+
+
अष्टावक्र दृष्टि :

२१औं शताब्दीमा जान्नैपर्ने २१ कुरा

हामीले १९औं र २०औं शताब्दीमा युरोपियन र अमेरिकनहरूले हाँकेको औद्योगिक क्रान्तिको रेल चढ्न ढिला गर्‍यौं। अब २१औं शताब्दीमा अर्को झन् ठूलो रेल अर्थात् डिजिटल क्रान्ति छुट्दैछ। यो बिग डेटा र आर्टिफिसियल इन्टेलिजेन्सले बनेको हुनेछ।

डा. कमल ढकाल डा. कमल ढकाल
२०७९ पुष २३ गते १७:४५

म विज्ञानको विद्यार्थी र पूर्वीय दर्शनमा रुचि राख्ने मान्छे। गत हप्ता इजरायलका इतिहासका प्राध्यापक युवल नोह हरारीकृत दुई पुस्तक ‘सेपियन्स’ र ‘२१औं शताब्दीमा जान्नैपर्ने २१ पाठ’ पढ्ने मौका मिल्यो। उनको पहिलो पुस्तक ‘सेपियन्स’ विश्व प्रसिद्ध छ र न्यूयोर्क टाइम्सका अनुसार बेस्टसेलर पुस्तक पनि हो।

मलाई उनको पुस्तकको सारांश उल्था गर्न मन लाग्यो। विश्वबजारमा भाषा वा आर्थिक कारणले पहुँच नभएका तर यस्ता किताब पढ्न उत्सुक नेपाली पाठकलाई पनि सहयोग पुग्ने देखेर आफूले बुझेअनुसार सारांश खिच्ने प्रयास गरेको छु। आलेखको अन्त्यमा व्यक्त विचार र कुनै कुनै सन्दर्भमा दिएका उदाहरण उनको पुस्तक निस्केपछि घटेका अर्थात् सन् २०१८ पछिका घटना बाहेकका सन्दर्भ मेरो सिर्जना होइन, पुस्तक पढेपछिको बुझाइ हो। र, यो जस्ताको तस्तै अनुवाद पनि होइन। शीर्षक पनि उनको किताबअनुसार नै राखेको छु। पाँच भाग रहेको पुस्तकका हरेक भागका ४ वा ५ शीर्षकहरूलाई लामो निबन्धको रूपमा उनले २१ विषयको लामो  व्याख्या गरेका छन्। ३७५ पेजको लामो पुस्तकलाई ३ पेजमा लेख्नु चुनौतीपूर्ण काम हो, यद्यपि यो दुस्साहस मैले गरेको छु।

१-४ द्विविधा, जागिर, स्वतन्त्रता र समानता

पुस्तकको सुरुमै हरारीले भनेका छन्, ‘१७औं शताब्दीतिर सामन्तवाद ढल्दै गर्दा हामीलाई दुई कथाहरूमा विश्वास गर्न लगाइयो। पहिलो- उदार लोकतन्त्रको कथा जसलाई वासिंगटन र ब्रसेल्सको रेडियोबाट बजाइन्थ्यो। दोस्रो- तानाशाही कम्युनिज्मको कथा हो, जुन मस्को रेडियोले बजाउँथ्यो। यी दुवैखाले कथामा एउटा समानता थियो। कथाकारहरूले भन्थे कि जसले यी कथाहरूमा विश्वास गर्छ उनीहरूको सबै प्रकारका दुःख, उत्पीडन र शोषणहरूको अन्त्य हुनेछ। तर, २१औं शताब्दीमा आइपुग्दा यी दुवै कथाहरूमा आम मानिसको विश्वास गुमिसकेको छ।’

मानव जातिले हालैका दशकहरूमा विश्वव्यापी राजनीतिमा प्रभुत्व जमाउने उदार कथामा विश्वास गुमाउँदैछ भने अर्कोतिर प्रविधि र विज्ञानलाई आत्मसात् गर्न नसक्दा सबैभन्दा ठूलो चुनौतीको सामना गरिरहेको छ। सन् २०१८ मा डोनाल्ड ट्रम्पको उदय, २०२० मा ब्रेक्जिट र प्रजातान्त्रिक मुलुक श्रीलंका र लेवनान आर्थिक रूपमा टाट पल्टनुले उदार लोकतन्त्रको धज्जी उडाएको छ भने उत्तरकोरिया, चीन र मस्कोले गरेको मानवअधिकारको उल्लंघन र आफ्नै जनतामाथि गरेको ज्यादती पनि त्यहींका जनतालाई सहिनसक्नुभएको छ। यसैले अबको पिंढीले यी कथाका विकल्प खोज्नुपर्ने लेखकको निष्कर्ष छ।

उदारवादी व्यवस्थाबारे हरारीको निष्कर्ष र बुझाइ रोचक नै छ। उनका अनुसार जति नरूचाए पनि अन्त्यमा मानवजातिले उदार कथालाई त्याग्दैन किनभने यसको कुनै अर्को राम्रो विकल्प छैन।

आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)को प्रयोग बढ्दै जाँदा यसले मानवीय भावना र चाहना बुझ्न सक्ने हुनेछ। कम्प्युटरहरूले मानव व्यवहारको विश्लेषण गर्न, मानव निर्णयहरू भविष्यवाणी गर्न र बैंकर र वकिलहरू जस्ता मानव पेशाहरू प्रतिस्थापन गर्न समेत सक्नेछन्। वयस्क भएका युवाहरूसँग आर्टिफिसियल इन्टेलिजेन्स वा कम्प्युटर प्रोग्रामिङको ज्ञान भएन भने उनीहरूका लागि काम पाउन गाह्रो हुनेछ। अबको शताब्दीमा धेरै जस्तो श्रममूलक काम मेसिनले गर्नेछ। अब बैंकमा गएर ऋण पाउने नपाउने निर्णय पनि कम्प्युटरले गर्न सक्ने भएको छ।

मानिसमा दुई प्रकारका क्षमता हुन्छन्– शारीरिक र संज्ञानात्मक अर्थात् कग्निटिभ। विगतमा, मेसिनहरूले मुख्यतया शारीरिक क्षमताहरूमा मानिसहरूसँग पछि पारे पनि  संज्ञानात्मक क्षमतामा मानिसले सजिलै मेसिनलाई पछि पार्थे। मेसिनसँग पनि बुद्धि हुन्छ भन्ने त हामीमध्ये धेरैलाई थाहा पनि छैन होला।

सन् १९९७ मा, आईबीएमले बनाएको डीप ब्लु नामक कम्प्युटरले विश्व चेस च्याम्पियन ग्यारी कास्पारोभलाई पराजित गरेर संसार चकित परेको एआई प्रविधिले सन् २०१७ मा मेसिनको बुद्धिको पराकाष्ठा देखायो। गुगल एआई-कम्प्युटर अल्फाजिरोले चेसको स्टकफिश ८ लाई पराजित गर्‍यो। अल्फाजेरोले प्रति सेकेन्ड चेसका ८० हजार सम्भावित चाल सोच्न सक्थ्यो। सय खेलमध्ये अल्फाजेरोले २८ जित र ७२ खेल बराबरी गरेको थियो। अल्फाजिरोलाई मेसिन-लर्निङ सिद्धान्तहरू मार्फत शताब्दीयौंदेखिको मानव चेस चालहरू सिक्न जम्मा ४ घण्टा लागेको थियो त्यो पनि आफैं विरुद्ध खेलेर। तर जतिसुकै बुद्धिमान भए पनि मेसिनमा चेतना हुँदैन र यो लेखक कुनै दिन एआईमा चेतनाको पनि विकास हुन्छ भन्ने कुरामा विश्वास गर्दैन। तैपनि पश्चिमी जगतमा यसका बारेमा पनि छलफल चल्न थालेका छन्।

यो वर्ष अर्को एउटा सनसनीपूर्ण हल्ला चल्यो, ‘गुगलले चेतना भएको एआई बनाएको छ।’ जून २०२२ मा गुगलका वरिष्ठ सफ्टवेयर इन्जिनियर ब्लेक लेमोइनले एक अन्तर्वार्ताको क्रममा आश्चर्यजनक दाबी गरे। उनले कम्पनीको भाषा मोडेल फर डायलग एण्ड एप्लिकेसन भन्ने एआईसँग आत्मा र चेतना छ भने। यो खबर धेरै सञ्चारमाध्यमले छापे पनि। पछि गुगलले उक्त कुराको खण्डन गरेर लेमोइनलाई जागिरबाटै निकालिदियो। यसबाट के देखिन्छ भने गुगल र एप्पल जस्ता कम्पनीहरू भित्रभित्रै शक्तिशाली आर्टिफिसियल इन्टेलिजेन्स तयार पार्दैछन्।

त्यस्तै अबको स्वतन्त्रता कुनै राजनीतिक परिवर्तन वा शासक विरुद्ध भन्दा पनि डाटा संकलक वा डाटासँग हुनेछ। उदाहरणको लागि अहिले तपाईंले टिभी किन्न मन गर्नुभयो भने तपाईंकी श्रीमतीले भन्दा पहिला फेसबुक र गुगलले थाहा पाउँछन्। उनीहरूले त्यस्तै किसिमको विज्ञापन देखाई–देखाई तपाईंलाई नजानिंदो रूपमा टिभी किन्न बाध्य पार्छन्। टिकटकको आफ्नो प्रोडक्ट केही छैन तर तपाईं हाम्रो डाटा बेचेर वा प्रयोग गरेर नै ऊ संसारकै धनी कम्पनी भएको छ। अबको शताब्दीमा हाम्रो डाटा कसले किन र कसरी प्रयोग गरेको छ भनेर जान्न अनिवार्य छ। विकसित देशहरूमा यस्तो लडाईं सुरु भइसकेको छ।

हरारी भन्छन्, ‘पहिलेको शताब्दीमा जमिन हुने मानिस मालिक हुन्थ्यो अहिले डाटा हुने मानिस मालिक हुन्छ। त्यसैले हामीले हाम्रा वकिल, राजनीतिज्ञ, दार्शनिक र कविहरूलाई पनि यस विवादमा ध्यान दिन आह्वान गर्नु आवश्यक छ। २१औं शताब्दीको सम्भवतः मुख्य राजनीतिक प्रश्न हुनेछ- ‘तपाईंले डेटाको स्वामित्वलाई कसरी विनियमित गर्नुहुन्छ?’

सन् २०१६ मा फेसबुकले युकेको डेटा रिसर्च संस्था क्याम्ब्रिज एनलाइटिक्सलाई डाटा बेचेको खुलासा भयो। प्रयोगकर्ताको डेटा अमेरिकाको चुनावलाई प्रभावित पार्न प्रयोग भएको थियो। डोनाल्ड ट्रम्प र अर्का राष्ट्रपतिका उम्मेदवार टेड क्रुजले मिलियन डलर पैसा क्याम्ब्रिज एन्लिटिक्सलाई तिरेका थिए। डोनाल्ड ट्रम्पले चुनाव जित्नुमा यसलाई पनि एक कारक मानिन्छ। त्यसैले यो युगमा डाटाका मालिकले समाजमा ठूलो प्रभाव पार्न सक्छ।

५-९ समाज, सभ्यता, राष्ट्रवाद, धर्म र आप्रवास

प्रविधिको विकासले यदि कुनै कुरालाई नराम्रो असर परेको छ भने त्यो हो समाज। अहिले हाम्रो समाज सोसियल मिडिया भित्र छ। सोसियल मिडियाको लतले समुदाय र समाजलाई राम्रो भन्दा नराम्रो असर परेको छ। हरारी भन्छन्, ‘सोसल मिडियाले गर्दा हजारौं दूरी टाढा अमेरिकामा रहेको आफ्नो साथीभाइसँग कुरा गर्न त पहिले भन्दा सजिलो भएको छ तर बिहान–बेलुका मात्र भेट हुने पतिसँग खाना खाने बेलामा कुरा गर्न गाह्रो भएको छ। किनभने उनी लगातार मोबाइलमा सोसल मिडियामा व्यस्त रहन्छन्।’ श्रीमतीलाई हेर्नुको सट्टा स्मार्टफोनमा व्यस्त भइन्छ। यस्तो भर्चुअल समाजमा टिकेको सभ्यता पनि दिगो नहुने हुन्छ। सबै पुस्ताले प्रविधि र समाजलाई सँगै लैजान जानेको हुनुपर्दछ।

सच्चा राष्ट्रवादी हुनुमा कुनै समस्या छैन तर हरारी चेतावनी दिंदै भन्छन्, ‘समस्या तब सुरु हुन्छ जब सच्चा राष्ट्रवाद र देशभक्ति अराजकतावादी अति-राष्ट्रवादमा परिणत हुन्छ। हरेक राष्ट्र अद्वितीय र सबै मान्छे एकै हुन् भनी विश्वास गर्नुको सट्टा, मेरो राष्ट्र र मेरा जाति वा वर्ग मात्र सर्वोच्च हो भन्नेमा विश्वास गर्नु उग्र राष्ट्रवाद हो।’ अबको पुस्ताले उग्र राष्ट्रवादलाई पूर्ण रूपमा बरु ग्लोबल समस्या जस्तै ग्लोबल वार्मिङ, वायु प्रदूषण जस्ता कुराहरूको समाधान एकल राष्ट्रवाद भन्दा ग्लोबल राष्ट्रवादको अवधारणाले मात्र समाधान गर्न सकिन्छ। एउटा राष्ट्र एक्लैले केही गर्न सक्दैन।

धर्मको बारेमा उनी भन्छन्, ‘धर्मलाई प्राय:जसो विद्वान र पढेलेखेकाहरूले खिल्ली उडाइरहे तर उनीहरूले भने जस्तो आधुनिक विज्ञान र प्रविधिले भने जस्तो सबै हुँदा पनि हामीसामु समस्या झन् ठूला भएर गएका छन्। मानिस अहिले झन् धेरै विभाजित र हिंस्रक भएर गएको छ। अहिलेका गरिबहरू पहिलेका धनीभन्दा धेरै गुणाले धनी छन् तर पनि विश्वमा एन्टी डिप्रेसन औषधि खानेहरू ज्यामितीय अनुपातमा बढिरहेका छन्। यसको लागि अबको पिंढीले कुरान, बाइबल र वेदहरूबाट समाधान निक्लन पो सक्छन् कि?’

आप्रवासको विषयमा पनि उनको विषय उठान महत्वपूर्ण छ। उनले भनेका छन्, ‘विश्व भूमण्डलीकरण र आप्रवासी समस्या अबको पुस्तालाई एउटा ठूलो चुनौती हो। समाजको स्थायित्वका लागि सहिष्णुता अति आवश्यक छ तर हामीले धेरै असहिष्णु मानिसहरूलाई आप्रवासको उदारनीति अवलम्बन गर्दा चरम पन्थी वा असहिष्णुहरूको संख्या निश्चित सीमाभन्दा बढी भयो भने समाजको सम्पूर्ण प्रकृति परिवर्तन हुन्छ। यदि तपाईं मध्यपूर्वबाट धेरै आप्रवासीहरू ल्याउनुहुन्छ भने त्यो देश नै मध्यपूर्व जस्तो देखिनेछ।’

१०-१४ आतंकवाद, युद्ध, विनम्रता, ईश्वर र धर्मनिरपेक्षता

आतंकवादीहरूले थोरै मानिस मार्छन्। आँकडाकै रूपमा हेर्ने हो भने सामान्य फ्लुले मर्ने मान्छेको संख्या ज्यादै धेरै हुन्छ। तर आतंककारी भनिएकाहरूले धेरै मानिसमा डर र त्रास पैदा गर्छन्। तैपनि युरोपेली संघ वा संयुक्त राज्य अमेरिका जस्ता विशाल राजनीतिक संरचनाहरूलाई तिनीहरूले हल्लाउन सफल भएका छन्। हरारीले हामीलाई सम्झाउँछन् कि संसारमा यस्ता मूर्ख र रिसाहा मान्छेको कमी छैन। हामीले त्यस्ता स्वभाव भएका मानिसहरूलाई सकेसम्म निरुत्साहित पार्नुपर्छ। आतंकवाद विरुद्धको सफल लडाइँ तीनवटा तहमा हुनुपर्ने हरारीको ठम्याइ छ।

पहिलो, सरकारले आतंककारी सञ्जालहरू विरुद्ध गुप्त कार्यहरूमा ध्यान केन्द्रित गर्नुपर्छ। दोस्रो, मिडियाले यस्ता खबरहरूको प्रचारप्रसार बन्द गर्नुपर्छ। तेस्रो तर अति महत्वपूर्ण, आतंककारीहरूले प्रचार गर्ने प्रोपोगाण्डा र तिनका विचारको खण्डन गर्न सक्नुपर्दछ।

युद्धको बारेमा हरारी भन्छन्, ‘अबको शताब्दीमा उद्योग, कलकारखाना भन्दा सूचनाप्रविधि र बायोटेक्नोलोजी महत्त्वपूर्ण हुनेछ जब युद्धको समय आउँछ। अबको मुख्य सम्पत्तिमा गहुँको खेती, सुन खानी वा तेल क्षेत्रको सट्टा प्राविधिक र संस्थागत ज्ञान हुनेछ जुन अहिले युद्ध जितेर प्राप्त हुँदैन।’

यसको ज्वलन्त उदाहरण हो- अहिले भइराखेको युक्रेन र रसियाको युद्ध। रसिया जस्तो महाशक्तिशाली राष्ट्रलाई युक्रेन जस्तो सानो देशले आच्छु-आच्छु पारेको छ। सुरुमा युक्रेनले सफलता हात पारेको थिएन जब एलन मस्कले स्टारलिंक भूउपग्रहबाट इन्टरनेट दिए र उक्त इन्टरनेट मार्फत ड्रोनले रसियन ट्यांकहरूको लोकेसन पत्ता लगाउन सफल भए।

बाँदरमा पनि असहाय र चोटपटक लागेको अर्को बाँदरलाई सहयोग गर्ने स्वभाव हुन्छ भने हामी मानव जातिले पारस्परिक सहयोग, शिष्टाचार जस्ता कुरा बिर्संदै गएका छौं। अबको पुस्ताले यो हाम्रो हराउँदै गएको स्वभाव फिर्ता ल्याउनुपर्नेमा हरारीले पाठकलाई स्मरण गराउँछन्।

धर्मको शीर्षकमा हरारी भन्छन् कि धर्मले नैतिकता सिकाउँछ तर यसको अर्थ देवत्वको पछि लाग्नु होइन। त्यसैले नैतिक रूपमा काम गर्नको लागि तपाईंले कुनै पनि मिथक वा कथामा विश्वास गर्न आवश्यक छैन। तपाईं त्यस्तो समाजमा बस्न सक्नुहुन्न जहाँ निरन्तर बलात्कार र हत्या भइरहन्छ। धार्मिक विश्वासले या त मानिसहरूमा करुणा पैदा गर्न सक्छ वा हिंसा, विशेषगरी यदि कसैले उनीहरूको धर्मलाई अपमान गरेमा। त्यसैले धर्मलाई ज्यादै सोचविचार गरेर आत्मसात् गर्नुपर्छ।

धर्मनिरपेक्षताको बारेमा हरारीको बुझाइ उपयोगी छ। उनका अनुसार धर्मनिरपेक्ष संहिताले सत्य, करुणा, समानता, स्वतन्त्रता, साहस र जिम्मेवारीका मूल्यहरूलाई आत्मसात् गरेको हुनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण धर्मनिरपेक्षतामा सत्य के हो। चाखलाग्दो कुरा के हो भने सत्य नभएको ठाउँमा बलियो विश्वास चाहिन्छ। यो सत्य र आधुनिक विज्ञानप्रतिको प्रतिबद्धता हो जसले मानव जातिलाई परमाणु विभाजित गर्न, मानव जिनोमको व्याख्या गर्न, जीवनको विकासको ट्रयाक गर्न र मानवताको इतिहास बुझ्न सक्षम बनाएको छ।

१५-१८ अज्ञानता, न्याय, सत्य र फिक्सन

हरारी भन्छन्, ‘विकासवादी मनोवैज्ञानिकहरूले प्रमाणित गरेका छन् कि अधिकांश मानिस निर्णय तर्कसंगत विश्लेषणको सट्टा भावनात्मक प्रतिक्रियाहरूका आधारमा गर्छन् जसलाई मानवशास्त्रीहरूले हेरुलिस्टिक सर्टकट भन्दछन्। भावनात्मक निर्णयहरू ढुङ्गे युगका लागि उपयुक्त थिए भने तिनीहरू सिलिकन युगमा काम लाग्दैनन्।’

व्यक्तिगत रूपमा मानिसहरूलाई संसारको बारेमा सारै थोरै मात्र थाहा छ तर हामीले अरुले जानेको ज्ञानलाई पनि आफ्नै जस्तो गरेर धेरै जानेको मान्दछौं। हरारी सरल भाषामा भन्छन्, ‘सत्य आज गुगल खोजको शीर्ष परिणामद्वारा परिभाषित गरिएको छ। जसले गर्दा सत्य के हो भनेर थाहा पाउन ज्यादै गाह्रो छ।’

हरारी भन्छन्, ‘हाम्रो न्यायप्रणाली ज्यादै नै पुरानो सिकारी युगको मानसिकताले भरिएको छ। यसलाई अब २१औं शताब्दीमा आमूल परिवर्तनको खाँचो छ। जस्तो कसैले सिकार गरेर ल्याएको मासु तपाईंले खोसेर खानुभयो भने अहिलेको अदालतले तपाईंलाई दोषी ठहर गर्दछ। तर तपाईंले मासु बजारबाट किनेर खानुभयो भने तपाईं बधशालामा पशुलाई दिइने यातनाको भागीदार वा दोषी ठहरिनुहुन्न। यस्तो प्रणालीगत गरिने अन्यायलाई अहिलेको न्याय प्रणालीले देख्दैन।’

२१औं शताब्दीको प्रारम्भमा, सायद सबैभन्दा महत्त्वपूर्ण कलात्मक विधा साइन्स फिक्सन हो भन्छन् हरारी। यसमा उनको तर्क के छ भने धेरै थोरै मानिसले विज्ञान वा कम्प्युटर इन्जिनियरिङको क्षेत्रमा भएका नवीनतम अनुसन्धानमूलक लेखहरू पढ्छन्, तर यसको सट्टा चलचित्रहरू जस्तै म्याट्रिक्स, स्टार वार जस्ता मुभीहरू हेर्छन् जसले गर्दा उनीहरूको विज्ञान र प्रविधिप्रति रुचि बढ्छ।

१९-२१ शिक्षा, फेक न्यूज र ध्यान

मानव जातिलाई चेतावनी दिंदै हरारी भन्छन्, ‘आज केटाकेटीले सिकेका धेरै कुरा सन् २०५० तिर अप्रासंगिक वा काम नलाग्ने हुन् सक्छन्। अहिलेको शिक्षाले विद्यार्थीलाई चाहिने भन्दा ज्यादै धेरै जानकारी दिएको छ तर अब जानकारी मात्र संकलन गर्नेको केही काम हुने छैन किनकि जानकारी त इन्टरनेटमा जत्ति पनि छ। बरु जानकारीको साटो लचिलोपन, जिज्ञासा, आलोचनात्मक सोच, समस्या समाधान र सृजनात्मक सोचबारे सिक्न आवश्यक छ।’

अहिलेको शताब्दीको एउटा मुख्य टाउको दुखाइ हो- फेक न्युज अर्थात् झूटो खबर। यो अति शक्तिशाली हुन्छ। जस्तो, कोरोनाको बेला मास्क नलगाउनेहरूले जुलूस नै निकालेका थिए अमेरिकामा, यो चीनले फैलाएको भ्रम हो भनेर। राजनीतिमा त झन् फेक न्युजले सबैभन्दा धेरै बिगारेको छ। कुनै पनि कुरा शेयर गर्दा वा सार्वजनिक मञ्चमा बोल्दा ती कुराहरूको स्रोत राम्ररी प्रमाणित गरेपछि मात्रै बोल्नु वा शेयर गर्नुपर्छ। यदि फेक न्युजलाई चिन्न सकिएन भने यसको असर पछिसम्म पर्छ।

हरारी भन्छन्, ‘बाइबलको इब (हब्बा) लाई सर्पले प्रलोभनमा पारेको थियो वा कुरानमा भने जस्तो सबै काफिरहरूको आत्माहरू तिनीहरूको मृत्युपछि नरकमा जल्छन्, वा ब्राह्मणले दलितसँग विवाह गर्दा सृष्टिकर्ता ब्रह्मालाई यो कुरा मन पर्दैन भनेर हामीसँग कुनै वैज्ञानिक प्रमाण छैन। तर अरबौं मानिसले हजारौं वर्षसम्म यी कथाहरूमा विश्वास गरे। केही नक्कली समाचार सधैंभरि रहन्छ।’

इजरायलमा जन्मेका एक यहुदी हरारीले समेत ध्यानलाई ज्यादै महत्व दिंदै २१औं शताब्दीमा जान्नैपर्ने कुराभित्र राखेका छन्। उनले पुस्तकको अन्तिम विषय ध्यानलाई राखेका छन्। उनले बुद्ध दर्शनको उदाहरण दिंदै भनेका छन्, ‘दुःखको सबैभन्दा गहिरो स्रोत हाम्रो आफ्नै दिमाग र यसमा उत्पन्न हुने विचारलाई मान्दै आएका छौं। यदि हामीले आफ्ना विचारहरूलाई राम्रोसँग नियन्त्रण गर्न सकेनौं वा हाम्रो मानसिक अवस्था राम्रो छैन भने माथि भनिएका केही कुराले अर्थ राख्दैन।’

२१औं शताब्दीमा अर्को ठूलो समस्या भनेको डिप्रेसन र एन्जाइटी पनि हो। यो अर्को महामारी हो जसका लागि ध्यानले धेरै सहयोग गर्ने अहिलेको अनुसन्धानले देखाएको छ। हरारी बुद्ध दर्शनको सार खिच्दै भन्छन् कि जब म केही चाहन्छु र यो हुँदैन र त्यो हुँदैन भन्छु भने मेरो दिमागले पीडा उत्पन्न गरेर प्रतिक्रिया दिन्छ। त्यसले बाहिर संसारमा दु:खको वस्तुगत अवस्था भेटिंदैन। यो हाम्रो आफ्नै दिमागद्वारा उत्पन्न एक मानसिक प्रतिक्रिया हो।

हरारीले बुद्धको ध्यान विधि नियमित गर्ने गरेको खुलाएका छन्। उनी सानो छँदा ज्यादै चञ्चल र अस्थिर थिए। नियमित ध्यान गर्नाले उनको मानसिक तथा शारीरिक स्वास्थ्य राम्रो भएको कुरा उनले सविस्तार बताएका छन्। यस अभ्यासले उनलाई फोकस र स्पष्टता प्रदान गर्‍यो। ध्यान विना यो पुस्तक नै लेख्न नसक्ने उनले उल्लेख गरेका छन्।

अन्त्यमा म केही विषयमा जोड दिन चाहन्छु। त्यसै पनि हामी नेपाली प्रविधिमा पछि छौं। हातमा नयाँ आइफोन लिंदैमा प्रविधि जानेको भन्न मिल्दैन जबसम्म हाम्रो अर्थतन्त्र र कृषिमा यसको प्रयोग हुँदैन। भूगोलमा नेपाल भन्दा झन्डै ३०९ गुणाले सानो ताइवानको प्रतिव्यक्ति आय हाम्रो भन्दा २५ गुणाले ठूलो छ कारण ऊ प्रविधिमा निकै अगाडि छ। विकसित देशमा राजनीतिक उथलपुथल सय वर्षमा एकपटक हुन्छ भने विज्ञान र प्रविधिको क्रान्ति हरेक दशकमा।

हामीकहाँ ठिक उल्टो छ। अमेरिकाको एउटै पुस्ताले वायुयान, चन्द्रयान र मंगलयान बनाइसक्दा हामीले मिनी भ्यान बनाउन अझै सकेका छैनौं। यसको कारण हामी सबैको मस्तिष्कमा राजनीति गर्ने र नेता बन्ने भूत सवार छ र यो हाम्रो संस्कार नै बनिसकेको छ।

विज्ञान पढाउने विषयमा मात्र सीमित नराखेर संस्कारमा ढाल्नुपर्दछ। यसको अर्थ रामायण जस्तो विज्ञानको पुस्तक राखेर पूजा गर्ने भनेको होइन। मानिसहरू भेटघाट र छलफल हुँदा तर्क, तथ्य र विज्ञानसम्मत छलफल गर्ने बानी बसाल्ने भनेको हो। हामीले १९औं र २०औं शताब्दीमा युरोपियन र अमेरिकनहरूले हाँकेको औद्योगिक क्रान्तिको रेल चढ्न ढिला गर्‍यौं।

अब २१औं शताब्दीमा अर्को झन् ठूलो रेल अर्थात् डिजिटल क्रान्ति छुट्दैछ। यो बिग डेटा र आर्टिफिसियल इन्टेलिजेन्सले बनेको हुनेछ। यसमा नेपालले ड्राइभिङ्ग सिटमै बसेर हाँक्ने रहर र साहस दुवै गर्नुपर्दछ ताकि नेपालले अबको ५० वर्षमा ताइवानले जस्तै डिजिटल प्रविधिमा संसारमै नाम कमाउन सकोस्!

लेखकको बारेमा
डा. कमल ढकाल

भौतिकशास्त्रमा विद्यावारिधि गरेका लेखक हाल अमेरिकामा कार्यरत वैज्ञानिक हुन् । उनी विज्ञान र दर्शनमा गहिरो रुचि राख्छन् । यहाँ व्यक्त विचारले उनी कार्यरत संस्थाको प्रतिनिधित्व गर्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?