+

नसा च्यापिएपछि थेरापीले निको हुन्छ कि शल्यक्रिया गर्नुपर्छ ?

२०७९ पुष  २१ गते ७:३० २०७९ पुष २१ गते ७:३०
नसा च्यापिएपछि थेरापीले निको हुन्छ कि शल्यक्रिया गर्नुपर्छ ?

काठमाडौं । नसा च्यापिने समस्याबाट पीडित हुनेको संख्या पछिल्लो समय बढेको छ । अस्वस्थकर जीवनशैली, मोटोपन, मोबाइलमा अत्यधिक समय बिताउने र व्यायाम नगर्ने व्यक्तिमा यस्तो समस्या देखिने गरेको छ ।

युवादेखि वृद्ध उमेरका व्यक्तिसम्मलाई देखिने नसा च्यापिने रोग बेलैमा पहिचान गरे यसबाट मुक्ति पाउन सकिने चिकित्सकहरु बताउँछन् ।

के हो नसा च्यापिने रोग ?

न्युरोलोजिस्ट डा. सुरेश सापकोटा भन्छन्, ‘मेरुदण्डको दुईवटा हड्डीको बीचमा चकटी जस्तो नरम मासु बसेको हुन्छ । सो मासु फुत्कियो भने नसा च्यापिने समस्या हुन्छ । कसैमा भने मरुदण्डको जोर्नी सुन्निएर, फुलेर वा खिइँदै गएर जोर्नीहरुले थिच्दा नसा च्यापिने हुन्छ ।’

शारीरिक व्यायाम नगर्ने, मोटोपन भएका, विलासी जीवन बिताउने, अल्छीपन भएका, अत्यधिक धुम्रपान गर्ने, भारी वजन बोक्ने, धेरै समयसम्म झुकेर गर्नुपर्ने व्यक्तिलाई नसा च्यापिने रोगको जोखिम हुन्छ । घरमै दिनभर मोबाइल चलाएर बस्नेका साथै खेलाडीहरुमा समेत यस्तो समस्या देखिएको डा. सापकोटा बताउँछन् ।

शरीरको कुनकुन ठाउँमा गर्छ असर ?

डा. सापकोटाका अनुसार मेरुदण्डमा नसा च्यापिएपछि त्यसले हात वा खुट्टाको मांसपेशी चलाउने नसाहरुमा असर गरेको हुन्छ । हातले केही सामान समात्न कठिन हुने, पहिला जस्तो कलमले लेख्न नसक्ने, टाइप गर्ने काम गर्दा पहिलाको जस्तो हल्का नहुने, तरकारी काट्नेदेखि सियो धागो उन्न समेत नसक्ने, हातले केही सामान उचाल्न खोज्दा नसक्ने, हात झम्झमाउने जस्ता लक्षण देखिने डा. सापकोटा बताउँछन् ।

यस्तै खुट्टाबाट चप्पल फुत्किएको थाहा नहुने, तातो वस्तुले पोलेर छाला निस्किंदा समेत थाहा नपाउने, खुट्टा भारी हुने, झम्झमाउने, निदाइरहने हुन्छ । नसा च्यापिएका केही व्यक्तिमा भने दिसा पिसाबमा समस्या आउने डा. सापकोटा बताउँछन् ।

‘दिसा पिसाब भएको चाल नपाउने, स्पर्श भएको थाहा नहुने, लिंगको उत्तेजना कम हुने जस्ता समस्या देखिन्छ,’ उनी भन्छन्, ‘त्यसबाहेक ढाड र कम्मर बढी दुख्ने समस्या भएकामा पनि नसा च्यापिने समस्या हुन सक्छ ।’

खुट्टा र हातमा कमजोरी हुने, दिसा पिसाब आएको थाहा नहुने र लिंगमा उत्तेजना कम हुने जस्ता समस्या देखिए यसलाई जटिल मान्नुपर्ने डा. सापकोटा बताउँछन् ।

उपचार के छ ?

सामान्यतया नसा च्यापिने रोगको समस्या भएकामध्ये ८० प्रतिशतको एक महिनाको अवधिमा आफैं ठीक हुने डा. सापकोटा बताउँछन् । ‘तर केहीलाई भने ढाड र कम्मर वा कसैलाई गर्दन, हातखुट्टा दुखिरहेको छ भने आराम गर्ने, तातो पानीले सेक्ने गर्दा पनि ठीक हुन्छ,’ उनी सुझाउँछन् ।

कहिलेकाहीं सिटामोल र ब्रुफिनको सेवनले पनि यस्तो समस्या ठीक हुने उनी बताउँछन् । तर यसका लागि चिकित्सकको सल्लाह भने लिन जरुरी छ ।

‘औषधिले छोएन, लगातार दुखाइ बढिरहेको छ, गर्दनको दुखाइ हात र खुट्टासम्म पुग्ने, करेन्ट लागेको जस्तो हुने जस्ता लक्षण देखिएमा स्वास्थ्य परीक्षण गराउनुपर्छ,’ डा. सापकोटा बताउँछन् । सुरुमा छामेर हेर्दा दुखाइ भएको ठाउँमा अठ्याएर हेर्दा दुखेको छ वा छैन भनेर हेरिने, नसा च्यापिएको छ वा छैन भनेर हेरिने र एक्सरे, एमआरआई गरेर पनि हेरिने उनी बताउँछन् ।

शल्यक्रिया गर्नु पर्दैन

नसा च्यापिने समस्या भएका व्यक्तिमा लगातारको दुखाइ, दिसा पिसाबको समस्या छ र औषधि खाँदा पनि निको भएको छैन भने भिडियो एक्सरे गरेर हेरिसकेपछि नसामा नै गएर सुई लगाएर पनि ठीक पार्न सकिन्छ ।

सुई लगाउँदा पनि ठीक नभएमा मात्रै सानो शल्यक्रिया गरिने डा. सापकोटा बताउँछन् । ‘औषधि सेवन र फिजियोथेरापी गराएर पनि निको हुन सक्छ । अत्यधिक मोटोपन, मुटुको समस्या भएकालाई शल्यक्रिया गर्दा जोखिम हुनसक्छ,’ उनी भन्छन्, ‘उनीहरुलाई प्रायः नसामा सुई लगाएर निको पारिन्छ ।’

फिजियोथेरापीबाट उपचार

नेपाल मेडिसिटी अस्पतालको फिजियोथेरापिस्ट प्रमुख डा. मञ्जु ज्ञवाली फिजियोथेरापीबाट पनि नसा च्यापिने रोग निको पार्न सम्भव रहेको बताउँछिन् । ‘नसा च्यापिएको भन्दैमा आत्तिनु पर्दैन । नसा च्यापिएका धेरै बिरामीको नियमित थेरापीबाट पनि निको हुन सक्छ । तर कहिले गर्ने र कहिने नगर्ने गर्दा भने झनै जटिलतातर्फ जान सक्छ,’ उनी भन्छिन् ।

अधिकांशको फिजियोथेरापीबाट निको हुन्छ भने हातखुट्टा लुलो हुने, दिसा पिसाब थाहा नहुने, असह्य पीडा हुने बिरामीको भने शल्यक्रिया गर्नु नै उपयुक्त हुने ज्ञवाली बताउँछिन् ।

‘कहिलेकाहीं भने आकस्मिक दुखाइ छ भने ढिला नगरी शल्यक्रिया गर्नुपर्ने हुन्छ । फिजिरोथेरापी र औषधि खाँदा पनि दुखाइ कम भएन र दैनिक काममा नै असर परेको छ भने पनि शल्यक्रिया नै गर्नुपर्छ,’ उनी भिन्छन् ।

फिजियोथेरापीले के गर्छ ?

डा. ज्ञवाली भन्छिन्, ‘नसा च्यापिएका बिरामीको मेडिकल हिस्ट्री हेरेर पहिला कुन भागमा बढी असर गरेको छ, त्यो अनुसार विधि सुरु हुन्छ । इलेक्टोथेरापी, शारीरिक व्यायाम, म्यानुअल थेरापीबाट उपचार प्रक्रिया अघि बढाइन्छ ।’

नसालाई तन्काउने, नसालाई सपोर्ट दिने बनावट अनुकूल बनाउने, त्यहाँ भएका मासु  सन्तुलित बनाउने, जोर्नीहरुको लचकतालाई सन्तुलित गर्ने काम फिजियोथेरापीले गर्छ । नसा च्यापिएका बिरामीमा रेड फ्ल्यासको संकेत छैन भने फिजियोथेरापीबाट राम्रो उपचार हुन सक्छ ।

समाधान के ?

नसा च्यापिने समस्याबाट बच्नका लागि स्वस्थ जीवनशैली अपनाउनु नै मुख्य उपाय हो । शरीरको तौल सन्तुलनमा राख्ने, नियमित व्यायाम गर्ने र धुम्रपान नगर्नु नै यसको समाधान रहेको डा. सापकोटा बताउँछन् ।

ढाड, कम्मर दुख्नेहरुले झुकेर काम सकेसम्म नगर्ने, एकै आसनमा लगातार बसेर काम गर्नुहुँदैन । यदि यसरी काम गर्नै परे एकछिन आराम गर्ने, बिहान बेलुकी कसरत गर्ने र टाइपिङ गर्ने काम गर्नेले बेलाबखत तरिका परिवर्तन गरेमा यस्तो समस्याबाट छुटकारा पाइने सापकोटा बताउँछन् । जाडोयाममा चिसोमा नहिंड्ने र चिसो पानीले सकेसम्म नुहाउनु हुँदैन ।

नसा च्यापिने स्वास्थ्य
लेखक
मनिषा थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?