोज्नेलाई कि, कांग्रेसको मतदाताले मतदान गरेर जिताएका ‘प्रचण्ड’लाई गठबन्धनमा टिकाउन नसक्ने देउवा तथा ‘पार्टी संस्थापन’लाई भन्ने विषयले कांग्रेस केन्द्रीय समिति बैठकमा जोडदार रूपमा प्रवेश पाउनुपर्ने देखिन्छ ।
विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आगामी २२ गतेका लागि कांग्रेसले आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त बैठकबारे केही राजनीतिक पूर्वानुमान लगाउन सकिन्छ । त्यो विषय भनेको आफ्नो गल्ती छोप्न पार्टी संस्थापन पक्षले उल्टै संस्थापन ‘इतर’कै कारण कांग्रेस सम्पूर्ण सत्ताबाट बाहिरिनु परेको ‘गज्जबको कथित भाष्य’ सिर्जना गर्नेछ ।
सँगै, देउवापक्षीय केही ‘बाहुवली’ले पाखुरा सुर्कंदै संस्थापनइतर ‘कोइराला–थापा’ पक्षमाथि हातै हाल्न पुग्यो भने पनि अनौठो नमाने हुन्छ । संघीय सरकारदेखि प्रदेशहुँदै संवैधानिक नियुक्तिदेखि राष्ट्रपति, सभामुख जस्ता महत्वपूर्ण पोजिसन गुमाउन पुगेको कांग्रेसको संस्थापन पक्ष ‘आफ्नो लाज ढाक्न’ केन्द्रीय समितिमा उल्टै चर्काे रूपमा प्रस्तुत हुने कुरामा शंकै रहेन ! पार्टी संस्थापन पक्षले बोलाउँदै नबोलाएको ‘बालुवाटार बैठक’ छाडेर किन पोखरा हान्निएको भनेर महामन्त्रीद्वय ‘थापा–शर्मा’ माथि कटाक्ष गर्दै उल्टै कारबाहीको माग गर्ने सम्भावना छँदैछ । किनकि, यस्तै ‘कथित’ तर्क गरेर यो समीक्षावाला केन्द्रीय समिति बैठक ‘टार्नु छ’ देउवा पक्षलाई ।

पार्टी संस्थापन पक्षले संस्थापन इतर पक्षलाई गरेको व्यवहारबाट उत्पन्न परिस्थितिसँग भारतीय कंग्रेस आईको एउटा घटना मेल खान्छ । बीजेपीबाट अहिले आसामका मुख्य मन्त्री छन्– डा. हिमन्त विश्व शर्मा । ५३ वर्षीय मुख्यमन्त्री शर्मा कुनै बेला कंग्रेस आईमा थिए । कंग्रेस आईमै रहँदा पार्टी नेता राहुल गान्धीलाई भेट्न मुख्यमन्त्री शर्मा गान्धी निवास पुग्दा नेता राहुल ‘कुकुरलाई बिस्कुट’ खुवाइरहेका थिए । नेता गान्धीसामु पुगेर शर्माले अभिवादन गरे, तर गान्धीले कुनै प्रत्युत्तर फर्काएनन् ! केही क्षणको उभ्याईपश्चात् बोल्न पुगेका गान्धीले डाक्टर शर्मालाई बिस्कुट खान अनुरोध गरे र त्यही कुकुरलाई दिइराखेको बिस्कुटको प्लेट डाक्टर शर्मातिर सारिदिए !
आफूले मान्दै आएको नेताबाट गरिएको व्यवहारको त्यो चोट बोकेर बाहिरिएका डाक्टर शर्मा अन्ततः भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरे, जो आज आसामका मुख्यमन्त्री छन् । नेपाली कांग्रेसमा पनि पार्टी संस्थापन पक्षले आजका मितिमा संस्थापन इतर ‘कोइराला–थापा’ पक्षलाई गरेको व्यवहार ‘नेता राहुलले डाक्टर शर्मा’लाई गरेको व्यवहार भन्दा कम छैन ।
तसर्थ पनि आसन्न केन्द्रीय समिति बैठकमा देशैभरका कांग्रेसका नेता, कार्यकर्ताको भविष्यका खातिर मात्र नभई गणतन्त्रको संस्थापन विकास तथा लोकतन्त्रको जगेर्नाका खातिर पनि संस्थापन इतर पक्षले सभापति देउवालाई सभापति पदबाट राजिनामा गर्न लगाएर विशेष महाधिवेशनमा जानु बुद्धिमत्तापूर्ण निर्णय हुनेछ । यही निर्णय कांग्रेस र लोकतन्त्रको समेत हितमा छ ।
आजका मितिमा पार्टीभित्र संस्थापन पक्षको बहुमत देखिन्छ । बहुमतको डण्डा देखाएर ‘एकलौटी’ निर्णय लिने र प्रतिकूल परिणाम आए ‘कोइराला–थापा’ पक्षमाथि दोषारोपण गर्ने गज्जबको ‘भाष्य’ सिर्जना गरिंदैछ । संगै, संस्थापनपक्ष त्यो पनि ‘देउवा दम्पती’को प्रधानमन्त्री पद नभई नहुने ‘हठ’का कारण कांग्रेसले सम्पूर्ण पद गुमायो । तर, सोही दिन महामन्त्रीद्वय ‘थापा–शर्मा’ पूर्व निर्धारित कार्यक्रममा पोखरा गएकैले देउवा प्रधानमन्त्री हुन नपाएको जस्ता ‘कथित हास्यास्पद तर्क’ लाजै नमानी अगाडि सारिंदैछ ! योभन्दा ‘जग–हसाइ’ के होला ?
नेपाली कांग्रेसको इतिहासमा घटेको यो घटना २०१७ साल पुस १ को घटनाभन्दा कम खतरनाक रहेन । उबेला राजा महेन्द्रको हठका कारण लोकतन्त्रको ‘चीरहरण’ गरियो, अहिले देउवा दम्पतीका कारण कांग्रेस एकाएक सडकमा पुग्यो ।
नडराई यो घटनाको निर्मम समीक्षा गर्न नसकेर समीक्षाका लागि बोलाइएको केन्द्रीय समिति बैठक ‘टालटुल’ मै टुंगियो भने देशैभरका कांग्रेसजनमा छाएको निराशाबाट कांग्रेस पार्टी माथि उठ्न सक्ने स्थिति देखिंदैन ।
‘कांग्रेस पार्टीलाई हामी उठाउँछौं, निराश हुनुपर्ने छैन’ भन्ने महामन्त्रीद्वयको भनाइ कार्यान्वयनमा लैजाँदा आफैंमा सुखद छ । तर, त्यसका लागि सर्वप्रथम कांग्रेसलाई आजका मितिमा यो स्थितिमा ल्याउने उपर ‘दण्डित’ नगर्ने हो भने उहाँहरूले भन्नुभएकै भरमा पार्टी बलियो पक्कै बन्ने छैन । झुटा मुद्दादेखि कांग्रेस कार्यकर्तालाई दोस्रो दर्जाको नागरिकको रूपमा राज्यसत्ताबाट अब हेर्न थालिनेछ । कांग्रेस कार्यकर्ताको भनाइको सम्बोधन कहींकतै हुने छैन ।
संसदमा समेत समयको पावन्दी नराखी बोल्न पाउने भनेको संसदीय दलको नेताले नै हो । कांग्रेस संसदीय दलका नेता संसदमा नियमित उपस्थित हुने संभावना न्यून छ । कथम् संसदीय दलका नेताले ‘चर्काे’ बोल्न थाले हिजोका मितिका ‘फाइल’ खुल्ने संभावना उत्तिकै छ । तसर्थ पनि ‘संस्थापन र इतर’मा विभाजित नभई समग्र कांग्रेसका हितका खातिर पनि सिंगो केन्द्रीय समितिले सभापति देउवाको राजिनामा गराउन सक्नुपर्दछ । ‘पार्टी सभापति र संसदीय दल’को नेताबाट राजिनामा पश्चात् पार्टी नेता देउवाले नै वैकल्पिक नेता छनोटका लागि मार्गप्रशस्त गर्दा नै देउवाको बाँकी रहेको ‘इमेज’ थप ‘ड्यामेज’ हुनबाट जोगिनेछ ।
आफ्नो कार्यकालमा ढंग नपुग्दा वा त्रुटि गरिंदा वैकल्पिक नेतालाई अगाडि सारिने अन्तर्राष्ट्रिय प्रचलनलाई कांग्रेस संस्थापन पक्षका नेता ‘देउवा दम्पती’ले ‘प्रेस्टिज इस्यू’ बनाउनै पर्दैन । हिजो देउवाका गुरु गिरिजाप्रसाद कोइरालाकै पालामा पनि सन्त नेता किसुनजीका नाममा भोट मागेर कांग्रेसले बहुमत ल्याएकै हो । २००८ सालमा पनि कांग्रेसका संस्थापक नेता बीपी कोइराला र मातृकाप्रसाद कोइरालाको झगडामा भारतीय नेता जयप्रकाश नारायणको मध्यस्थतामा पद विभाजन गरिएको थियो । भलै त्यो निर्णय कार्यान्वयनमा जान सकेन ।
हिजो कांग्रेसभित्र दुई लाइनको संघर्ष लोकतन्त्र प्राप्तिको आन्दोलनको ‘प्रकार र प्रकृति’ कस्तो हुने भन्नेमै थियो । आजका मितिको संघर्ष पार्टीलाई बन्धक बनाएर अरबौंको मालिक कसरी बन्ने भन्नेसँगै ‘विधि र पद्धति’को विषय उठाउनेलाई कसरी पार्टीबाटै निष्कासन गर्ने भन्ने नै देखिन्छ ।
हिजो राणाको पञ्जाबाट नेपाली जनतालाई मुक्ति दिलाउन कांग्रेसले हतियार समेत उठायो ! तर, आज नेपाली जनताबाट कांग्रेसलाई बाहिर निकाल्न ‘मुट्ठीभर’का व्यक्ति नै काफी भए । धन उपार्जन गर्न त, भारतका धीरुभाई अम्बानी तथा नेपालका खेतान ग्रुपले झैं उद्योग खोलिनुपर्दथ्यो । यहाँ त राजनीतिका नाममा ‘भूमिगत असुली केन्द्र’ बाहेक केही नखोलिंदै राजनीतिका नाममा अरबौं जोडिएको छ । यही विकृति हटाउनकै लागि उच्चस्तरीय अधिकारसम्पन्न ‘सम्पत्ति छानबिन आयोग’ गठन आजको आवश्यकतासँगै जनस्तरको माग हो ।
कांग्रेसले आसन्न केन्द्रीय समितिको बैठकबाट विशेष महाधिवेशनको मिति तोक्ने, देशैभरका कांग्रेस महाधिवेशनका प्रतिनिधिले कांग्रेस र लोकतन्त्रको भविष्यका खातिर नयाँ नेतृत्व चयन गर्ने, पार्टी संसदीय दलको नेता समेत तत्काल परिवर्तन गरेर कांग्रेस पूरापूर सच्चिएको सन्देश जनतामा ‘सम्प्रेषित’ गर्न सक्दा मात्र कांग्रेसलाई पत्याइने स्थिति रहन्छ । अन्यथा राजनीतिका लागि कार्यकर्ताले बर्सेनि ‘घर–खेत’ बेच्दै जानुपर्ने तर पार्टीका उपल्लो तहका नेताको दरबार थपिंदै जाने हो भने कांग्रेसले जनताका बीच लैजाने कुनै एजेण्डा रहन्न । तसर्थ, कार्यकर्ताको ‘रगत र पसिना’द्वारा सिंचित दलले कार्यकर्तातिर फर्केर नहेर्ने र केवल ‘दरबार’ तिर मात्र हेर्ने हो भने आगामी दिनमा कांग्रेसका निम्ति रगतको त कुरै छाडौं पसिना बगाउनेसम्म कोही भेटिने छैन ।
आसन्न कांग्रेस केन्द्रीय समिति बैठकले कुनै जाली निर्णय नलिई विशेष महाधिवेशनमा गएर नेतृत्व परिवर्तन गर्दै जनताका बीच जाने ‘बोल्ड डिसिजन’ लिनबाट खुट्टा कमायो भने कांग्रेस भनेकै ‘कोमिन्ताङ’ नै हो । ‘डियर कांग्रेस’ तपाईंहरूको समीक्षा बैठक आसामका मुख्यमन्त्रीलाई भारतीय कंग्रेस आईका नेता राहुल गान्धीले बिस्कुटको प्रकृति झैं नबनोस्, आजलाई शुभकामना मात्र !
प्रतिक्रिया 4