+
+

अंग्रेजी नयाँ वर्षमा ठोरी घुम्न आउने पर्यटकको भीड

वनभोज स्थल व्यवस्थित नभएको गुनासो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १८:४२

१७ पुस, वीरगञ्ज । अंग्रेजी नयाँ वर्ष २०२३ मनाउन पर्साको पर्यटकीय गाउँ ठोरीमा आन्तरिक एवं बाह्य पर्यटकहरुको घुइँचो लागेको छ ।

तराईको ‘मिनी उपत्यका’ भनेर चिनिने ठोरीमा पर्सा, बारा, रौतहट, मकवानपुर लगायत क्षेत्रका आन्तरिक पर्यटक र छिमेकी मुलुक भारतीय सीमावर्ती क्षेत्र नरकटियागञ्ज, बेतिया, जमुनिया, समस्तीपुर, मुजफ्फरपुर, मोतीहारी, लगायत क्षेत्रबाट पर्यटक वनभोज खान र घुम्न आएका हुन् ।

गाडी र मोटरसाइकलमा ठोरी पुगेका पर्यटक त्यहाँको प्राकृतिक सुन्दरतामा रमाउनुको साथै वनभोज खाएर फर्केका छन् । हरियाली पहाडले घेरिएको उपत्यका ठोरी तराईको आकर्षक पर्यटकीय गन्तव्य हो । अंग्रेजी नयाँ वर्षको दिन राईधारा, सेतो पहाड, रातो पहाड, सिनेही पहाड, रानीवन, अमृतधारा, चिसापानी, सीतागुफा, वनशक्ति मन्दिर लगायतका पर्यटकीय क्षेत्रमा पर्यटकको भीड लाग्ने गरेको स्थानीय शिक्षक चिरञ्जीवी सापकोटाले जानकारी दिए ।

भ्रमण वर्ष २०२० को अवसरमा गाउँपालिकाले कार्यक्रम गरेको थियो । भने पछिल्ला वर्षमा कोरोना महामारीका कारण अंग्रेजी नयाँ वर्षमा ठोरी घुम्न आउने पर्यटकको संख्या पातलिएको थियो । ठोरीलाई मधेश प्रदेश सरकारले पहिलो पर्यटकीय क्षेत्र घोषणा समेत गरिसकेको छ ।

अघिल्ला वर्षमा कोरोना महामारीका कारणले सुस्ताएको ठोरीको पर्यटकीय गतिविधि यसवर्ष चलायमान देखिएको स्थानीय अर्का शिक्षक माधव तिमल्सिनाले बताए । यसवर्ष राईधारा, सेतो पहाड, रानीवन, गोले डाँडा पिकनीक स्पटमा सयौं पर्यटक आएको उनले बताए । वीरगञ्ज ठोरी हुलाकी सडकखण्ड अन्र्तगत पर्ने चमरीहोलदेखि चौतारासम्मको पर्यटकीय क्षेत्रमा सवारी साधनको चाप देखिएको थियो ।

वनभोज स्थलमा पिउने पानी र बिजुलीको समस्या

ठोरीमा वनभोज खान पुगेका पाहुनाले वनभोज स्थल व्यवस्थित नभएको गुनासो गरेका छन् । वनभोज स्थलहरुमा खानेपानी, बिजुली र सरफाइको समस्या देखिएको उनीहरुले गुनासो गरेका छन् ।

प्राकृतिक रुपमा सुन्दर भएपनि व्यवस्थापनको समस्या रहेको गुनासो पर्यटकको छ । सुधारको काम भएपनि प्रयाप्त देखिएको छैन । पार्कको रुपमा व्यवस्थित गर्न आवश्यक रहेको उनीहरुको भनाइ छ ।

भारतीय पर्यटक दिपक दत्तले पिकनिक स्पटमा बिजुली, पानीको व्यवस्था नहुँदा सास्ती भएको बताए । पटक पटक आउँदा पिकनिक स्पटमा एकै खाले समस्या देखिएको कुनै सुधार नदेखिएको उनको भनाइ छ । बिहार वंगाहाबाट आएका राहुल कुमारले सरसफाईको समस्या औल्याए । ‘ खासै सरसफाइ छैन, आएर आफूले नै सफा गर्नुपर्छ । खानेपानी पनि राम्रो छैन । बसेर खान समेत अप्ठेरो लाग्छ,’ राहुलले भने, ‘सरसफाइ, खानेपानीको उचित प्रबन्ध हुनुपर्छ ।’

बारा जीतपुरसिमरा उपमहानगरपालिका – १४ का टंकनाथ शर्माले पनि वनभोज स्थललाई व्यवस्थित बनाउन आवश्यक देखिएको बताए । ‘ यहाँको व्यवस्थापन त्यति राम्रो हुन सकेन, बिजुली बत्ती, खाने पानीको राम्रो सुविधा छैन, खाना बनाउने ठाउँको पनि असुविधा भयो,’ उनले भने, ‘बत्ती, पानीको व्यवस्थासँगै खाना बनाउन टिनले छाएको सेड मात्रै हुन्थ्यो भने पनि गज्जब हुने थियो । ’

उनले पर्यटकसँग शुल्क लिने तर व्यवस्थापनमा ध्यान नदिने प्रवृत्ति गलत भएको टिप्पणी गरे । स्थानीय, प्रदेश र संघ सरकारबीच समन्वय हुन सकेको खण्डमा ठोरीको पर्यटकीय संभावनालाई अझै फैलाउन सकिने तर्क उनको छ ।

राईधारा पिकनिक स्पटको संरक्षणको जिम्मा चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने निर्मल ठोरी उपभोक्ता समितिले लिएको छ । उसले राईधारा परिसरमा पिकनिकका लागि आएको सवारी साधनबाट संरक्षण शुल्क लिने गरेको छ । नेपाली साना सवारी साधनका लागि १ सय र दुई सय रुपैयाँ, भारतीयलाई भारु १ सय र २ सय नै लिने गरेको छ ।

समितिका अध्यक्ष बालकुमार बस्नेतले दुई वर्ष कोरोना कारणले आउन नपाएका पर्यटक एकैपटक आएकोले व्यवस्थापन मिलाउन हम्मे हम्मे भएको बताए । ‘ठोरीमा पानीको अभाव नै छ, खोला नाला धेरै छ, जमिनमूनी पानी धेरै छ । तर माथिल्लो भागमा पानीको व्यवस्थापन गर्न गाह्रो छ । स्थानीय सरकारले पनि गर्न नसकेको कुरा हो । समितिले त्यसमा के नै गर्न सक्छ र ?’ उनले भने, ‘३ हजार जति मानिसलाई पानी, बत्तीको व्यवस्थापन गर्न सक्ने अवस्थामा थियौं, तर त्यो भन्दा धेरै पर्यटक आउँदा समस्या भयो ।’

पर्यटकीय क्षेत्रको विकास गर्ने प्रतिबद्धता

समितिले जिम्मामा लिएपछि ४ वटा चर्पी, ३ वटा धारा बनाई सकेको बताउँदै उनले स्तरोन्नतीका लागि अन्य कामहरु पनि गरिने बताए । ‘संरक्षण शुल्क सरसफाई, पुनः निर्माण, धारा, पानी बत्ती र फोहोरमैला व्यवस्थापनका लागि नै लिएका हौं,’ उनले भने, ‘अब आउँदा पार्क जस्तो देखिनेगरी काम अघि बढाउँदैछौं, थप शौचालय, धारा बनाउँछौं, फोहोर व्यवस्थापन गर्न आवश्यक कदम चाल्छौं ।’

तर उछृङ्खल खालका पर्यटकले गर्दा पनि समस्या हुने गरेको उनको भनाइ छ । ‘डष्टबिन व्यवस्था गरेका छौं, त्यो नफुटाइदिए हुन्थ्यो । पर्यटकले पनि वियरका बोतल जथाभावी फुटाएर हिँडिदिन्छन् । तारबार नै भत्काइदिने गर्छन्,’ उनले भने, ‘यसले गर्दा पनि व्यवस्थापनमा समस्या ल्याउँछ ।’

राईधारामा सामूहिक तस्वीर खिचाउँदै शिक्षक एवं स्कुले बालबालिका ।

स्थानीय सरकारलाई राईधारा क्षेत्रको विकासका लागि प्रस्ताव पेश गरेकोमा अगामी वर्षको बजेटमा कार्यक्रम दिने आश्वासन पाएको उनले बताए ।

ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले विद्युत र खानेपानीको व्यवस्थापनका लागि काम भइरहेको बताए । ‘राईधारा परिसर र ठूटेखोला पुलसम्म विद्युत विस्तारका लागि पोल मागएको छु, पुलको डिलसम्म पोल गाडेर भेपर लाइट लगाउने योजना छ । खानेपानीको व्यवस्था त गरेको हो, तर एकैपटक धेरै पाहुना आउँदा अपुग भयो,’ अध्यक्ष श्रेष्ठले भने, ‘पानीको पनि पाइपलाइन विच्छ्याउने योजना छ, पाइप आइसकेको छ । समय नपाएर पनि हो । विधि, नियम प्रक्रिया पुर्‍याएर बजेट निकासा गरेर काम गर्दा समय लाग्छ ।’

उपभोक्ता समितिले प्रप्रोजल नदिएपनि पालिकाको ठोरीको पर्यटकीय सम्भावनालाई माथि उठाउन निरन्तर काम गर्ने गाउँपालिका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?