+
+

पराजित उम्मेदवार पोखरेलको मतदातालाई सम्बोधन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १६ गते ७:२२

१६ पुस, महोत्तरी । पुसको पहिलो साता । अपरान्ह १ बजे युवा, महिला, बालबालिका, वृद्धवृद्धाको ठूलै समूह महोत्तरीको गौरीडाँडास्थित ‘आधारशिला कम्युन’मा भेला भएर नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलका कुरा सुनिरहेका छन् ।

उनले डेढ दशक अगाडि आफ्नो पैतृक सम्पत्ति पार्टीकरण गरेर बनाएका हुन्- आधारशिला कम्युन । कम्युन होमको धुरीमा हँसिया-हथौडा अंकित रातो झण्डा पुस महिनाको लोसे हावामा फर्फराइरहेको छ । शान्त मुद्रामा अशान्त मन लिएर उनलाई सुनिरहेका छन्, महोत्तरीको गौरीडाँडावासी ।

गत ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र नं. १ बाट उठेर पराजित नेताप्रति श्रोतामा पर्याप्त सहानुभूति देखियो । उनले चाहिं मलिन अनुहारका श्रोतालाई हाँसीहाँसी सम्बोधन गर्न थाले ।

पोखरेललाई उनीहरूले २०६४ र २०७० सालको निर्वाचनमा जिताएर संविधान निर्माण गर्न पठाएका थिए । संविधानसभाबाट संघीय गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछि २०७४ मा भएको पहिलो आमनिर्वाचनमा पनि महोत्तरी-१ का मतदाताले उनैलाई विजयी बनाए ।

खोटाङका पोखरेललाई उनी आबद्ध एकता केन्द्र मसाल (जनमोर्चा, नेपाल) ले २०६४ मा चुनाव लड्न महोत्तरी पठाएको थियो । २०६५ मा जनमोर्चा नेपाल तत्कालीन नेकपा (माओवादी)सँग एकीकृत भयो । पोखरेल पनि शिक्षा, स्वास्थ्य मन्त्री जस्तो महत्वपूर्ण जिम्मेवारीमा पुगे ।

चौथो पटकको चुनावी प्रतिस्पर्धामा हारेका पोखरेलले आफ्ना मतदातालाई गरेको सम्बोधन :

राति सुत्दा मतले अग्रता लिएको भए पनि बिहान उठ्दा परिणाम विपरीत भएबाट तपाईंहरूमा बेचैनी, छट्पटाहट भयो भन्ने बुझेको छु । बहुमतको फैसला शिरोधार्य गर्दै मुस्कानसहितको धन्यवाद ज्ञापन कार्यक्रम पनि थालिएको छ ।

मतले हारे पनि तपाईंहरूको मनबाट माया पाएको छु । तपाईंहरू पनि दुःखी नहुनुस्, चुनावी परिणामलाई सकारात्मक रूपमा लिनुस् र अरु मतदातालाई मुस्कानसहित धन्यवाद दिनुस् ।

खासमा हामीले अँगालेको निर्वाचन प्रणाली नै ठीक छैन । उम्मेदवार छान्दा र टिकट वितरण गर्दा नै गडबड गरिन्छ । निर्वाचनमा कुखुरा, माछा, साडी, पैसा बाँडियो । आचारसंहिता पालना र अनुगमन एकदमै कमजोर बनेको छ ।

मैले साडी, रक्सी दिन्छु, पेट्रोल हालिदिन्छु, मोबाइल रिचार्ज गर्दिन्छु, भोट देउ भन्न हुन्छ कि हुँदैन ? यस्ता प्रश्नहरू तपाईं हाम्रा अगाडि छन् । तर, यस्तै निर्वाचनलाई विकास वा परिवर्तनको बाहक मानिएको छ ।

अमेरिकी अभियन्ता डेयिनल हन्टरले भनेका छन्, ‘देश बदल्ने एक मात्र औजार मतदान हो भन्ने झुठमा म कहिल्यै विश्वास गर्दिनँ ।’ म यो भनाइबाट प्रभावित छु ।

हामीले परिवर्तनका लागि सामाजिक, सांस्कृतिक, आत्मिक अभियान सञ्चालन गर्नुपर्दछ र त्यही अभियानको अनुमोदन मात्रै निर्वाचनले गर्नुपर्छ, तर त्यसका लागि पहिले निर्वाचन प्रणाली बदल्नुपर्छ ।

यही प्रणालीलाई निरन्तरता दिएर अगाडि बढ्नु भनेको भावी दिनमा पार्टीलाई थप क्षति पुर्‍याउनु हो ।

स्थानीय तहको निर्वाचनमा लागेको ऋणबाट मुक्त नभएका उम्मेदवारले ५ वर्षपछि पुनः चुनाव लड्ने योजना कसरी बनाउन सक्छ ? ? पैसा नहुने किसान, मजदुर, दलित, महिला उम्मेदवार हुन पाउने कि नपाउने ? ५ वर्ष एउटा पार्टीको हुने अनि निर्वाचनका दिन अर्काे पार्टीको हुने कहिलेसम्म ? यी प्रश्नको जवाफ खोजिरहेको छु म ।

हामीले संविधान जारी गर्नैपर्ने बाध्यताले गर्दा अहिलेको निर्वाचन प्रणाली र शासकीय स्वरूपमा सहमति जनाउनुपर्‍यो । म आफैं संविधान मस्यौदा समिति सदस्य थिएँ । बाध्यताले सम्झौता गर्न पर्‍यो ।

राज्य सत्तामा पुरानै मानसिकता छ । वामपन्थीहरूमा पनि यस्तै चेत देखिनु चिन्ताको विषय हो । समाजवाद उन्मुख र यथास्थितिवादी संसदवादी दृष्टिकोणबीचको अन्तर यो चुनावबाट प्राप्त गरेको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?