+
+

देउवा कार्यसमितिको एक वर्ष, नीति महाधिवेशन अझै अनिश्चित

नीति तथा कार्यक्रम, सांगठनिक र राजनीतिक प्रतिवेदनमा बहस हुनु साटो महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुन थालेपछि कांग्रेसले नीति माथि छलफल गर्न छुट्टै महाधिवेशन गर्ने निर्णय लिएको हो । तर, यो कहिले हुने हो अझै टुङ्गो छैन ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ पुष २० गते ९:००
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा

२० पुस, काठमाडौं । १६ पुसमा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा वक्तव्य निकालेर भने, ‘नीति महाधिवेशन गरी पार्टीको नीति योजना र कार्यक्रम तय गर्ने काम अविलम्ब गर्नुपर्नेछ ।’

महामन्त्रीद्वयको वक्तव्यलाई लिएर कांग्रेसभित्र फरक–फरक धारणा प्रकट भएका छन् । दुई महामन्त्रीले निकालेको वक्तव्यलाई स्वाभाविक रुपमा लिनेदेखि त्यसको विपक्षमा मत राख्नेहरुसम्म देखिएका छन् ।

कार्यान्वयन गर्ने तहमा भएका व्यक्तिहरुले वक्तव्य निकालेर नीति महाधिवेशनको माग गर्नु गलत भएको बताउँँछन्, संस्थापन पक्षका नेताहरु । उनीहरुमध्ये एक पूर्व उपसभापति विमलेन्द्र निधि भन्छन्, ‘कुनै पनि पदाधिकारीले पार्टी सभापतिको अनुमति नलिई यस्तो विज्ञप्ति निकाल्नु हुन्न ।’ पार्टी सभापतिलाई भेटेर भन्नुपर्ने विषयमा वक्तव्य निकाल्नु गलत भएको उनले सुनाए ।

अर्कोतर्फ, ‘नीति महाधिवेशन अविलम्ब गर्नुपर्नेछ’ भन्ने वक्तव्यले महामन्त्रीद्वयले कहाँ गल्ती गरे ? भन्ने प्रतिवादका विचारहरु पनि छन् । महाधिवेशन पश्चात् ६ महिनाभित्र गर्ने भनिएको नीति महाधिवेशन छिटो गरौं भन्ने तत्परतालाई अस्वाभाविक रुपमा लिन नहुने संस्थापन इतरका एकजना नेता बताउँछन् ।

उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा गठन गरिएको नीति, अनुसन्धान तथा प्रतिष्ठानले नीति माथिको बहस चलाउन त परको कुरा आफ्नो समितिलाई पूर्णता दिनसमेत सकेको छैन ।

२०७८ कार्तिक अन्तिम साता बसेको केन्द्रीय समिति बैठकले नेतृत्व र नीति महाधिवेशन छुट्टाछुट्टै गर्ने निर्णय गरेको थियो । नीति महाधिवेशनलाई छुट्टै गराउने निर्णयमा असन्तुष्टिका आवाज तत्कालिन समयमा सुनिएका थिएनन् । पार्टीलाई थप गतिशील बनाउन र विचारप्रधान बहस गर्न नीति महाधिवेशन गर्ने भनिएको थियो ।

यति मात्रै नभई पार्टी नीतिमुखी नभएर नेतामुखी भएको भन्ने आलोचनालाई चिर्न पनि नयाँ प्रणाली अपनाइएको नेताहरुको धारणा थियो । निर्वाचित सभापतिले आफूले ल्याएको नीति अनुसार पार्टी परिचालन गर्नका लागि पनि नीति महाधिवेशन गर्नुपर्ने नेताहरुको जोड थियो ।

हालसम्म भएका दुई निर्णय

६ महिनाभित्र गर्ने भनिएको नीति महाधिवेशन नयाँ कार्यसमिति आएको एक वर्ष भित्र पनि हुन सकेको छैन । नीति महाधिवेशनका लागि हालसम्म दुई मात्रै काम भएका छन् । एउटा निर्णय कार्यान्वयनले पूर्णता पाउन सकेको छैन भने अर्को निर्णय अलपत्र अवस्थामा छ ।

पहिलो, उपसभापति पूर्णबहादुर खड्का नीति, अनुसन्धान तथा प्रतिष्ठानको प्रमुख तोकिएका छन् । दोस्रो, गत साउन पहिलो साता बसेको केन्द्रीय समिति बैठकले गरेको निर्णय । उक्त निर्णयमा भनिएको थियो, ‘नीति महाधिवेशनका सम्बन्धमा आवश्यक तयारी गरी केन्द्रीय कार्यालयले केन्द्रीय कार्यसमितिको आगामी बैठकमा प्रस्ताव प्रस्तुत गर्नेछ ।’

नेपाली कांग्रेसका उपसभापति एवम् नीति, अनुसन्धान तथा प्रतिष्ठानको प्रमुख पूर्णबहादुर खड्का

विधानतः उपसभापति उक्त पदको प्रमुख हुने व्यवस्था छ । सभापति शेरबहादुर देउवाले उक्त पदमा खड्कालाई मनोनित गरेका थिए । उक्त प्रतिष्ठानले पार्टीले अंगिकार गर्ने नीति माथिको बहस सुरु गर्ने अधिकार राखेको हुन्छ । नीति माथि बहस प्रारम्भ भएसँगै नीति महाधिवेशन गर्ने बाटो समेत खुल्छ ।

तर, उक्त प्रतिष्ठानले नीति माथिको बहस चलाउन त परको कुरा आफ्नो समितिलाई पूर्णता दिन समेत सकेको छैन । बढीमा ५१ जनाको प्रतिष्ठान कार्यसमिति रहने विधानमा व्यवस्था छ । सभापतिसँगको परामर्शमा प्रतिष्ठान प्रमुखले अन्य सदस्य थप्न सक्ने प्रावधान छ ।

साउन पहिलो साता पार्टीले गरेको निर्णय अनुसार केन्द्रीय कार्यालयले अहिलेसम्म नीति महाधिवेशनका लागि कुनै तयारी गरेको छैन । नीति महाधिवेशनका लागि आवश्यक तयारी गरेर केन्द्रीय समितिमा प्रस्तुत गर्न केन्द्रीय कार्यालयलाई निर्देशन दिएको थियो ।

केन्द्रीय कार्यालयले नीति महाधिवेशनको तयारी गर्नै नसकेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘केन्द्रीय समितिले निर्र्णय गरेको थियो होला । चुनावले गर्दा त्यसमा केही काम गर्न पाएनौं’, कांग्रेस मुख्य सचिव पौडेलले अनलाइनखबरसँग भने, ‘अब छलफल गर्छौं । केन्द्रीय समितिले नीति महाधिवेशनको निर्णय लिन्छ ।’

नयाँ प्रयोगको प्रयास तर विधिमा अन्योल

२२ गतेदेखि कांग्रेसको केन्द्रीय समितिको बैठक डाकिएकाले नीति महाधिवेशनका विषयमा छलफल हुने नेताहरुको आशा छ । तथापि, बैठकमा छलफलका एजेण्डामा यो विषय समावेश छैन । विविध शीर्षक अन्तर्गत नीति महाधिवेशनका सन्दर्भमा छलफल र निर्णय हुनसक्ने नेताहरु बताउँछन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल

कांग्रेसमा नीति महाधिवेशन नयाँ राजनीतिक अभ्यास हो । अन्योलमा रहेको नीति महाधिवेशन हुन सकेमा कांग्रेसमा नयाँ प्रयोगको प्रारम्भ पनि हुन्छ । नीति तथा कार्यक्रम, सांगठनिक र राजनीतिक प्रतिवेदनमा बहस हुनु साटो महाधिवेशन नेतृत्व चयनमा मात्रै केन्द्रित हुन थालेपछि कांग्रेसले यो निर्णय लिएको हो ।

पहिलोपटक नीति महाधिवेशन गर्न लागिएकाले कुन विधि अपनाउने भन्नेमा कांग्रेसभित्र अन्योल छ । महाधिवेशनकै प्रतिनिधि सहभागी गराउने वा छुट्टै विधि अवलम्बन गर्ने भन्नेमा हालसम्म छलफल नै हुन सकेको छैन । नीति महाधिवेशनमा अवलम्बन गरिने पद्धति, सहभागी संख्या र यो कहिले गर्ने भन्ने केन्द्रीय समितिबाटै टुंगो लगाउनुपर्ने हुन्छ ।

असन्तुष्टि र विकल्प

नीति महाधिवेशनको औचित्य माथि समेत पार्टी भित्रै प्रश्न उठाइएको छ । नीति र नेतृत्व छुट्याउने विधिप्रति केन्द्रीय सदस्य प्रदीप पौडेलले असन्तुष्टि जनाएका छन् । ‘नीतिलाई छुट्टै राखेर नेता छनोट हुन सक्दैन । नेता नीतिका आधारमा हुने हो । नेता अग्लो छ कि होचो छ वा कुनै रंगको आधारमा छनोट गर्ने त होइन नि’, पौडेलले भने, ‘व्यक्तिले कस्तो नीति बोकेको छ, त्यसको आधारमा छनोट गरिने हो । नेता र नीति छुट्याएर गरिने महाधिवेशन व्यवहारिक र लोकतान्त्रिक होइन ।’

महासमिति बैठकलाई नै नीति महाधिवेशनमा परिवर्तन गर्न सकिने विकल्प समेत पार्टीमा उठेको छ । विधानतः महाधिवेशन नभएको वर्षमा महासमितिको बैठक बस्नुपर्दछ । महाधिवेशन पछिको माथिल्लो निकाय महासमिति बैठक हो । विधान कार्यान्वयन हुने हो भने महासमिति बैठक २०७९ सालमा हुनुपर्दछ । महासमिति बैठकलाई नै नीति महाधिवेशनमा परिवर्तन गर्न सकिने विकल्प नेता पौडेल सुनाउँछन् ।

‘नीति माथि छलफल महासमिति बैठकमा गर्न सकिन्छं । त्यसैले नीति महाधिवेशन महासमिति बैठकलाई नै बनाउन सकिन्छ,’ पौडेलले भने ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?