+
+

कता लगिँदै थियो दुबईबाट ल्याएको १९ किलो सुन ?

गौरव पोखरेल गौरव पोखरेल
२०७९ पुष २० गते १६:०५

२० पुस, काठमाडौं । फ्लाइ दुबईको फ्लाइट नम्बर एफ २५३९ बाट सुडानी नागरिक २७ वर्षीय मोहमद अहमद डाफल्ला सराफिल्दन ८ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए । भन्सार चेकजाँचसम्म आइपुग्दा उनी सामान्य नै थिए । तर, ‘वाक थ्रु’ गेट अगाडि अल्मलिए ।

गेटमा रोकिइरहेपछि भन्सारका कर्मचारीहरुले उनलाई अगाडि बोलाए, डाफल्लाले गेटतिर छिर्न असहज मानिरहे । बोलाउँदा उनले फर्काएको जवाफ कर्मचारीहरुले बुझ्न सकेनन् । ‘खै कुन भाषामा बोलेको हो, केही बुझिएन’, भन्सारका एक कर्मचारी भन्छन्, ‘त्यतिबेलै शंका भइहाल्यो, जाँच गर्दा शरीरमा शंकास्पद वस्तु देखियो ।’

विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक अरुण पोखरेलका अनुसार उनले लगाएको कालो रंगको ज्याकेटभित्र ‘फल्स बटम’ बनाइएको थियो । जसमा १० वटा सुन जस्तो देखिने अर्धठोस पदार्थ भेटियो । ‘तौलिँदा १९ किलो रहेछ, त्यसपछि सुन हो भन्ने भयो । अहिले परीक्षणका लागि नेपाल राष्ट्र बैंक पठाएका छौं’, पोखरेलले अनलाइनखबरसँग भने ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार डाफल्लालाई सुडानी नागरिक इब्राहमले नेपालसम्म आउने टिकट काटिदिएको पाइएको छ । त्यसपछि उनी दुबईबाट सुन लिएर काठमाडौं आएका थिए । नेपालमा उनलाई रिसिभ गर्न एकजना व्यक्ति आउने भनिएको थियो ।

‘उसले प्लेकार्ड लिएर आउँछ र सामानसँगै तिमीलाई पनि रिसिभ गर्छु भनेको थियो’, डाफल्लाले बयानका क्रममा भनेका छन्, ‘तर, भेट हुन नपाउँदै म पक्राउ परेँ ।’ उनले नेपालमा सामान लिन आउने मान्छेलाई आफूले नचिन्ने पनि दाबी गरेका छन् । डाफल्लाले आफूलाई सामान रिसिभ गर्न आउने व्यक्तिले दुई दिन घुमाउने आश्वासन दिएको बताएका छन् ।

‘नेपालमा हिमाल, जंगल छ, घुमेर आउनु भनेको थियो, त्यसवापत सुडानी साढे ३ लाख पनि दिने भनेको थियो’, डाफल्लाले भनेका छन्, ‘म नेपाल पहिलो पटक आएको हुँ ।’ उनले आफ्नो साथबाट बरामद भएको सामान सुन भएको थाहा नभएको पनि दाबी गरेका छन् ।

‘सामानहरु गिलोगिलो थियो, यो सामान यसरी नै लैजानु भनेको हुँदा मैले ज्याकेट जस्तो कपडामा राखेर कम्मरमा बाँधेर लिएर आएको थिएँ’, उनले भनेका छन्, ‘पक्राउ परेपछि मात्रै सुन रहेछ भन्ने थाहा पाएको हुँ ।’

भन्सारका अधिकृतहरुले अहिले घटनाबारे विस्तृत अनुसन्धान गरिरहेका छन् । २०७५ सालमा चुडामणि उप्रेती ‘गोरे’को व्यवस्थापनमा चलेको सुन तस्करीको र्‍याकेट ‘ध्वस्त’ भएपछि नेपालमा ठूलो परिणाममा सुन बरामद भएको थिएन । अहिले प्रकरणमा आरोपी बनेका अधिकांश छुटिसकेका छन् । सनम शाक्यको हत्यामा जोडिएका गोरेसहितका केही व्यक्ति मात्र थुनामा छन् ।

नेपाल प्रहरीका एक अधिकृत भन्छन्, ‘झण्डै चार वर्षपछि फेरि सुन तस्करहरु सल्बलाउन थालेका छन् । उनीहरुले संगठितरुपमै यो र्‍याकेट चलाइरहेको हुनसक्छ । विस्तृत अनुसन्धान जरुरी देखिएको छ ।’

सुडानी नागरिकले ल्याएको १९ किलो सुन कता लगिँदै थियो भन्ने पनि खुलेको छैन । सुन लिन विमानस्थल पुग्ने भनिएको व्यक्ति पनि को थिए भन्ने खुलेको छैन । यद्यपि, प्रहरी अधिकृतहरुका अनुसार दुबईबाट ल्याइने ठूलो परिमाणको सुन प्रायः भारततिर जाने गरेको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?