+
+

तेक्वान्दो संघले भन्यो– हामी मात्र आधिकारिक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १६:०१

२१ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपमा दर्ता खारेजीविरुद्ध उच्च अदालत पाटनबाट अन्तरिम आदेश पाएको नेपाल तेक्वान्दो संघले तेक्वान्दोको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिमा आफूहरुमात्र आधिकारिक रहने जनाएको छ ।

विश्व तेक्वान्दो महासंघको सम्वन्धन रहेको नेपाल तेक्वान्दो संघले अदालतको आदेशसँगै राष्ट्रिय टिम तयारी, अन्तर्राष्ट्रिय सहभागिता, रेफ्री सेमिनार, प्रशिक्षण कोर्षलगायतका गतिविधि आफूमातहत रहने बताएको हो ।

विहीबार संघको केन्द्रीय कार्यालय सातदोबाटोमा पत्रकार सम्मेलन गरी खेलकुद मन्त्रालय र राखेपको कदमबाट संघ, समग्र तेक्वान्दो खेलाडी, डोजाङ, प्रशिक्षकलगायतलाई परेको समस्यामा अदालतले न्याय दिएको जानकारी दियो ।

उच्च अदालतमा जारी मुद्दाको अन्तिम फैसला नआउन्जेलसम्म सबै सहयोग गर्न आफूहरु तयार रहेको संघले जनाएको छ ।

राखेपको कदमबाट संघलाई परेको पीडादायी क्षणलाई कहिल्यै नबिर्सिने भन्दै तेक्वान्दोको विकासका लागि खेलकुद मन्त्रालय र राखेपसँग हातेमालो गर्दै अघि बढ्न सधैं तयार रहेकोसमेत उसले बताएको छ ।

तेक्वान्दोमा दुई संघको विवाद रहेको भन्दै राखेपले ५ पुसमा नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघको दर्ता खारेज गरी नेपाल तेक्वान्दो महासंघ गठन गरेको थियो ।

गत साउनमा राखेप बोर्ड बैठकले उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा खेल संघ विवाद समाधान समिति बनाएको थियो ।

सोही समितिको प्रतिवेदनलाई २४ मंसिरमा तत्कालीन खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सदर गरेका थिए । आफ्नो दर्ता खारेजीविरुद्ध तेक्वान्दो संघले ८ पुसमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

११ पुसमा प्रारम्भिक सुनुवाइपछि अदालतले अल्पकालीन आदेश दिएको थियो । बुधबार सबै पक्षसँगको छलफलपछि न्यायाधीशद्वय श्यामजी प्रधान र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिँदै २४ मंसिरको मन्त्रीस्तरीय निर्णय र ५ पुसको राखेपको निर्णयलाई यथास्थितिमा राख्न आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?