 
																			१७ पुस, काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आफू मन्त्री बन्ने दौडमा नरहेको बताएका छन् ।
अनलाइनखबरसँगको कुराकानीमा उनले आफू बाहिरै बसेर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सफल पार्न सक्रिय रहने उल्लेख गरे ।
उनले आफूमात्र नभई दोस्रो पुस्ताका नेताहरु पनि सरकारमा नजाने बताए । ‘मसहित दोस्रो तहका नेताहरु मन्त्रीमा जाँदैनौं’, पुनले भने, ‘बाहिरै बसेर सरकारलाई सफल पार्न लाग्छौं । सिंगो पार्टी सरकारको सफलताका लागि सक्रिय रहन्छ ।’
देउवा–प्रचण्ड समीकरण भत्काएर वाम गठबन्धन बनाउन मिहिनेत गरेका पुनलाई बाहिर राखेर पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई क्याबिनेटमा
उपप्रधानमन्त्री बनाएपछि उनी असन्तुष्ट रहेको चर्चा माओवादी केन्द्रभित्र छ । पुनले मर्यादाक्रममा तल पर्ने भएपछि सरकारमा जान तयार नभएको भन्ने आशंकामा सत्यता नरहेको जिकिर गरे ।
कुनै अमुक व्यक्तिले पद प्राप्ति गर्ने वा नगर्ने विषय गौण रहेको भन्दै उनले बाहिरै बसेर पनि मुलुकमा विद्यमान समस्या समाधानमा लाग्न सकिने बताए ।
माओवादी केन्द्रबाट तेस्रो पुस्ताका युवा सांसदहरुलाई मन्त्री बनाइने उनको भनाइ छ ।
राजनीतिक जटिलताका बीच वर्तमान सरकार गठन भएको भन्दै उनले सुशासन, भ्रष्टाचार नियन्त्रण र जनताको विकासको चाहना पुरा गर्ने गरी सरकार अघि बढ्ने दाबी गरे । प्रचण्ड नेतृत्वमा नयाँ सरकार गठनसँगै जनता र पार्टीमा उत्साह प्रवाह भएको उनको दाबी छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4