+
+

देउवाको अलमल : प्रचण्डलाई विश्वासको मत दिने कि नदिने ?

राप्रपालाई प्रधानमन्त्री दिएर भए पनि सत्ता समीकरण भत्काउनुपर्ने केही नेताहरुको चाहनाप्रति देउवाले पटक्कै रुची देखाएका छैनन् । बरु उनी सभामुख लिने गरी प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिउँ कि नदिउँ भन्ने अलमलमा छन् ।

राजकुमार श्रेष्ठ राजकुमार श्रेष्ठ
२०७९ पुष २२ गते २१:३३

२२ पुस, काठमाडौं । राप्रपालाई प्रधानमन्त्री दिएर भए पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रको सत्ता समीकरण भत्काउनुपर्ने केही नेताको प्रयासलाई नेपाली कांग्रेसको शीर्ष नेतृत्वले रुची समेत देखाएन ।बरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै विश्वासको मत दिनुपर्ने मत कांग्रेसमा देखिएको छ ।

कांग्रसको संस्थापन पक्षका केही नेताले एमाले–माओवादी इतरको गठन्बन्धन बन्नसक्ने भन्दै लबिङ थालेका थिए । प्रचण्डलाई विश्वासको मत पुग्न नदिने र राप्रपालाई प्रधानमन्त्री दिएर भए पनि नयाँ गठबन्धन बनाउने उनीहरुको चाहना थियो । सभापति देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेपछि उनीहरु उत्साहित समेत भएका थिए ।

तर देउवाले नयाँ समीकरण बनाउनेतर्फ आफ्नो कुनै रुची नभएको प्रष्ट सन्देश दिएका छन् ।

कांग्रेस सभापति देउवाले शुक्रबार अपराह्न दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग संयुक्त भेट गरेका थिए । आफ्नै निवास, धुम्बाराहीमा भएको छलफलमा सभापति देउवाले पाँचदलीय गठबन्धन कसरी भत्कियो भनेर ब्रिफिङ गरेका थिए ।

स्रोतका अनुसार देउवाले माओवादी अध्यक्ष प्र्रचण्डलाई पहिलो पालोमा प्रधानमन्त्री बनाउने सहमति ‘साथीहरु’का कारण पालना गर्न नसकेको स्वीकार गरेका छन् । साथै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन गर्न सघाउने बताएर आफूलाई पनि धोका दिएको देउवाको निष्कर्ष थियो ।

त्यसक्रममा पदाधिकारीहरुले नयाँ समीकरण बनाउन पहल गरेको चर्चाबारे चासो राखेका थिए । एक पदाधिकारी भन्छन्, ‘हामीले बाहिरको चर्चाबारे कुरा उठाउँदा हो र पो भन्नुभयो । पार्टी सभापतिजी नै अनभिज्ञ हुनुहुँदोरहेछ ।’

महामन्त्री शर्माले पनि कांग्रेसले सत्ता समीकरण भत्काउन प्रयास नगरेको प्रष्ट पारेका छन् । ‘पार्टीको कुनै साथीले चोकमा चिया पिउँदै गर्दा कसैलाई केही भन्यो भने अलग कुरा हो,’ महामन्त्री शर्माले भने, ‘कांग्रेसले संस्थागत रुपमा सभापति, उपसभापति, महामन्त्रीहरुको तहबाट कोही कसैलाई अगाडि लाग है भनिएको छैन ।’

बरु शीर्ष नेताहरुबीच प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा के हुन्छ भनेर छलफल भएको छ । एक पदाधिकारी भन्छन्, ‘विश्वासको मत दिनु ठीक हो कि बेठिक ? विश्वासको मत दिएर प्रतिपक्षमा बस्न मिल्छ कि मिल्दैन ? भनेर विषय उठेको हो । यसबारे अहिले हामीले कुनै निर्णय गरेका छैनौं ।’

स्रोतका अनुुसार संस्थापन र इतर दुबै पक्षका कतिपय नेता प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर कांग्रेसले सभामुख पद लिनुपर्ने मत राख्छन् । त्यो शीर्ष तहको छलफलमा समेत व्यक्त भएको छ । उपसभापति पूर्णबहादुर खड्काले विश्वासको मत दिएर पनि प्रतिपक्षमा बस्न सकिने तर्क गरेका छन् ।

देउवा भने अलमल देखिएका छन् । ‘कतिपय साथीहरु विश्वासको मत हाल्नुपर्छ भनेर लागेका छन् । सभापति भने मान्दा होला कि नमान्दा भन्ने अलमलमा हुनुहुन्छ,’ देउवासम्वद्ध स्रोत भन्छ, ‘सभामुख लिनुपर्छ भन्ने चाहिँ उहाँलाई पनि लागेको छ ।’

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको २६ गते बस्ने बैठकमा विश्वासको मत माग्दै छन् । २७५ सदस्यीय प्रतिनिधिसभा १३८ सांसदले मत दिए प्रचण्डले विश्वासको मत पाउने छन् । कांग्रेस नेताहरुका अनुसार त्यही दिन बिहान संसदीय दलको बैठक बसेर मात्र विश्वासको मत दिने नदिने निर्णय हुनसक्छ ।

कांग्रेसका एक नेताका अनुसार माओवादी केन्द्रका नेताहरुले विश्वासको मत लिने क्रममा सभामुख दिने आश्वासन दिए पनि कसरी कार्यान्वयन हुन्छ भन्ने प्रष्ट छैन । किनकी सरकार गठनकै क्रममा एमाले र माओवादी केन्द्रका नेताहरुबीच प्रधानमन्त्री र सभामुखमा आलोपालो गर्ने सैद्धान्तिक सहमति भएको छ ।

लेखकको बारेमा
राजकुमार श्रेष्ठ

राजकुमार श्रेष्ठ अनलाइनखबर डटकमका सहायक सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?