+
+
विचार :

बढ्दो खाद्य असुरक्षा र अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३

मूलतः तीनै तहका सरकारको कृषि नीति एवं कार्यक्रममा कोदोजन्य बालीको विकास एवं प्रवर्द्धनलाई मूलप्रवाहीकरण गर्ने दिशामा अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष कोसेढुंगा सावित हुने अपेक्षा गर्न सकिन्छ।

डा. रामकृष्ण श्रेष्ठ डा. रामकृष्ण श्रेष्ठ
२०७९ पुष १७ गते ९:४६

कोभिड-१९ महामारीको अन्त्य नहुँदै सुरु भएको रसिया-यूक्रेन युद्ध असरको कारण रासायनिक मलको उत्पादन एवं आपूर्तिमा नकरात्मक असर परी विश्वव्यापी रूपमा खाद्यान्न उत्पादन घट्यो। साथै, आपूर्ति श्रृङ्खलामा अवरोध कायम नै रहने भई सन् २०२३ मा समेत विश्वव्यापी रूपमा खाद्यान्नको मूल्य वृद्धि हुने प्रक्षेपण भइरहेका छन्। यस्तो अवस्थाबाट नेपाल जस्तो सानो अर्थतन्त्र भएको गरिब मुलुक अझ बढी प्रभावित हुने बारे दातृ निकाय एवं अन्तर्राष्ट्रिय जगतले चिन्ता व्यक्त गरिरहेका छन्। यसको अतिरिक्त जलवायु परिवर्तनको कारण कृषि उत्पादनमा नकारात्मक असर पर्ने क्रम बढ्दै जाँदा खाद्य सुरक्षामा प्रत्यक्ष असर पर्दै गएको विषय अब नयाँ रहेन।

गत वर्षको बेमौसमी वर्षाको कारण धान बालीमा भएको ठूलो क्षति यसको एउटा ज्वलन्त उदाहरण हो। यस वर्ष पनि समयमा हिउँदे वर्षा नहुँदा हिउँदे बालीको उत्पादनमा कमी आउने हो कि भन्ने संशय पैदा भएको छ। यस्तो अवस्थामा आगामी दिनमा खाद्य तथा कृषि आयात र परनिर्भरता अझै बढ्न सक्ने सम्भावना देखिएको छ। त्यसैगरी हालै प्रकाशित राष्ट्रिय जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण (एनडीएचएस, २०२२) ले पाँच वर्ष मुनिका बालबालिका र महिलामा रक्तअल्पताको दर क्रमशः ४३ प्रतिशत र ३४ प्रतिशत रहेको देखाएको छ जुन विश्वकै खराबमध्ये पर्छ। साथै, बालबालिकाको कुपोषणको दरमा केही कमि आएको भएता पनि बढी नुनिलो, खराब चिल्लो र चिनिजन्य खाद्य तथा पेय पदार्थको अत्यधिक उपभोगले बालबालिकाको शारीरिक विकास र बौद्धिक क्षमतामा गम्भीर प्रभाव परेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

पछिल्लो समय नसर्ने रोगको तीब्र वृद्धि जनस्वास्थ्यको सबैभन्दा ठूलो चुनौतिको रफमा देखा पर्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ठम्याइ छ । यसो हुनुमा अस्वस्थकर खानपान र आधुनिक जीवनशैली मुख्य रूपमा जिम्मेवार रहेको पाइएको छ । यी समस्याहरुको संवोधनको लागि बहुआयामिक एवं बहुपक्षीय प्रयासहरू आवश्यक हुन्छ । तथापि,  कोदोजन्य बाली उत्पादन र उपभोगमा वृद्धि मार्फत विद्यमान समस्या समाधानमा योगदान पुर्‍याउन सकिने देखिन्छ ।

कोदोजन्य बाली समूहमा सामान्यतया १० थरीका बालीहरू बढी प्रचलनमा रहेतापनि नेपालमा कोदो, चिनो, कागुनो र जुनेलो बढी खेती गरिनेमा पर्छन्। फापर र लट्टे पनि दानाको आकार–प्रकार, पोषण सम्बन्धी गुण र उपभोगको तरिकामा रहेका केही समानताको कारण कोदोजन्य बालीअन्तर्गत नै राख्ने गरिन्छ।

डा. रामकृष्ण श्रेष्ठ

विगतमा खाद्य सुरक्षा तथा पोषणको महत्वपूर्ण आधारको रूपमा रहेको भएतापनि आधुनिक जीवनशैली र सोसँगै खाने बालीमा आएको परिवर्तनलगायतका कारण कोदोजन्य बालीहरूको उत्पादन तथा उपभोग घट्दै गइरहेको तथ्याङ्कले देखाउँछ। खाद्य तथा कृषि प्रणालीमा देखा परेको समस्या एवं चुनौतीबीच पछिल्लो समय कोदोजन्य बालीप्रति विश्वव्यापी रूपमा नै आम चासो बढ्दै गएको पाइन्छ। कोदोजन्य बालीहरूमा विद्यमान खाद्य सुरक्षा, स्वास्थ्य तथा पोषण एवं जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन सम्बन्धी गुणलगायतले यस्तो भएको हो।

कतिपय देशहरूले त्यस्ता बालीहरूको प्रवर्द्धनको लागि राष्ट्रिय अभियान नै संचालन गरेका उदाहरण पनि छन्। यसै सन्दर्भमा मित्रराष्ट्र भारतको प्रस्तावमा संयुक्त राष्ट्रसंघ साधारणसभाको पचहत्तरौं सेसनले पारित गरे बमोजिम सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष (इन्टरनेशनल इयर अफ मिलेट्स २०२३) को रूपमा मनाइँदैछ।

मूलतः कोदोजन्य बालीहरूको महत्व बारे प्रचारप्रसार गरी तिनको उत्पादन र उपभोग बढाउन उत्पादक कृषक, उपभोक्ता र अन्य सरोकारवालाहरूलाई प्रेरित गर्ने मूल उद्देश्यका साथ अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष मनाइँदैछ। यसको अलावा उक्त वर्षको अवसरमा कोदोजन्य बालीहरूको खेती विस्तार तथा उत्पादन वृद्धि, खाद्य परिकारको विकास एवं मूल्य अभिवृद्धि, बजार एवं व्यापार विस्तार, स्थानीय एवं रैथाने जातको संरक्षण र त्यस्ता बालीहरूको प्रवर्द्धनको लागि नीतिगत सुधारलगायतका विषयमा संगठित र व्यक्तिगत पहलकदमी समेत हुने अपेक्षा गरिएको छ।

नेपालमा कोदोजन्य बालीको प्रवर्द्धन किन ?

नेपालको अधिकांश खेतीयोग्य जमिन एवं जलवायु कोदोजन्य बालीको खेतीको लागि प्रायः उपयुक्त नै देखिन्छ। धान तथा गहुँ जस्ता बालीहरूको तुलनामा प्रायः छोटो अवधिमा नै तयार हुने भएकाले ती बालीहरूको खेती विस्तारमार्फत उत्पादन बढाई चामलमाथिको अत्यधिक निर्भरता कम गरी खाद्य सुरक्षा र आत्मनिर्भरतामा प्रत्यक्ष टेवा पुर्‍याउन सम्भव छ। कोदोजन्य उत्पादन प्रोटिन, फाइवर, भिटामिन, आइरन, क्याल्सियम, म्याग्नेसियमलगायतको राम्रो स्रोत भएकाले शरीरको लागि आवश्यक पोषणको आपूर्ति गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्।

खासगरी अस्वस्थकर खानपिनको कारण बालबालिका र युवायुवतीमा व्याप्त कुपोषणको समस्या कम गर्न यस्ता उत्पादनले प्रत्यक्ष योगदान पुर्‍याउन सक्छन्। उदाहरणको लागि बालबालिका र युवती एवं महिलामा विद्यमान रक्तअल्पता कम गर्न कोदोजन्य उत्पादनको ठूलो महत्व हुनसक्छ। यसको अलावा मोटोपन, मधुमेह र मुटु रोगको जोखिम कम गर्न समेत त्यस्ता बालीहरूको उत्पादन उपयोगी हुने प्रमाणित भएका छन्।

जलवायु परिवर्तन समग्र कृषि उत्पादन र खाद्य सुरक्षाको लागि ठूलो चुनौती बन्दै गइरहेको बारे हामी सबै जानकार छौं। हाम्रो जस्तो उच्च जलवायुजन्य जोखिमताको अवस्थामा रहेको देश जलवायु परिवर्तनको कारण बढी प्रभावित हुने अध्ययनहरूले देखाइसकेका छन्। जलवायु परिवर्तनको दृष्टिकोणबाट पनि अन्य बालीहरूको तुलनामा कोदोजन्य बालीहरू बढी उपयुक्त छन्। यी कम कार्बन उत्सर्जन गर्ने बालीहरूको वर्गमा पर्छन्। यस्ता बालीहरू रासायनिक मलखाद र विषादिको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने प्रकारमा हुने हुँदा हानिकारक हरित ग्याँस उत्सर्जन कम गर्नमा सघाउ पुर्‍याई जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोगी छन्।

त्यसैगरी अन्य बालीहरूको तुलनामा यी बालीहरूमा कम सिंचाइ भएमा पनि खेती गर्न सकिने र सुक्खा, खडेरी तथा उच्च तापक्रम बढी सहन सक्ने गुणहरू विद्यमान भएकोले जलवायु परिवर्तन अनुकूलनको दृष्टिले पनि उपयुक्त छन्।

यसको अलावा कोदोजन्य बालीको उत्पादन, मूल्य अभिवृद्धि र बजारीकरणमा ग्रामीण महिला तथा युवाहरूको संलग्नता बढाउन सकिन्छ। ग्रामीण क्षेत्रमा रोजगारीको अवसर एवं पारिवारिक आयमा वृद्धिमार्फत कृषि पेशाबाट युवाशक्ति पलायन हुने क्रम रोकी ग्रामीण क्षेत्रको आर्थिक एवं सामाजिक रुपान्तरणलाई सम्भव तुल्याउन समेत कोदोजन्य बालीको प्रवर्द्धन अभियानले मद्दत पुर्‍याउन सक्ने देखिन्छ।

अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष र गतिविधि

कोदोजन्य बालीको माथि उल्लेख गरिए जस्तै बहुआयामिक महत्वको बारेमा आम उपभोक्ता र सरोकारवालाहरूमा कम जानकारी रहेको पाइएको छ। त्यसैगरी अझै पनि कतिपय क्षेत्रमा कोदोजन्य उत्पादनलाई गरिबको खानाको रूपमा हेला गर्ने र सामाजिक प्रतिष्ठासँग पनि जोडेर हेर्ने गरेको पाइन्छ। यस वर्ष मूलतः त्यस्ता बालीहरूको महत्वबारे जनचेतना अभिवृद्धिको साथै गलत सामाजिक मान्यता हटाउनको लागि विभिन्न प्रचारात्मक र सचेतनामूलक गतिविधि सञ्चालन गरिने छन्।

यसको लागि खाद्यवस्तु तथा परिकारसहितको मेला, प्रदर्शनी आयोजना, भेला, गोष्ठी जस्ता प्रत्यक्ष स्थलगत कार्यक्रमको आयोजनाको अलावा सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जाल र अन्य डिजिटल माध्यमको व्यापक उपयोग गरिनेछ।

कोदोजन्य उत्पादनबाट बन्ने तयारी एवं प्रशोधित खाद्य परिकारमा विविधता ल्याउन सकेमा तिनको उपभोग र उद्यमशीलता विकास गर्न सहज हुने देखिन्छ। वर्तमानमा त्यस्ता उत्पादनमा आधारित सीमित खाद्य परिकारको उपलब्धताको कारण बालबालिकादेखि अन्य उमेर समूहका उपभोक्ताहरूलाई पनि धेरै आकर्षित गर्न सकिएको छैन। खाद्य परिकारमा विविधीकरण, उपभोग्य वस्तुहरूको विकास (प्रोडक्टस् डेभलपमेन्ट), मूल्य अभिवृद्धि र व्यापार प्रवर्द्धन सम्बन्धमा युवायुवतीलाई इन्कुवेशन सेवा उपलब्ध गराई स्टार्टअप व्यवसाय सञ्चालनको लागि स्टार्टअप फण्ड र अन्य आवश्यक सहयोग गर्नु जरुरी देखिन्छ। अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको अवसरमा यस दिशामा ठोस पहल हुनुपर्ने आवश्यकता छ।

त्यसैगरी कोदोजन्य अर्गानिक उत्पादन एवं खाद्य वस्तु र भौगोलिक संकेतसहितको उत्पादनको लागि अन्तर्राष्ट्रिय बजारको खोजी र पहुँचको लागि पनि यस वर्ष हामीले काम गर्नुपर्नेछ। साथै, भारतलगायतका देशहरूले कोदोजन्य बालीहरूको जातीय सुधार, मूल्य अभिवृद्धि र मूल्य श्रृङ्खला विकासमा हासिल गरेको उपलब्धिहरूबाट सिक्न र फाइदा लिन कूटनीतिक संयन्त्रहरूको परिचालन गरी जर्मप्लाज्म साटासाट, क्षमता विकास एवं अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार जस्ता विषयमा उपयोग गर्नु जरुरी देखिन्छ।

यसको अलावा कोदोजन्य बाली प्रवर्द्धनको लागि केही नीतिगत व्यवस्थाको सुरुआत एवं सुधारको पहल पनि यस वर्ष गर्नुपर्नेछ। केही त्यस्ता प्रमुख विषयहरूमा प्रमुख कोदोजन्य बालीहरूको उत्पादनको न्यूनतम समर्थन मूल्य तोकी खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत खरिद गरी बजारीकरण गर्ने एवं सार्वजनिक वितरण प्रणालीमा समावेश गर्नुपर्ने देखिन्छ। विद्यालयको दिवा खाजा कार्यक्रममा स्थानीय स्तरमा उपलब्ध कोदोजन्य बालीमा आधारित परिकारलाई अनिवार्य रूपमा समावेश गर्नुपर्छ। कोदोजन्य बालीको उत्पादन, संरक्षण तथा रेसिपी तयारी सम्बन्धी विषय विद्यालयको स्थानीय पाठ्यक्रममा समावेश गर्नुपर्छ। सरकारी एवं सार्वजनिक निकायहरूले आयोजना गर्ने बैठक, तालिम तथा गोष्ठी र अन्य सार्वजनिक कार्यक्रमहरूमा खाजाको रूपमा स्थानीयस्तरमा उपलब्ध कोदोजन्य बालीमा आधारित परिकार एवं तयारी खाद्य वस्तु उपभोगलाई अनिवार्य गर्नुपर्छ।

नेपाली क्यालेन्डर वर्षको कुनै दिनलाई राष्ट्रिय कोदोजन्य बाली दिवसको रूपमा घोषणा गरी नियमित रूपमा मनाउने बारे निर्णय गर्नेलगायतका विषय हुनसक्छन्। त्यसैगरी यसै वर्ष कोदोजन्य बाली प्रवर्द्धनको लागि पाँचवर्षे कार्ययोजनासहितको राष्ट्रिय मिसन तर्जुमा समेत गर्नु वाञ्छनीय हुनेछ।

यसको अतिरिक्त लोपोन्मुख रैथाने जात एवं जंगली प्रजातिको खोजी, पहिचान र संरक्षण एवं जातीय दर्ता, कोदोजन्य बालीको पोषण प्रोफाइलिङ र तथ्याङ्क अद्यावधिक तथा कोदोजन्य बालीसँग सम्बन्धित परम्परा र खाद्य संस्कृतिको खोज, प्रवर्द्धन एवं जगेर्ना गर्नेलगायतका विषयमा समेत पहल हुनेछ।

उल्लेखित नीतिगत व्यवस्थाले त्यस्ता बालीहरूको उत्पादन र उपभोगमा सकारात्मक प्रभाव पर्ने भएकोले अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको सफलताको लागि तीनै तहका सरकार र अन्य सरोकारवाला निकायको संयुक्त पहल र सक्रिय सहभागिता अपरिहार्य छ। यस दिशामा खासगरी प्रदेश सरकार र स्थानीय तह/पालिकाहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुने देखिन्छ।

त्यसैगरी कोदोजन्य बालीको विकास र संरक्षण एवं प्रवर्द्धनमा संलग्न गैरसरकारी एवं निजी क्षेत्रमा सक्रिय व्यक्ति एवं निकायहरूको समेत उल्लेखनीय भूमिका हुनेछ। साथै चालु आर्थिक वर्ष २०७९/८० लाई राष्ट्रिय कृषि जैविक विविधता वर्षको रूपमा मनाउने नेपाल सरकारको निर्णय भएबमोजिम कोदोजन्य बालीको संरक्षण र प्रवर्द्धनको लागि दुवै वर्षहरू एकआपसमा परिपूरक हुने गरी मनाइनु आवश्यक देखिन्छ।

नेपाल सरकारको तर्फबाट कोदोजन्य बालीको विकास एवं प्रवर्द्धनमा विगत केही वर्षदेखि देशव्यापी रूपमा पहल एवं प्रयासहरू भइरहेका छन्। प्रादेशिक सरकार र स्थानीय तहसँगको सहकार्यमा कोदोजन्य बालीलाई केन्द्रमा राखी रैथाने बाली प्रवर्द्धन कार्यक्रम विगत पाँच वर्षदेखि सञ्चालित छ। ती प्रयासहरूको केही सकारात्मक नतिजा पनि प्राप्त हुन थालेका छन्।

हासिल उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धि हासिल गर्दै मूलतः तीनै तहका सरकारहरूको कृषि नीति एवं कार्यक्रममा कोदोजन्य बालीको विकास एवं प्रवर्द्धनलाई मूलप्रवाहीकरण गर्ने दिशामा अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष कोसेढुंगा सावित हुने अपेक्षा गर्न सकिन्छ। अतः खाद्य पोषण सुरक्षा, वातावरण र ग्रामीण रुपान्तरणको लागि कोदोजन्य बालीको प्रवर्द्धन हेतु अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष,२०२३ लाई सफल पार्नु हामी सबैको नागरिक दायित्व हो ।

(लेखक कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?