
हे मृत्यु,
तँ किन डराएको मसँग
हे मृत्यु, तँ किन डराएको मसँग
म त मृत्यु बोकेर बाँचेको मान्छे
मलाई त्रास न दे मृत्युको
म त मृत्यु बोकेर बाँचेको मान्छे
तँ धुँवा बनेर कोठामा छिरिस्
आगो बनेर प्यासेजमा फैलिइस्
म निर्धक्क गफिएर बसें परिवारसँग
मलाई मृत्युको भय थिएन
किनभने,
म त मृत्यु बोकेर बाँचेको मान्छे
तँ किन डराएको मसँग
खुल्लमखुल्ला आएको भए हुनेथियो
म त मृत्यु बोकेर बाँचेको मान्छे
त किन डराएको मसँग
धुँवा बनेको किन त, आगो बनेको किन ?
खुल्लमखुल्ला आएको भए हुनेथियो
आखिर १२ औं तलाबाट फाल हानेर
चुनौती दिए तँलाई
म त मृत्यु बोकेर बाँचेको मान्छे
गुनासो यत्ति हो
अरु केही वर्ष बाँच्नु थियो
छोरालाई अर्ती होइन, आड दिनु थियो
परिवारलाई सद्भाव होइन, साथ दिनु थियो
गुनासो यत्ति हो,
तैंले झुक्काएर लान खोजिस्
मैले हाक्काहाक्की देहत्याग गरें
म त मृत्यु बोकेर बाँचेको मान्छे
यसकारण मेरो यमराजसँग गुनासो हो । मैले लेखें केही समयअघि यमराजको मृत्यु चाहेको कुरा । तर यमराजको मृत्यु भएन । मृत्यु भयो त फेरि एउटा इमानको, एउटा सम्भावनाको, एउटा स्नेहको र एउटा अपेक्षाको । अर्थात् झापाको ४० वर्षीय निराकार पाण्डेको ।
मृत्युको भय कसलाई छ र ? सबै जना मृत्यु बोकेरै त बाँचेका छन् । अपेक्षा यत्ति हो सबैको, मृत्युको एउटा सीमारेखा बनोस् । ताकि हरेकले परिवार, समाज र देशप्रतिको आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सकुन् । तर अह ! यमराजले सुन्दै सुनेन । यो पटक पनि सुनेन ।
कम्बोडियाको क्यासिनो होटलमा यमराजले मृत्युलाई धुँवा र आगो बनाएर पठाइदियो । निराकारले त्यसलाई असाध्यै नजिकबाट महसुस गरे । उनी परिवारलाई सम्झिरहेका थिए । जिम्मेवारी सम्झिरहेका थिए । स्नेह र इमान सम्झिरहेका थिए । मृत्यु, धुँवा बनेर उनको कोठाभरि फैलिसकेको थियो । आगो बनेर उनी निस्कने प्यासेजमा अवरोधक बनिसकेको थियो । तर निराकार किञ्चित भयभित थिएनन्, किनभने उनलाई थाहा थियो उनी मृत्यु बोकेर बाँचेका मान्छे ।
निराकारले मृत्युलाई चुनौती दिए । यमराजलाई चुनौती दिए । उनी धुवाँले निस्सासिएर मरेनन्, न आगोले नै उनलाई जलाउन सक्यो । उनी त जीवन प्राप्तिको दायित्वसँग हिम शिखर जसरी नै उभिएर आफ्नै मर्जीले विलिन भए । होटलको १२ औं तलाबाट सडक पेटीमा शरीरलाई विश्राम दिइरहँदा उनको मनले पनि यमराजलाई धेरै सत्तोसराप ग¥यो होला ।
मृत्युको उत्सव मनाउन कम्बोडिया पुगेको यमराजका बहानहरुलाई निराकारको इमानी रगतका पोखरीहरुले पक्कै झस्काए होलान् । रातो कञ्चन रगतका आहालमा यमराजको आकृति धुमिल र कायर देखिएका थिए होलान् । चित्रगुप्तका कलमले विष्मयभाव कोरिरहेको थियो होला । क्षमाभाव पोखिएको थियो होला । यमराजको क्रुरतालाई निराकारको निश्चलताले गलाउँदैन, यो तय हो । तर निराकारको त्यो निश्चलताले मानव दायित्वको बोध गराएको छ ।
निराकारलाई मृत्युले दस्तखत लिइरहेको थियो । यमराजका बहानहरु कहिले धुँवा बनेर तर्साइरहेका थिए । कहिले आगो बनेर सताइरहेका थिए । अब मृत्यु तय थियो निराकारको । मृत्यु तयार थियो निराकारको अघि । निराकार किञ्चित विचलित बनेनन् । उनले आफ्नो नौ वर्षको छोरालाई परिवार सम्झायो, आफन्त र नातागोता सम्झायो । अनि आफ्नो शेषपछि उसले परिवार, समाज र व्यवसायमा निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा सम्झायो ।
निराकार अजम्बरी हैनन्, अजम्बरी थिएनन् । तर उनलाई बाँच्नु थियो अरु केही वर्ष । हुर्कंदै गरेको छोरालाई टुहुरा बनाएर कलिलै उमेरमा दायित्वको पहाड उकाल्न चाहँदैन थिए निराकार । श्रीमतीलाई चटक्कै छोडेर स्नेहको आँचलमा एक्लो बनाउन चाहँदैन थिए निराकार । परिवारको सहयोगमा बैगुनी कहलाउन चाहँदैन थिए निराकार । त्यसैले अरु केही वर्ष बाँच्न चाहन्थे निराकार ।
उफ् ! यो यमराज । यसले कसलाई सुख दियो र ? अझै पनि यसले बालबालिका भन्दैन, युवा र अधवैंसे भन्दैन । मुडी छ यमराज । मुड चल्यो कसैलाई टपक्क टिपेर लगिहाल्ने ।
निराकारलाई थाहा रहेछ यमराजको क्रूरता । त्यसैले त मृत्युलाई केही घण्टा अँचेटेर उनले मनको पीडालाई कोठामा मडाडिरहेको मृत्युको धुँवामा छोप्दै परिवारका सदस्यहरुलाई विगत र आगतका धेरै प्रसंग सामान्य ढंगले सुनाइरहे । मृत्युको आगोमा पीडाको तापलाई सेलाउँदै कुल भएर परिवारका सदस्यहरुको माया र आत्मीयतालाई ग्रहण गरिरह्यो ।
निराकारले पीडा लुकाएका थिए । मृत्युको भय छोपेका थिए । यमराजको क्रूरता सहेका थिए । चित्रगुप्तका बदमासी पचाएका थिए । तर उनको परिवार, कतिधेरै रोएका थिए । कम्बोडियाको क्यासिनो होटलमा लागेको आगोभन्दा कैयौं गुना रापिलो थियो, निराकारको परिवारका सदस्यको मनमा दन्किएको विछोडको आगो ।
निराकारले धुँवासँग पौंठेजोडी खेलेनन् । आगोसँग लाप्पा भिडेनन् । किञ्चित उफ् ! नगरी १२ औं तलाबाट हामफालेर देहत्याग गरे । धेरैले भन्ने होलान्, किन निराकारले धुँवासँग पांैठेजोरी खेल्न सकेनन् । किन आगोसँग लाप्पा भिड्न सकेनन् । निराकार नार्मद रहेछन् । सुटुक्क झस्केलोबाट ज्यान फाले ।
अँह ! त्यसो होइन । निराकार बहादुर छन् । उनले मृत्युलाई चुनौती दिए । यमराजलाई चुनौती दिए । मृत्यु त तय नै थियो । मृत्यु बोकेर बाँचेका थिए । तर उनले यमराजको मृत्यु स्वीकारेनन् । आगोमा जल्न चाहेनन् । धुँवामा निस्सासिन चाहेनन् । उनले आफ्नै मृत्यु रोजे । यमराजलाई चुनौती दिए ।
सलाम निराकार ! श्रद्धा- सुमन निराकार !
तिमी मरेका छैनौ । देहत्याग गरेका हौ, त्यो पनि यमराजलाई चुनौती दिंदै । तिम्रो आत्माले यमराजको अन्यायविरुद्ध फेरि पनि लड्ने छ । लडिरहने छ । युगौंयुग लडिरहने छ । तिमी जुन रुपमा आउने छौ, दायित्व सम्झाउने छौ, जिम्मेवारी देखाउने छौ, स्नेह दिनेछौ । तिमीलाई सबैले सम्झिरहनेछन् । तिम्रो परिवारले मात्र होइन, सिंगो मानवजातिले सम्झिरहनेछ ।
अलविदा निराकार ।
प्रतिक्रिया 4