+
+

विमानस्थलको ऋणलाई अनुदानमा बदल्न मुख्यमन्त्री पोखरेलको चीनलाई आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १४:३०

१७ पुस, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विमानस्थल बनाउन लिएको ऋणलाई अनुदानमा परिणत गर्न चीन सरकारसँग आग्रह गरेका छन् ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । यस विमानाथलमा चिनियाँ एक्जिम बैंकले ७५ प्रतिशत ऋण लगानी गरेको छ भने २५ प्रतिशत चीन सरकारले अनुदान दिएको छ ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ४७ वर्ष पहिलेको सपना पुरा भएको बताए । उनले विमानस्थल बनेर मात्रै नहुने भन्दै विमानस्थलबाट अरब, भारत, मलेसिया लगायतका मुलुकमा  जान पाउनुपर्ने र जनताले त्यही चाहेको सुनाए ।

गण्डकी प्रदेशले पहिलोपटक कार्यकारी प्रमुख (प्रधानमन्त्री) पाएको भन्दै गण्डकी प्रदेशले वर्तमान प्रधानमन्त्रीबाट धेरै अपेक्षा गरको बताए । ‘यो विमानस्थललाई नियमित सञ्चालनको वातावरण बनाउनु पर्‍यो, भारतसँग कुरा गरेर सहजीकरण गर्नुपर्‍यो,’ उनले भने, ‘विमानस्थलबाट भारत, अरब, मलेसिया लगायतका मुलुक जान पाउनुपर्छ । युरोप अमेरिका दोस्रो चरणमा होला । तर एसियाली मुलुकमा यही विमानस्थलबाट आउजाउ गर्न पाउनु पर्छ ।’

उनले पोखरा विमानस्थललाई दक्षिण एसिया, दक्षिण एसिया र पश्चिम एसियासँग जोड्न सक्ने हो भने पोखरालाई पर्यटनको राजधानी बनाउन सकिने बताए ।

पर्यटन विकासका लागि पर्यटकले नेपालमा बस्ने समय र खर्च गर्न वातावरण बनाउनुपर्ने उनले बताए । ‘एउटा पर्यटक औसत ५ दिन बसेर ५५ डलर खर्च गर्छ । त्यसले पर्यटन अगाडि बढ्दैन । विदेशी पर्यटक २ हप्ता बसेर १ हजार डलर खर्च गर्ने बनाउन सक्नुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?