+
+

नेपाल टी–२० क्रिकेटमा फिक्सिङको आशंका

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ पुष १९ गते २१:५४

१९ पुस, काठमाडौं । नेपाल टी–२० लिगमा मंगलबार विहान विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सका खेलाडीे मैदान उत्रिन मानेनन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुर पुगेका नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले खेलाडीका माग सम्बोधन गर्न साँझसम्म समय मागेपछि खेल त भयो, तर ९ ओभरको मात्र । भोलि बुधबारको खेल हुनेमा आशंका छ ।

किनकी एकातिर खेलाडीहरुले पारिश्रमिक पाएका छैनन्, अर्कातिर फिक्सिङको आरोप लागेको छ । यसले क्रिकेट संघको आयोजना र सेभेन थ्री स्पोर्टस कम्पनीको व्यवस्थापनमा भइरहेको नेपाल टी–२० माथि नै प्रश्न उठेको छ ।

विवादित पृष्ठभूमिको भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस कम्पनीलाई नेपाल टी–२० लिग आयोजना गर्न दिने क्रिकेट संघको निर्णयमाथि सुरुदेखि नै प्रश्न उठेको थियो । तीनपल्ट मिति सारेर ९ पुसदेखि त्रिवि क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएपछि विवाद बढ्यो । बेटिङ गराउने कम्पनीको नाम प्रायोजकमा जोडियो, विदेशी क्रिकेट खेलाडीहरुलाई श्रम स्वीकृति नलिई खेलाउन थालियो ।

क्रिकेट संघ र सेभेन थ्री स्पोर्टसले आफ्नो कमजोरीलाई ढाकछोप गर्दै खेल गराइरहेका थिए । तर मंगलबार बिहान विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्सका खेलाडीले पारिश्रमिक नपाएको भन्दै टस गर्नै मानेनन् । नेपालको राष्ट्रिय टिमका कप्तान रोहित पौडेल विराटनगर र पूर्वकप्तान ज्ञानेन्द्र मल्ल काठमाडौं टिमका कप्तान छन् ।

खेल नै रोकिएपछि क्रिकेट संघ क्यानका पदाधिकारीले खेलाडीको माग पूरा गर्न साँझसम्म समय मागेपछि उनीहरु खेल्न तयार भए । खेल २ घण्टा ढिला सुरु भएका कारण ९ ओभरमा झारियो । तर बुधबारको खेल हुनेमा आशंका छ । किनकी फ्रेन्चाइज टिम मालिक अझै सम्पर्कविहीन छन् र खेलाडीहरुले पारिश्रमिक पाउने निश्चित भएको छैन ।

स्रोतका अनुसार क्यान पदाधिकारीहरु भोलिसम्म हरहालतमा खेल सञ्चालन गर्ने प्रयासमा छन् । किनकी सेभेन थ्रीसँगको सम्झौतामा ७५ प्रतिशत खेल सम्पन्न हुनुअगाडि प्रतियोगिता रोकिएमा क्यानले क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ । क्यान स्रोतका अनुसार सम्पर्कमा आएका दुई टिम मालिकले दिने पैसा बाँडेर लिने गरी खेलाडीहरुलाई मनाउने प्रयास भइरहेको छ ।

जबकी क्यान, सेभेन थ्री स्पोर्टस र फ्रेन्चाइज टिमहरुबीच भएको सम्झौतामा प्रतियोगिता अगाडि नै खेलाडीलाई ५० प्रतिशत पारिश्रमिक भुक्तानी गर्नुपर्ने उल्लेख छ । यो सम्झौता लुम्बिनी अल स्टार्सले मात्र पालना गरेको छ । पोखरा एभेन्जर्सले दुई किस्तामा गरी ५० प्रतिशत पारिश्रमिक दिएको बताएको छ । बाँकी चार टिम काठमाडौं नाइट््स, फार वेस्ट युनाइटेड, विराटनगर र जनकपुर रोयल्सले खेलाडीलाई अहिलेसम्म पारिश्रमिक दिएका छैनन् ।

नेपाल टी–२० लिग खेल्ने खेलाडीले नेपालीको हकमा ए ग्रेडले १५ लाख, बी ग्रेडले १० लाख र सी ग्रेडका खेलाडीले ५ लाख रुपैयाँ पाउँछन् । विदेशीको हकमा ए ग्रेडले ४० हजार, बी ग्रेडले २० हजार र सी ग्रेडका खेलाडीले १२ हजार ५ सय अमेरिकी डलर पाउँछन् । क्यान पदाधिकारीले ग्रेड घटाएर रकम दिने आश्वासन दिएपनि खेलाडीहरु सहमत नभएकाले बुधबारको खेल हुनेमा आशंका छ ।

फिक्सिङको आशंका

मंगलबारको खेल जितेपछि काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले एउटा खुलासा गरे, आफ्नो टिमको एक खेलाडीलाई फिक्सिङका लागि प्रस्ताव आएको थियो । मल्ल भन्छन्, ‘एप्रोच र फिक्सिङ फरक कुरा हो । एप्रोच गर्दैमा (फिक्सिङ) गर्छ भन्ने हुँदैन । हामीले नियमअनुसार एसीयू (एन्टी करप्सन युनिट) मा रिपोर्ट गरेका छौं ।’

मल्लले भने जस्तो फिक्सिङका लागि प्रस्ताव गर्नु र फिक्सिङ हुनुमा भिन्नता छ ।

तर बेटिङ गराउने कम्पनीले नै प्रतियोगिता आयोजनाको जिम्मा पाउनु, फ्रेन्चाइज टिम नै अपारदर्शी हुनु र खेलाडीहरुलाई फिक्सिङका लागि प्रस्ताव आउनुले प्रतियोगिता शंकाको घेरामा परेको छ ।

भारतीय नागरिक जतिन अहुवालियाले सञ्चालन गरेको सेभेन थ्री स्पोर्टस सट्टेबाजी घरसमेत सञ्चालन गर्ने उद्देश्यले भारतमा दर्ता भएको कम्पनी हो । नेपालमा सट्टेबाजी प्रतिबन्धित छ । सेभेन थ्रीले प्रतियोगिता सुरु हुनुभन्दा एक दिनअघि अर्को सट्टेबाज कम्पनी वान एक्स बेटलाई मुख्य प्रायोजकका रुपमा सार्वजनिक गरेको थियो ।

सट्टेबाजी र सम्भावित फिक्सिङबारे प्रश्न उठेपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द र कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लले निष्पक्ष प्रतियोगिता सञ्चालन हुनेमा शंका नगर्न आग्रह गरेका थिए ।

जब प्रतियोगिता सुरु भयो, देशबाहिर (विशेष गरी भारतमा) विशेष प्राथमिकताका साथ सट्टेबाजी सुरु भयो । सट्टेबाजीले खेलमा स्पट फिक्सिङको सम्भावना बलियो बन्यो । प्रतियोगिताका लागि नेपाल आएकामध्यै सबैभन्दा शीर्ष विदेशी खेलाडी सिकन्दर राजा बीचैमा फर्किए ।

राष्ट्रिय टिमका कप्तान रोहित र जिम्बाबेका सिकन्दरजस्ता खेलाडी हुँदाहुँदै विराटनगरले अर्कै खेलाडीलाई कप्तानको जिम्मा दियो । अदृश्य टिम मालिकको चाहनाअनुसार वेष्ट इन्डिजका भेट्रान खेलाडी आन्द्रे म्याकर्थीलाई कप्तान बनाइएको थियो । विराटनगरको पछिल्ला दुई खेलमा भने रोहितले कप्तानी गरेका छन् ।

कतिपय खेलमा अस्वाभाविक प्रदर्शन, केही विदेशी खेलाडीको शंकास्पद गतिविधिले अरु खेलाडीमा पनि दुर्घटनामा पर्ने होइन भन्ने त्रास देखिएको क्यान स्रोत बताउँछ ।

क्यानले नेपालको इतिहासमै सबैभन्दा ठूलो र प्रतिष्ठित भनेर प्रचार गरेको प्रतियोगिताको पहिलो संस्करण नै उनीहरुका लागि निल्नु न ओकल्नुजस्तो स्थितिमा छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सम्पूर्ण कागजात मागेपछि विदेशी खेलाडीको श्रम स्वीकृति प्रक्रिया अहिलेसम्म अगाडि बढेको छैन ।

तर, पहिलो खेलदेखि नै विदेशी खेलाडी खेलाउने निर्णय नेपालको कानून विपरीत थियो । यसमा सरकारले पनि चासो देखाएको छ । मंगलबार मात्र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाल टी–२० प्रतियोगितामा प्रतिबन्धित सट्टेबाजी, सम्भावित स्पट फिक्सिङ र श्रम स्वीकृतिविना विदेशी खेलाडीलाई खेल्न दिएकोबारे चासो राख्दै अनुसन्धानका लागि नेपाल प्रहरीकोे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई निर्देशन दिएका छन् ।

क्रिकेट संघका एक अधिकारीका अनुसार मंगलबारसम्म आइपुग्दा भारतमा इण्डियन प्रिमियर लिग (आईपीएल)को झल्को दिने गरी नेपालमा सञ्चालन गर्ने भनिएको टी–२० लिगको शाख गुमाइरहेको छ । सट्टेबाजी र स्पट फिक्सिङमा मुछियो भने नेपाल क्रिकेट नै पुनः दुर्घटनामा पर्ने त होइन भन्ने चिन्ता बढेको छ ।

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?