+
+
पोखरा विमानस्थल :

७२ सिटे जहाजबाट अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

अमृत सुवेदी अमृत सुवेदी
२०७९ पुष १७ गते २१:३५
Photo Credit : सुनिल पाण्डे

१७ पुस, पोखरा । लाम्रो प्रतीक्षापछि उद्घाटन भएको अन्तर्राष्ट्रिय विमानस्थलमा पोखरेलीको मानवसागर उर्लियो । आफ्नै आँगनमा बनेको अन्तर्राष्ट्रिय विमानस्थल हेर्नु, विमानस्थललाई पृष्ठभागमा राखेर फोटो खिच्नु र उद्घाटन समारोहलाई सेलिब्रेसन गर्नु उनीहरुको मुख्य उद्देश्य थियो ।

विसं २००८ सालमा खरबारीमा हिमालय एभियन्सको डकोटा विमान उत्रिएको देखेका, सुनेका पोखरेलीले यो विमानस्थलबाट पक्कै ठूला विमानले अन्तर्राष्ट्रिय उडान भर्ने कल्पना गरेका थिए ।

व्यवसायी कमल थापाले आइतबार उद्घाटनका दिन नै कम्तीमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन उडानमा नेपाल एयरलाइन्सको न्यारो बडी जहाज उड्ला भन्ने आशा गरेका थिए । तर, उद्घाटन उडान बुद्ध एयरको ७२ सिटे एटीआरबाट भयो, जुन पोखरेलीका लागि नयाँ विमान होइन ।

‘अस्ति डेमो उडान पोखरा टू पोखरा थियो । आज पोखरा-काठमाडौं भयो’, उनले ब्यंग्य गरे । पोखराका व्यवसायीहरुले पनि एक वर्ष अगाडिदेखि नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुँदा पहिलो उडान अन्तर्राष्ट्रिय नै हुनुपर्ने अडान राख्दै आएका थिए ।

‘कम्तीमा पहिलो उडान अन्तर्राष्ट्रिय नै गरेर सन्देश दिन राज्यले पहल गरोस् भन्ने हाम्रो पहिलेदेखि नै माग थियो’, व्यवसायीका नेता वासु त्रिपाठी भन्छन्, ‘पोखराका कारणले होइन, राज्यले नीतिगत तहमा गर्नुपर्ने पहल नगर्दा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान नै डोमेस्टिक गर्न बाध्य हुनुपर्‍यो ।’

हालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सञ्चालनका लागि कुनै अन्तर्राष्ट्रिय विमान कम्पनीले अनुमति लिएका छैनन् । तर स्वदेशकै वुद्ध एयरले उद्घाटनका दिन वनारस उडान भर्न भारतसँग अनुमति मागेको थियो । तर, भारतले अनुमति दिन नसकेपछि वनारसको उडान पनि हुन नसकेको विमानस्थल स्रोतको दावी छ ।

अरु थुप्रै आन्तरिक वायुसेवाका जहाजहरु पोखराको अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि दिउँसो हिमालयको एयरबस-३२० पनि प्रदर्शनी उडानका लागि पोखरा पुगेर फर्किहाल्यो ।

‘अब चिन्ता र चनाखो हुनुपर्ने कहाँनेर देखिएको छ भने कतै यो विमानस्थललाई डोमेस्टिकमै सीमित गराउने त होइन ?’ त्रिपाठीले भने, ‘भारतसँग राजनीतिक तथा नीतिगत तहबाटै समस्या समाधान नगरी हुँदैन, यसमा राजनीतिक दल र कर्मचारी तन्त्र गम्भीर हुनै पर्छ भने हाम्रो खबरदारी अझै चाहिन्छ ।’

अन्तर्राष्ट्रिय विमानस्थल समारोहलाई हजारौं उपस्थित भएर समर्थन जनाएका पोखरेलीले चिन्ता गरेका छन्, ‘कतै अब यो विमानस्थललाई आन्तरिक उडानमै सीमित बनाइने त होइन ?’

नागरिक उड्डयन प्राधिकरणले जनवरी १ मा प्रधानमन्त्रीबाट विमानस्थल उडान उद्घाटन गर्ने घोषणा केही महिना अगाडि नै गरेको थियो । त्यही योजनाअनुसार नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उद्घाटन गर्न आउँदा विमानस्थलमा पानीको फोहोराले स्वागत गरिएको थियो ।

पोखराबासी भने २०३२ सालदेखिको सपना पूरा हुँदै गर्दा यो विमानस्थल भविष्यमा कसरी चलाउने भन्नेबारे प्रधानमन्त्रीले केही योजना सुनाउलान् कि भन्नेमा आशावादी थिए ।

तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले राजा वीरेन्द्र शाहलाई प्रस्ताव गरेर निर्णय भएपछि यो विमानस्थलको जग्गा अधिग्रहण गरिएको थियो । आइतबारै उद्घाटन समारोहमा अभिनन्दित भएका पाठकलाई पनि खुसी र चिन्ता दुबै छ । उद्घाटन हुँदा खुसीले ढक्क छाती फुलेको छ भने कतै यो विमानस्थल भोलि अन्तर्राष्ट्रियस्तमै सञ्जाल बढाउन नसक्ने त होइन भन्ने चिन्ता पनि छ ।

उद्घाटनका दिन भारतले वनारससम्मको अनुमति नदिनुका पछाडिको कारण पत्ता लगाएर कुटनीतिक हिसाबले रुट स्वीकृति लिन राजनीतिक नेतृत्वले चासो नदेखाएको पोखरेलीहरुको भनाइ छ ।

‘नेपालमा अहिलेदेखिको होइन, रुटको समस्या तर खै दलहरुले डिप्लोमेटिक हिसाबले समाधान गर्न खोजेको ?’ पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठ भन्छन्, ‘यो विमानस्थललाई खुम्च्याउने प्रयत्न कहीँ कतैबाट भएको त छैन ?’

विमानस्थल सञ्चालनमा आउदा निजी क्षेत्र पनि तयार हुनुपर्छ भनेर लगानी बढाएको उनको भनाइ छ । ‘विमानस्थल उद्घाटन भएसँगै हामी उत्साही छौं । आज नभए पनि पछि छिमेकी मुलुकहरुमा पक्कै उडान हुनेछ’, श्रेष्ठले भने, ‘राज्यले नीति र पूर्वाधार निर्माणको काम गरोस् ।’

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्द मूल्मीले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन भएका हरेक षड्यन्त्रलाई जितेर उद्घाटनसम्मको स्थितिमा आइपुगेको बताए । तर, राज्यले हवाई रुटको विषयमा स्पष्टसँग भारत र चीनसँग आफ्नो कुरा राख्न सक्नुपर्ने उनको भनाइ छ ।

‘हामीले कम्तीमा भारत त पहिलो उडान हुनुपर्छ भनेका थियौं, तर भारतले नै नदिँदा त्यो पनि सम्भव भएन’, मुल्मीले भने, ‘अब यो विमानस्थल नचलाई सुखै छैन, दल र सरकारले त्यसरी नै सोचोस् ।’

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रन-वे २५ सय मिटर लामो छ । त्यसलाई बेलैमा ३ हजार मिटरको बनाउन दबाव दिन चुक्दा ठूला जहाज आउन नसक्ने अवस्था बनेको मुल्मीको भनाइ छ । ‘तर, अब यसैलाई सुधारेर चलाउनैपर्छ भन्नेमा पोखरेली एक मत छन्,’ उनले भने ।

भारतले एयर रूट दिएमा महेन्द्रनगर, जनकपुर, नेपालगञ्ज र विराटनगर रूट प्रयोग गर्ने भनिएको छ । तर, यो रुट भएर नेपालमा जहाज उड्नज भारतले अनुमति दिएको छैन । पोखरा विमानस्थलका लागि सिमराभन्दा भैरहवा रूट लिनुपर्ने उनीहरुको भनाइ छ । नत्र भने झनै महंगो पर्ने छ ।

‘भारतले सुरक्षाको कारण देखाएर प्रवेश मार्ग रोकिरहेको छ, त्यसमा पनि खास गरी भैरहवा प्रवेश मार्ग रोकिराखेको देखिन्छ । सजिलैसँग जान सक्ने तर आउन नपाउने बिडम्बना हो, हामीले कन्भिन्स गर्न सकिरहेका छैनौं’, मुल्मीले भने, ‘हाम्रो सूचना कमजोर छ भन्ने यसले प्रमाणित गर्छ । एयर रुटबारे नेपालका राजनीतिक दल र कर्मचारीतन्त्र गम्भीर हुन जरुरी छ ।’

विमानस्थलको उद्घाटन समारोहलाई सेलिब्रेसन गर्न पुगेका पोखरेलीलाई प्रधानमन्त्री, मन्त्रीहरुले एयर रुटको समस्या सम्बोधन नगरे पनि केही आशा भने दिएका छन् । प्रधानमन्त्री प्रचण्डले यो एयरपोर्टलाई अन्तर्राष्ट्रिय विमानस्थलसँग जोड्ने बताए पनि कुन एयर रुटबाट, कसरी भन्ने स्पष्ट पार्न सकेनन् ।

अर्थमन्त्री विष्णु पौडेलले पर्यटकीय नगरी पोखरामा अब पर्यटकको ओइरो लाग्ने भन्दै पोखरेलीमा उत्साह भर्न खोजे । तर, कसरी ओइरो लाग्छन् भन्ने खुलाएनन् । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले चीनले गरेको ऋण लगानीलाई अनुदानमा परिणत गराइदिन आग्रह गरे ।

विमानस्थल उद्घाटनले पोखरेलीमा उत्साह दिए पनि अझै यथावत रहेका समस्या समाधान कसरी हुन्छ र यो एयरपोर्टले खर्च उठाउँछ कि उठाउँदैन भन्ने चिन्ता पनि छ ।

ल्याण्डफिल साइटको अस्थायी व्यवस्थापन भए पनि रिठ्ठेपानी डाँडा अझै काटिसकिएको छैन । तर, उडानका लागि अवरोध छैन । ढल, इन्धन, विमानस्थलदेखि गन्तव्यसम्म पुग्ने पूर्वाधार व्यवस्थापन नगरेसम्म एयरपोर्ट राम्रोसँग नचल्ने पोखरेलीको चिन्ता छ ।

पटक पटक आन्दोलन र खबरदारीपछि सन् २०२१ जुलाई १० भित्र सम्पन्न गर्ने गरी २०७३ वैशाख १ मा शिलान्यास भएको थियो । कोरोनाले आयोजना प्रभावित पारेपछि १ वर्ष म्याद थपिएको हो ।

नागरिक उड्डयन प्राधिकरण र चिनियाँ ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच सन् २०१४ को मे ३१ मा चीनको झन्डै २२ अर्ब सहुलियतपूर्ण ऋणमा ठेक्का सम्झौता भएको थिया । २०३२ सालमा ३१ सय रोपनी जग्गा अधिग्रहण भएकोमा अहिले झण्डै ४ हजार रोपनीमा विमानस्थल छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?